मोवाइलको बजारमा चर्को प्रतिस्पर्धा, युरोपमा चर्चित ‘युएमआई’ नेपाल आउँदै

बिजमाण्डू
२०७३ असोज ९ गते १७:४३ | Sep 25, 2016
मोवाइलको बजारमा चर्को प्रतिस्पर्धा, युरोपमा चर्चित ‘युएमआई’ नेपाल आउँदै


काठमाडौं। युरोप र पूर्वी एसियामा प्रभुत्व जमाएको प्रिमियम मोवाइल ब्राण्ड 'युएमआई' नेपाल भित्रिने भएको छ। हङकङको यो कम्पनीले दक्षिण एसियाका लागि पहिलोपटक नेपालमा डिलर दिन लागेको हो। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो।
न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा आयातका लागि 'टाइप अप्रुभल'को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।
 
राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। 
 
तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ।
कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ।
 
मूख्य सहरमा सेल्स तथा सर्भिस सेन्टर खोलिने
 
कम्पनीले अगामी तीन महिनाभित्र देशका मूख्य सहर पोखरा, इटहरी, भैरहवा, बुटवल तथा नेपालगंजमा एक्सक्लुसिभ सेल्स तथा सर्भिस सेन्टर खोल्ने जनाएको छ। त्यस्तै चार महिनाभित्र ७५ वटै जिल्लामा सेल्स सेन्टर स्थापना गर्ने र नेपालमा एन्ड्रोइड फोनको बजारमा पहिलो स्थानमा पुग्ने लक्ष रहेको राईले बताए। उनले नेपालमा एप्पल पछि युएमआई ब्राण्ड स्थापित गरेर देखाउने दावी गरे।

Tata
GBIME
Nepal Life
'हामीले नेपाली स्मार्टफोनको मार्केट रिसर्च गरेका छौं, कहाँका वासिन्दाले कस्तो किन्छन त्यो सवै अनुसन्धान गरेका छौं' राईले भने 'प्रतिस्पर्धि बजारमा थप प्रतिस्पर्धा गर्न र नेपालीलाई सुलभ मूल्यका उच्चस्तरीय स्मार्टफोनहरु दिन तत्पर रहेका छौं।'
 
सुरुमा तीनवटा मोडेल उपलब्ध
 
 कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। 'युएमआई लण्डन', 'युएमआई टच' र 'युएमआई सुपर' नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।
 
राईले ग्राहकको चाहनाबमोजिम थप अरु मोडेलका स्मार्टफोनहरु ल्याउने उनले बताए। सवै स्मार्टफोनहरु मेटालिक बडिमा  उपलब्ध भएको तथा सवैमा ४००० एमएएच व्याट्री क्षमता भएकाले अरु कम्पनीका स्मार्टफोनभन्दा उत्कृष्ट भएको राइले बताए।