नेपाल औषधीको सेयर र म्यानेजमेन्ट निजी क्षेत्रलार्इ दिने तयारी,केही दिनभित्रै टेण्डर

बिजमाण्डू
२०७३ असोज १० गते १५:०४ | Sep 26, 2016
नेपाल औषधीको सेयर र म्यानेजमेन्ट निजी क्षेत्रलार्इ दिने तयारी,केही दिनभित्रै टेण्डर

काठमाडौं ।सरकारले नेपाल औषधी लिमिटेडको ३३ प्रतिशत शेयर निजी क्षेत्रलार्इ दिने भएको छ। ६ वर्षपछि संचालनमा ल्याउन लागेको कम्पनीलार्इ दीर्घकालिन रुपमा अघि बढाउन निजी क्षेत्रलार्इ सेयर दिन लागिएको हो।

निजी क्षेत्रको दक्षताले कम्पनीलार्इ व्यवसायिक रुपमा अघि बढ्न सहज हुने मान्यताका साथ सरकारले पिपिपि अवधारणामा सञ्चालन गर्न लागेको हो। यो सेयर लिने कम्पनीलार्इनै म्यानेजमेन्ट हेर्ने जिम्मा समेत दिने गरी सम्झौंता हुने उद्योग मन्त्रालयले तयारी गरेको छ।'हामीले निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म इक्विटी सेयर दिने मोडलको तयारी अन्तिम चरणमा पुर्याएका छौं' उद्योगमन्त्री जोशीले भने 'मन्त्रालयका साथीहरु र सरकारी उद्योग पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सहित कार्ययोजना पेश गर्न डा पुष्कर बज्राचार्यको समितिले कति प्रतिशत शेयर दिने भनेर प्रतिवेदन पेश गरेपछि टुङो लाग्छ।' उनले सेयर डाइभेष्ट गर्ने बारेमा कार्यविधी बनिरहेको जानकारी दिए।

कम्पनीले तत्काल तीन औषधिको व्यवसायिक उत्पादन गर्नेछ। कम्पनीबाट उत्पादित सबै औषधी सरकारले खरीद गर्नेछ। स्वास्थ्य मन्त्रालयले जीवनजल चार रुपैयाँ २५ पैसा, सिटामोल ३५ पैसा प्रति ट्यावलेट र एल्वेन्डाजोल  ४०० एमजीको ३० पैसामा खरिद गर्ने तयारी भइसकेको छ। अहिले बजारमा जीवनजलको १२ रुपैँया, सिटामोलको प्रति ट्यावलेट एकदेखि एक रुपैयाँ ५० पैसासम्म र एल्विन्डाजोलको दश रुपैयाँ पर्छ।

औषधि लिमिटेडले १९ जना प्राविधिक कर्मचारी थप गर्ने जनाएको छ। कार्यरत ९७ जनामध्ये धेरै प्रशासनिक कर्मचारी रहेको र प्राविधिक कर्मचारीले अवकास लिएका कारण थप गर्नेछ।कम्पनीले हाल भएका कर्मचारीहरुले चाहेमा स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस) लिन सक्ने जनाएको छ। पुराना कर्मचारीले छाडेमा थप दक्ष युवा जनशक्ति थपिनेछ।उनले पूर्ण रुपमा उद्योग निजी क्षेत्रले पनि चलाउन सक्ने तर त्यसमा सरकारको पनि सेयर हिस्सा हुने बारेमा कार्यविधीमा उल्लेख हुने बताए।

Tata
GBIME
Nepal Life

मन्त्री जोशीले चाँडै निजी क्षेत्रसँग कार्यसञ्चालन र इक्विटी सेयरका विषयमा प्रस्ताव आह्वान गर्ने बताए। उनले खुल्ला प्रतिस्पर्धामा जाने र त्यसमध्ये उत्कृष्ट प्रस्तावलाई संचालनमा ल्याउन दिने जानकारी दिए।मन्त्री जोशीले तत्काल उत्पादन हुने आठ किसिमका औषधीमा निजी क्षेत्रसँगको समन्वय आधारमा थप ७० किसिमका औषधी उत्पादन गर्ने जानकारी दिए।

चुस्त दुरुस्त बनाइराख्न निर्देशन
सोमवार कम्पनीको भ्रमण गर्दै मन्त्री जोशीले सवै किसिमका उपकरण तथा औजारहरुको नियमित परीक्षण तथा सरसफाइका लागि निर्देशन दिए।
कम्पनीले धुलोले ढाकिएका मेसिन पुछेर सफा गरिसकेको छ। सोमवार सिटामोल लगायत अन्य आठ किसिमका औषधिको सफल परीक्षण उत्पादन समेत देखाइएको छ।

उद्योग मन्त्री जोशीले सोमबार उद्योग भ्रमण गरी कर्मचारीलाई व्यवसायिक उत्पादनको तयारी थाल्न निर्देशन दिए। उनले औषधि उत्पादन हुने क्षेत्रमा रंग लगाउने, विजुली मर्मत, झ्याल ढोका बनाउन निर्देशन दिए।