सरकारले तोक्यो मासुको अधिकतम मुल्य, खसीको प्रतिकिलो ८५० र कुखुराको प्रतिकिलो २८५ रुपैयाँ

बिजमाण्डू
२०७३ असोज ९ गते १७:४० | Sep 25, 2016
सरकारले तोक्यो मासुको अधिकतम मुल्य, खसीको प्रतिकिलो ८५० र कुखुराको प्रतिकिलो २८५ रुपैयाँ

काठमाडौं । सरकारले दसैंतिहारका लागि मासुको अधिकतम मुल्य तय गरेको छ । आपूर्ति मन्त्रालयले दसैंतिहारमा बढी खपत हुने कुखुरा तथा खसी बोकाको मासुको मुल्य तय गरेको हो ।
 
कुखुराको मासुको भाउ प्रतिकिलो दुई सय ८५ रुपैयाँ कायम भएको छ भने खसीबोकाको मासु प्रतिकिलो आठ सय ५० रुपैयाँमा किनबेच गर्नुपर्ने छ। सरकारले तोकेको भन्दा बढी मूल्य लिए व्यवसायीलाई कारबाही गर्ने आपूर्ति मन्त्रालयले जनाएको छ ।
 

Tata
GBIME
Nepal Life

आपूर्ति मन्त्रीको संयोजकत्वमा आइतबार राष्ट्रिय कुखुरा उत्पादक संघका अध्यक्ष, नेपाल अण्डा उत्पादक संघका अध्यक्ष, खसीबोका तथा माछा व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीहरु समेत सहभागी भएको बैठकले मूल्य निर्धारण गरेको हो ।
 
'सरकारले तोकेको मुल्य भन्दा बढीमा मासु बेच्न पाइँदैन', नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले भने, 'त्यो भन्दा बढी बेच्ने पसलमा सिलबन्दी र व्यवसायीलाई कारबाही गर्ने निर्णय भएको छ।'
 
मन्त्रालयमा माछाको पनि मूल्य तोक्न छलफल भएको थियो। तर विभिन्न प्रजातिका माछाहरुमा फरक फरक मूल्य पाइएका कारण भाउ तोक्न कठिन भएको मञ्चका अध्यक्ष गौतमले बताए। उनले भने, 'माछामा पनि विभिन्न प्रजातिहरु छन्, सबैको अधिकतम मूल्य तोक्न गाह्रो भएको हो। त्यसको लागि सम्बन्धित कृषकलाई नै बोलाएर बैठक बस्ने निर्णय भएको छ ।'
 
शुक्रबार नै कुखुराको मासुको भाउ किलोको दुई सय ८५ रुपैयाँ
गत शुक्रबारदेखि कुखुराको मासुको भाउ किलोमा पन्ध्र रुपैयाँले घटेर प्रतिकिलो दुई सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। उक्त मूल्यलाई सरकारले अधिकतम मूल्य कायम गरेको हो ।

तीन सय रुपैयाँ किलोमा कारोबार भइरहेको कुखुराको मासु शुक्रबारदेखि घटेर दुई सय ८५ रुपैयाँमा ओर्लेको थियो।
 
सोह्र श्राद्धका कारण मासुको माग कम भएपछि कुखुराको मासुको भाउ घटेको राष्ट्रिय कुखुरा उत्पादक संघका अध्यक्ष जंग बहादुर बिसीले जानकारी दिए।
 
'परम्परा अनुसार श्राद्धको बेलामा कुखुराको मासुलाई त्यती राम्रो मानिदैन, नेवार समुदायमा त कुखुराको भन्दा राँगाको मासु बढी प्रयोग गर्ने चलन छ',उनले भने, 'त्यसैले कुखुराको मासुको माग घटेको हो ।'
 
दसैं तिहारमा कुखुराको तुलनामा खसी बोकाको माग बढी हुने भएकाले कुखुराको माग त्यति नहुने बिसीले बताए। उपत्यकामा दैनिक कुखुराको मासुको माग दैनिक तीन लाख किलो छ। मुलुकभर यसको दैनिक माग पाँच लाख किलो  हुन्छ। दसैंमा कुखुराको मासुको माग करिब ५० प्रतिशतले घट्ने बिसीले जानकारी दिए।