खण्डहर बनेको छ बर्षपछि फेरिँदै नेपाल औषधि लिमिटेड, धुलाम्मे मेसिन पुछिए, उत्पादन समेत सुरु

बिजमाण्डू
२०७३ असोज ८ गते १३:०१ | Sep 24, 2016
खण्डहर बनेको छ बर्षपछि फेरिँदै नेपाल औषधि लिमिटेड, धुलाम्मे मेसिन पुछिए, उत्पादन समेत सुरु
काठमाडौं । निजी क्षेत्रका औषधि उत्पादकले बर्षेनी नाफा बढाउँदै गर्दा सरकारी स्वामित्वको एउटा उद्योगमा भने छ बर्ष अघि ताला लाग्यो। २०६७ सालदेखी बन्द रहेको नेपाल औषधि लिमिटेडले अहिले फेरि ब्युँतिन लागेको छ।

Tata
GBIME
Nepal Life

'अब काम लाग्दैनन्' भन्दै थन्क्याइएका मेसिन र पार्टपुर्जालाई हालै उद्योगमन्त्री नविन्द्रराज जोशीले परीक्षण गर्न आदेश दिए। प्राविधिकहरुले जाँच्दा थाहा भयो एउटा मेसिन बाहेक सबै काम लाग्ने हालतमा छन्। यस्तो अवस्थामा आखिर किन बन्द गरिएको थियो त सरकारी कम्पनी? ठोस जवाफ कसैसँग नभए पनि कारण ओपन सेक्रेट छ, सरकारमा व्यवस्थापनको जाँगर र इच्छाशक्ति नहुनु।
 


अहिले मन्त्री जोशीले त्यो जाँगर देखाएका छन्। उनकै तदारुकताको कारण नेपाल औषधि लिमिटेडले पुनर्जीवन पाउने आशा बढेको छ। धुलोले ढाकिएका मेसिन पुछेर सफाचट बनाइएका छन्। खिया हटाइएका छन्। सिटामोलको परीक्षण उत्पादन समेत सुरु भइसकेको छ। उद्योग मन्त्री जोशीले मंगलबार उद्योग भ्रमण गरी कर्मचारीलाई व्यवसायिक उत्पादनको तयारी थाल्न निर्देशन दिए। उनले औषधि उत्पादन हुने क्षेत्रमा रंग लगाउने, विजुली मर्मत, झ्याल ढोका बनाउने लगायत सरसफाइको काम अगाडि बढाउन भनेका छन्।


मंगलबार मन्त्री जोशी आएका बेला सिटामोल उत्पादन गरेर देखाएको उद्योगले विहिबार पनि सिटामोल, एमजिट, डाइजामोल उत्पादन गरेको छ। त्यस्तै आइरन चक्की लगायत अरु औषधि शुक्रबार परीक्षण उत्पादन गर्ने जनाएको छ। व्यवसायिक उत्पादनका लागि तीन बर्ष देखि औषधि व्यवस्था विभागले रोकेको उत्पादन अनुज्ञापत्र खुलाउनु पर्नेछ। त्यसको नविकरणका लागि मन्त्रालयले चाँडै पहल गर्ने भएको छ।
 

 

औषधि सरकारले किन्ने


कम्पनीले तत्काल तीन औषधिको व्यवसायिक उत्पादन गर्नेछ। सबै औषधि आफूले खरिद गर्ने सरकारले बताइसकेको छ। स्वास्थ्य मन्त्रालयले जीवनजल चार रुपैयाँ २५ पैसा, सिटामोल ३५ पैसा प्रति ट्यावलेट र एल्वेन्डाजोल  ४०० एमजीको ३० पैसामा खरिद गर्ने तयारी भएको नेपाल औषधि लिमिटेडका निमित्त माहाप्रवन्धक रमेश कुमार महतोले जानकारी दिए।


अहिले बजारमा जीवनजलको १२ रुपैँया, सिटामोलको प्रति ट्यावलेट एकदेखि एक रुपैयाँ ५० पैसासम्म र एल्विन्डाजोलको दश रुपैयाँ पर्छ।
औषधि लिमिटेडले १९ जना प्राविधिक कर्मचारी थप गर्ने जनाएको छ। कार्यरत ९७ जनामध्ये धेरै प्रशासनिक कर्मचारी रहेको र प्राविधिक कर्मचारीले अवकास लिएका कारण थप गर्ने महतोले बताए।कम्पनीले हाल भएका कर्मचारीहरुले चाहेमा स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस) लिन सक्ने जनाएको छ। पुराना कर्मचारीले छाडेमा थप दक्ष युवा जनशक्ति थपिनेछ।
 

जीवनजल दशैँपछि
उद्योगको जीवनजल उत्पादन गर्ने मेसिन भने बिग्रिएको छ। सरकारले पुनः सञ्चालनका लागि दिने भनेको १४ करोड ६५ लाख रुपैयाँ प्राप्त भएपछि टेन्डर गरेर नयाँ मेसिन किन्ने तयारी छ।


'पहिलेको मेसिन जिएमपी स्टान्डर्ड पनि छैन र विग्रिएको पनि छ' उत्पादन शाखा इन्चार्ज कुलमणी घिमिरेले भने 'सार्वजनिक खरीद ऐनमार्फत मेसिन किन्दा डेढ महिना जति लाग्छ, दुई महिनासम्ममा जनताले जीवनजल पाउँछन्।' उद्योग मन्त्रालयले औषधि लिमिटेड सहित बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सहित कार्ययोजना पेश गर्न डा पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति समेत बनाएको छ।

समितिमा त्रिवि शिक्षण अस्पतालका डा जगदिश अग्रवाल र उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसालसहित सात जना सदस्य छन्। समितिले प्रतिवेदन पेश गर्ने वित्तिकै उत्पादन थाल्ने महतोले जनाकारी दिए। 'समितिले प्रतिवेदन दिने र हामीले तयारी सक्ने एकैपटक हुन्छ' महत्तोले भने ' दशैं अगाडिनै सिटामोल र एमजिट उत्पादन गर्ने लक्ष रहेको छ।'