१२ अर्ब बढी नाफा कमाउने एनटिसीको कमान हाँक्न कामिनी

बिजमाण्डू
२०७३ असोज ६ गते १७:४२ | Sep 22, 2016
१२ अर्ब बढी नाफा कमाउने एनटिसीको कमान हाँक्न कामिनी

काठमाडौं। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ। मन्त्रीपरिषदको विहिवार बसेको बैठकले उनलार्इ नियुक्त गरेको हो। उनी टेलिकममै नायब प्रबन्ध निर्देशक थिर्इन्।

Tata
GBIME
Nepal Life


५४ औँ इन्जिनियर्स दिवसको अवसरमा गत साउन ३ मा तात्कालिन प्रम केपी ओलीबाट सम्मान थाप्दै नवनियुक्त एमडी कामिनी  (फाइल तश्विर )

सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट गरेको थियो। कामिनीका अन्तिम प्रतिश्पर्धीमा मदन खरेल र सुनिल कुमारी पोखरेल थिए। 

सिफारिस समितिले आवेदन दिने मध्ये छ जनाको सर्ट लिष्ट तयार गरेर अन्तरवार्ता लिने र ती मध्येवाट उत्कृष्ट तीनजनालाई विहिवार मन्त्रीपरिषदमा पेश गरेको थियो। समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये कामिनी वाहेक मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुकआनन्द वैद्य, सुनीलकुमार पोखरेल र गुणकेशरी प्रधान थिए।

सर्ट लिष्ट हुँदै अन्तिम तीन सम्म पर्ने खरेल भने टेलिकम बाहिरका हुन्। उनले नेपाल वायुसेवा निगमको महाप्रवन्धकको रुपमा काम गरि सकेका छन्। समितिले तयार पारको सर्ट लिस्टमा टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य परेका थिएनन्।
सरकारले गत असार २५ मा प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो। त्यसमा नेपाल टेलिकम भित्रवाट नौ जना र बहिरवाट चार जनाले आवेदन दिएका थिए।

को हुन् कामिनी
नेपाल टेलिकममा तीस बर्षको अनुभव रहेकी उनले भारतको पञ्जाव इन्जिनियरिङ युनिभर्सिटीबाट टेलिकम्युनिकेसनमा बिई गरेकी छिन्। त्यस्तै उनले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ  टेक्नोलोजीवाट एमबिए पनि गरेकी छिन्।

तीन महिना अगाडी उनले नेपाल इन्जिनियर्स एसोसियसनबाट 'आउटस्ट्यान्डिङ वुमन इन्जिनियर्स अवार्ड' पाएकी थिइन्। ५४ औँ इन्जिनियर्स डे का दिन साउन तीन गते तात्कालिन प्रधानमन्त्री केपी ओलीले उनलाई सम्मान गरेका थिए।
 

ग्राहक ७ र आय १० प्रतिशतले बढाउने बाचा
उनले पेश गरेको १५ पेजको कार्ययोजनामा विश्वास गरेर सरकारले उनलाई टेलिकमको कमान सुम्पेको हो। उनले सरकार समक्ष नेपाल टेलिकमको ग्राहक संख्या सात प्रतिशतले बढाउने र बार्षिक आम्दानीमा दश प्रतिशतले बृद्धि गर्ने बाचा गरेकी छिन्।
 
उनले विग्रिएपछिको मर्मत तथा सम्भारलाई तत्काल अगाडि बढाउनका लागि एउटा मेकानिजम बनाउने बताएकी छिन्। टेलिकमले दुरसञ्चार प्राधिकरणवाट अनुमति पाएको दुई पहिनाभित्र फोरजी सेवा सञ्चालनमा ल्याउने उनको योजना छ।
 
बिजमाण्डूसँग कुरा गर्दै उनले ग्राहक सेवामा देखिएको समस्या समाधान आफ्नो पहिलो काम हुने बताइन्। 'सेवालाई गुणस्तरीय बनाउनु मेरो पहिलो काम हुनेछ, उनले भनिन्- अब  नेपाल टेलिकमका ग्राहकले एउटै झ्यालवाट सबै सेवा पाउने छन्।'
 
टेलकमलाई एउटा संगठित संस्थाका रुपमा अगाडी लैजानका लागि भरपुर काम गर्ने उनले बताइन।
 
नेपाल टेलीकम सबै भन्दा धेरै नाफा कमाउने सरकारी कम्पनी हो। लामो समय सर्वाधिक नाफा कमाउने कम्पनीमा एक नम्बरमा रहेको टेलिकमलाई केहि बर्ष देखि प्रतिश्पर्धी एनसेलले उछिनेको छ।
 
गत आर्थिक बर्षमा कम्पनीले १२ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो। अघिल्लो आवको तुलनामा यो दुई अर्ब भन्दा धेरैले घटेको हो। ग्राहक सेवा सुधार र नाफा बृद्धिनै उनको पहिलो चुनौती हो।
 
घना जनसंख्या रहेको तराईमा बस्तिका आधारमा टावर र सेवा सुविधा थप गरेर ग्राहक र व्यापार दुबै बढाउने लक्ष उनले लिएकी छिन्।