टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक कामिनीले गरिन् पदभार ग्रहण, ध्यान डाटा सेवामा केन्द्रित

बिजमाण्डू
२०७३ असोज ९ गते १८:०९ | Sep 25, 2016
टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक कामिनीले गरिन् पदभार ग्रहण, ध्यान डाटा सेवामा केन्द्रित


काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त कामिनी राजभण्डारीले आइतबार पदभार ग्रहण गरेकी छन्। मन्त्रीपरिषदले गत विहीबार (असोज ६ गते) उनलाई तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। 
उनी यस अघि नेपाल टेलिकममा प्रमुख प्राविधिक अधकृत पदमा कार्यरत थिइन् । नेपाल टेलिकममा उनी पहिलो महिला प्रबन्ध निर्देशक हुन्। 
 
कम्पनीको केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका उनले प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेको टेलिकमले जनाएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने र डाटा सेवामा ध्यान केन्द्रित गर्ने बताएकी छन्। प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउर्ने, आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन्। 
 
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका बरिष्ठतम नायव प्रबन्ध निर्देशक सूर्यक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले प्रबन्ध निर्देशकलाई स्वागत गर्दै राजभण्डारीको नेतृत्वमा कम्पनीलाई अघि बढाउन निरन्तर साथ सहयोग रहने बताए। 
 
नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमबीए गरेकी छन्। 
 
नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी हुन्। फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको उनीसँग लामो अनुभव छ।
 

Tata
GBIME
Nepal Life