दिल्लीवाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्स ल्याण्ड, यात्रुहरु सकुसल

बिजमाण्डू
२०७३ असोज १० गते १६:३० | Sep 26, 2016
दिल्लीवाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्स ल्याण्ड, यात्रुहरु सकुसल
काठमाडौं। दिल्लीवाट काठमाण्डौ आइरहको नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा इमर्जेन्सी फोर्स ल्याण्ड गर्नुपरेको छ।
 
१२ हजार पाँचसय फिट माथि हुँदा नेपाल एयरलाइन्सको आर ए २०६, ९ एन एकेएस लुम्विनी कलसाइन भएको एयरबसको ककपिटमा समस्या आएपछि इमरजेन्सी फोर्स ल्याण्डिङ गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
दिउँसो तीन बजेर २९ मिनेट जाँदा ककपिटमा धुँवाजस्तो केहि बस्तु देखिएपछि पाइलटले विमानस्थलमा 'मे डे मे डे'  भनेका थिए। मे डे भनेको इमर्जेन्सी अवस्था हो। प्लेनमा एकसय ६३ जना यात्रु सवार थिए।
 
त्यसपछि एयरपोर्टमा  फुल इमर्जेन्सी घोषणा गरेर तीन बजेर ४० मिनेटमा प्लेनलाई ल्याण्ड गरिएको ठाकुरले जानकारी दिए। 
 
२७ मिनेटसम्म एयरपोर्टलाई बन्द गरी इमर्जेन्सी अवस्थामा राखेर सम्पूर्ण तयारी हालतमा राखिएको थियो। एम्वुलेन्स, दमकल, हवाइ सुरक्षा लगायत अन्य सुरक्षाको बन्दोवस्त पूर्ण रुपमा तयार राखिएको उनले जानकारी दिए। 
 
तीन बजेर ५६ मिनेटसम्म एयरपोर्ट लक गरिएको थियो। सो समयमा कुनैपनि हवाइ उडान र अवतरणको काम नभएको ठाकुरले बताए। अहिले एयरपोर्ट नियमित अवस्थामा चलेको छ।
 
हाल सो प्लेनलाई अनुसन्धानका लागि राखिएको र टेक्निकल टिमले यसको अनुसन्धान गरिरहेको उनले जानकारी दिए। 'जहाजमा के भएको हो त्यसको वारेमा विस्तृत अनुसन्धान भइरहेको छ उनले भने 'यात्रु सकुसल छन् कारण पत्ता लगाउने काम भइरहेको छ।'

Tata
GBIME
Nepal Life