दसैंमा लोडसेडिङ घट्ने, दैनिक दुई घण्टामात्र लोडसेडिङ गर्ने प्राधिकरणको तयारी, तिहारमा बढ्ने

बिजमाण्डू
२०७३ असोज ७ गते १८:४३ | Sep 23, 2016
दसैंमा लोडसेडिङ घट्ने, दैनिक दुई घण्टामात्र लोडसेडिङ गर्ने प्राधिकरणको तयारी, तिहारमा बढ्ने

पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दसैं भरिका लागि दैनिक दुई घण्टा मात्रै लोडसेडिङ गर्ने भएको छ। हाल दैनिक आठ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा दसैं भरिका लागि दुई घण्टामा सीमित गर्न लागिएको हो।
 
प्राधिकरणले यस अघि पनि अघोषित रुपमा दसैंमा लोडसेडिङ घटाउने गरेको थियो । यस पटक भने दसैं भरको लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गर्ने तयारी गरेको विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, 'दसैंमा पिक आवरमा दुई घण्टा लोडसेडिङ हुनेछ, अरु समयमा बत्ति आउँछ।'
 

Tata
GBIME
Nepal Life

उद्योगधन्दाहरु कम सञ्चालन हुनेभएकाले बिजुली दसैंमा विद्युतको खपत पनि निकै घट्छ। श्रेष्ठका अनुसार उद्योगधन्दाले मात्र तीन सय १५ मेगावट विद्युत खपत गर्छन । यो विद्युत खपत नभएपछि घरायसी ग्राहकलाई दिन सकिन्छ । यसले लोडसेडिङ उल्लेख्य मात्रामा घटाउन सहयोग पुग्‍ने भएको हो ।
 
यसपाली दसैंमा औद्योगिक क्षेत्रमा दुई सय ५० मेगावाट बिद्युत खपत घट्ने अनुमान रहेको भार प्रेषण केन्द्रका निर्देशक श्रेष्ठले बताए।
 
हाल भारतबाट दैनिक दुई सय १३ मेगावाट आयात भइरहेको छ । दसैमा यसमध्ये ५० मेगावाट विद्युत कम आयात गर्ने भएको छ। दसैंमा उद्योगधन्दामा कम खपत हुने भएपछि ढल्केबार मजफपुर लाइनबाट ५० मेगावाट आयात गर्नु नपर्ने भएको श्रेष्ठले जानकारी दिए। उनले भने, ' अनावश्यक खर्च कम गराउने हाम्रो उद्देश्य हो।'
 
मुलुकभर विद्युतको दैनिक माग एक हजार तीन सय ५० मेगावाट छ। तर प्राधिकरणबाट आठ सय २५ मेगावाट मात्र वितरण हुने गरेको छ। उपत्यकाको दैनिक माग चार सय ५० मेगावाट रहेपनि दुई सय ५० मेगावाट मात्रै वितरण हुने गरेको उनले बताए।
 
दसैंमा लोडसेडिङ घटेपनि तिहारमा फेरि बढ्क्ने श्रेष्ठले बताए। 'दसैंमा दुई घण्टा पुग्ने कुरामा ग्यारेन्टी दिन सके पनि तिहारमा बत्तीको प्रयोग बढी हुनेभएकाले लोडसेडिङ नियन्त्रण गर्न गाह्रो हुन्छ', उनले भने।