भूकम्प पीडितलार्इ थपिँदैछ पैसा,घर निर्माणका लागि ​भूकम्पपीडितलाई दोस्रो किस्तामा डेढ लाख

बिजमाण्डू
२०७३ असोज १० गते १८:५१ | Sep 26, 2016

काठमाडौं ।पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि दोस्रो किस्तामा एक लाख ५० हजार दिने भएको छ।प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई घर निर्माणका लागि तीन किस्तामा गरी ३ लाख अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको छ।

पहिलो किस्ता बापतको रकम नपाएका भूकम्प पीडितहरुले असोज २० गतेभित्र रकम दिइसक्न समेत निर्देशक समितिले प्राधिकरणलाई निर्देश गरेको छ।समितिको बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख उपलब्ध गराउन लागिएको जानकारी दिए।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण बैठकमा अनुदान बढाउने प्रस्तावमा एमालेले समेत समर्थन गरेको छ। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भूकम्पपीडितलाई राहत दिने विषयमा प्रतिपक्षमा कुनै विरोध नभई समर्थन रहेको बताए। प्राधिकरणले तीन लाखको कार्यविधी समेत तयार गर्ने भएको छ। कार्यविधी मन्त्रिपरिषद्बाट पारित भएपछि लागु हुनेछ। बजेटको व्यवस्थाको सम्बन्धमा समेत समितिमा छलफल भएको थियो। रावलले बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले समन्वय गरि प्राधिकरणलाइ सुझाव दिन निर्देशन दिइएको उल्लेख गरे।

त्यस्तै प्राधिकरणले खटिएका इन्जिनियर र कर्मचारीलाइ प्रोत्साह भत्ता समेत तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै सिकर्मी डकर्मी तालिम तथा क्षतिग्रस्त क्षेत्रका बालबालिकाको शिक्षामा असर नपर्ने गरि शैक्षिक संस्थाहरुको पुनर्निर्माणलाइ तीव्रता दिने निर्णय समेत गरेको छ।
ज्ञवालीले पुनर्निर्माणका लागि थप ६ अर्ब बजेट नपुग्ने उल्लेख गर्दै त्यो तत्काल खर्च गर्न अपुग हुने नभइ पाँच बर्षसम्म खर्च गर्ने बजेट भएकाले व्यवस्थापन दाता वा स्रोतमा हुने बताए। त्यस्तै प्राधिकरणले भुकम्पबाट कम क्षति भएका १७ जिल्लाको क्षति विवरण प्राविधिक सर्वेक्षणबाट लिने निर्णय गरेको छ। साथै तत्कालै कर्मचारी परिचालन गर्ने समेत निर्णय गरेको छ।