घटस्थापनादेखि खाद्य संस्थानले च्याङ्ग्रा र खसीबोकाको बिक्री थाल्ने, बजार मुल्य भन्दा सस्तो

बिजमाण्डू
२०७३ असोज ७ गते १४:२८ | Sep 23, 2016
घटस्थापनादेखि खाद्य संस्थानले च्याङ्ग्रा र खसीबोकाको बिक्री थाल्ने, बजार मुल्य भन्दा सस्तो


काठमाडौं । खाद्य संस्थानले अर्को सातादेखि च्याङ्ग्रा तथा खसी/बोकाको बिक्री सुरु गर्ने भएको छ । हरेक वर्ष दसैंमा बजारमुल्यभन्दा सस्तोमा खसी बोका बेच्दै आएको संस्थानले यसपटक घटस्थापनाको अघिल्लो दिन तीन हजार च्याङ्ग्रा तथा खसीबोका काठमाडौं ल्याइ पुर्याउने जनाएको हो।
 
संस्थानको बाग्मती अञ्चल कार्यालय (धान गोदाम ) बाट १५ सय च्याङ्ग्रा र त्यतिनै संख्यामा खसीबोका बिग्री गर्ने सूचना अधिकारी पवन कुमार कार्कीले जानकारी दिए। ती खसीबोका तथा च्याङ्ग्रा घटस्थापनादेखि बिक्री सुरु गरिनेछ।

Tata
GBIME
Nepal Life


 

संस्थानले भोली शनिबार मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गर्न लागेको उनले बताए। संस्थानले जिउँदो च्याङ्ग्रा किलोको चार सय ८५ रुपैयाँको दरले किन्नेछ। 
 
बाटोको असुविधाका कारण च्याङ्ग्रालाई तीन दिन हिडाएर मुस्ताङदेखि गलेश्वरसम्म ल्याउनु पर्छ। त्यहाँबाट ट्रकमा च्याङ्ग्रा काठमाडौँ भित्र्याइनेछ।
संस्थानले एक हजार पाँच सय वटा खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट ल्याउने तयारी गरेको छ । लहानबाट ६ सय ७५ वटा, हेटौडाबाट ६ सय २५ वटा र तुलसीपुरबाट दुई सय वटा खसीबोका खरीद गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । असोज ११ गते मूल्य तय गरेर १२ गते देखि खरिद थाल्ने उनले बताए।
 
कार्कीका अनुसार संस्थानले खरीद गर्ने च्याङ्ग्रा तथा खसीबोका बजार मुल्य भन्दा केहि सस्तो पर्छ । संस्थानले स्थानिय किसानबाट खसीबोका खरीद गर्ने भएकाले सस्तो पर्ने उनले बताए । 'हाम्रो उद्येश्य स्थानिय किसानका उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सर्वसुलभ मुल्यमा बिक्री गर्ने हो', उनले भने, 'स्थानिय उत्पादन आयातित वस्तुको तुलनामा स्वभाविकरुपमा सस्तो पर्न जान्छ ।'
 
संस्थानले खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि सम्बन्धित जिल्लामा पशु चिकित्सकको पनि व्यवस्था गरेको छ । 
संस्थानले चालु आर्थिक वर्षमा च्याङ्ग्रा तथा खसीबोका खरीदका लागि मात्र चार करोड ६७ लाख रुपैयाँ रकम विनियोजन गरेको छ। गत बर्षको दशैंमा संस्थानले पाँच सय वटा खसी र सात सय वटा च्याङ्ग्रा मात्र बिक्री गरेको थियो । नाकाबन्दीका कारण इन्धन अभाव बढेपछि पर्याटप्त मात्रामा खसीबोका किन्न सकेको थिएन ।