विदेशबाट एक जनाले सवा ५ लाख पठाउँछन्, आधा ऋण तिर्दा र खाँदा सकिन्छ, राष्ट्र बैंकको अनुशन्धान

बिजमाण्डू
२०७३ असोज १० गते ११:५४ | Sep 26, 2016
विदेशबाट एक जनाले सवा ५ लाख पठाउँछन्, आधा ऋण तिर्दा र खाँदा सकिन्छ,  राष्ट्र बैंकको अनुशन्धान


काठमाडौं । वैदेशिक रोजगारीमा गएको एक जना नेपालीले बर्षमा कति रकम घर पठाउला ?

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धान अनुसार, एक कामदारले बार्षिक पाँच लाख ३२ हजार रुपैयाँ नेपाल पठाउने गरेको छ । उसले बर्षमा ६ देखि सात पटकमा यति रकम नेपाल पठाउने गरेको अनुसन्धानमा देखिएको छ ।

एक जनाले यति रकम घर पठाउँदा नौं हजार ४४ रुपैयाँ रेमिटेन्स कम्पनीलाई बुझाउने गरेको  छ । रोजगारीमा गएकामध्ये ९०.९ प्रतिशतले बैक तथा वित्तीय संस्था र रेमिटेन्स एजेन्सीबाट नेपाल पैसा पठाउँछन् ।

५.९ प्रतिशतले अझै पनि हुण्डीबाटै घर पैसा उठाउँछन् । एक प्रतिशतले साथीभाइ तथा आफन्तमार्फत र २.२ प्रतिशतले बैंक तथा हुण्डी दुबैको प्रयोग गर्छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुले कमाएको मध्ये २५.३ प्रतिशत रकम ऋण तिर्न प्रयोग गर्छन् । २३.९ प्रतिशत रकम खाना तथा लत्ताकपडामा खर्च हुन्छ । ९.७ प्रतिशत रकम छोराछोरी शिक्षा तथा परिवारको स्वास्थ्य उपचारमा खर्च हुन्छ ।

कमाएको मध्ये ३.५ प्रतिशत रकम विवाह तथा प्रतबन्ध लगायतका सामाजिक काममा खर्च हुने गरेको छ । ३ प्रतिशत रकम सम्पति जोड्नका लागि प्रयोग हुन्छ भने २८ प्रतिशत रकम बचतसमेत हुने गरेको छ । बचत रकममध्ये १.१ प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा लगानीसमेत हुने गरेको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको छ ।

अहिले पनि वैदेशिक रोजगारीमा जानका लागि बैंकबाट ऋण लिनेको संख्या एकदमै कम छ । स्थानीय स्रोत तथा साहु महाजनबाट ऋण लिएर विदेश जानेको संख्या ५२.१ प्रतिशत छ । जम्मा ६.३ प्रतिशत मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर विदेश गएका छन् । बाँकी परिवारको बचताबाट वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारीमा गएका ब्यक्तिको परिवारमध्ये ६४.१ प्रतिशतको मात्र बैंकमा खाता छ । वैदेशिक रोजगारीमा गएकाहरुको खाता भने एकदमै कम छ । विदेश काम गर्न गएकामध्ये ३६.६ प्रतिशतसँग मात्र आफ्नो नाममा बैंक खाता छ ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये धेरैजसोले घरखेत किन्नका लागि बचत गर्ने गरेका छन् । बचत गर्दै आएकाहरुमध्ये ४८.८ प्रतिशतले त्यो रकम घरजग्गा खरीदमा प्रयोग गर्ने गरेका छन् । ३६.६ प्रतिशतले घर मर्मत गर्न बचत गरेका हुन्छन् ।

३४.३ प्रतिशतको उद्देश्य भने छोराछोरीको शिक्षा तथा स्वास्थ्यका लागि बचत गरेका हुन्छन् । ऋण दिनका लागिसमेत बचत गर्ने छन् । यस्तो संख्या १५ प्रतिशत छ । ब्यापार ब्यवसाय गर्नका लागि ८.४ प्रतिशतले बचत गरेका हुन्छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ९९.४ प्रतिशतले राष्ट्र बैंकले निस्कासन गरेको वैदेशिक रोजगार बचतपत्र किनेका छैनन् । बचत पत्रको बारेमा जानकारी नै नभएको जनसंख्या ७३.६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले देशभरका ३२० घरपरिवारको सर्वेक्षणका आधारमा यो निस्कर्ष वाहिर ल्याएको हो । झापा, सुनसरी, तेह्रथुम, खोटाङ, धनुषा, काठमाडौं, चितवन, कास्की, वाग्लुङ, गोर्खा, रुपन्देही, दाङ, कालिकोट, बजुरा, कैलाली र वैतडीका घरहरु अध्ययनका लागि छानिएको हो ।