भूकम्प र नाकाबन्दीले नछेकेको आयोजना,माथिल्लो मर्स्याङदीबाट २५ मेगावाट राष्ट्रिय ग्रीडमा

बिजमाण्डू
२०७३ असोज १० गते १९:२२ | Sep 26, 2016

काठमाडौं । पचास मेगावाटको माथिल्लो मर्स्याङदी 'ए'बाट सोमबारदेखि व्यवसायिक उत्पादन भएको छ। उर्जामन्त्री जनार्दन शर्माले सोमबार राजधानीबाट आयोजनास्थल लमजुङ भुलभुलेमा रहेका कर्मचारीलार्इ निर्देशन दिएपछि व्यवसायिक उत्पादन सुरु भएको हो।

यो आयोजनाबाट सोमबारबाट २५ मेगावाट मात्रै विजुली उत्पादन भएको छ। यो आयोजनाको २५ मेगावाट विजुली राष्ट्रिय ग्रीडमा जोडिएको छ। भूकम्प र नाकाबन्दीका बाबजुद पनि चार वर्षमा आयोजना निर्माण भएको हो। मध्यमर्स्याङदीदेखि आबुँखैरेनी सवस्टेशनसम्मको प्रसारण लाइन १ सय ३२ केभिएको डबल सर्किटको नभएकोले तत्कालका लागि २५ मेगावाट मात्रै विजुली उत्पादन हुनेछ। कार्यक्रममा उर्जामन्त्री शर्माले माथिल्लो मर्स्याङदी आयोजनाले उर्जा संकट भोगिरहेका नेपालीलार्इ राहत प्रदान गर्ने बताए।

Tata
GBIME
Nepal Life

उनले अपार जलस्रोत भएपनि नीतिगत र अन्य वातावरण नबनाउँदा लोडसेडिङमा बस्नुपरेको बताउँदै आफूले नीतिगत सुधारलार्इ प्राथमिकतामा राखेको बताए। उनले डलरमा गरिने विद्युत खरीद सम्झौंतामा हुने जोखिम कम गर्न हेजिङ फन्डको व्यवस्था गर्न लागेको जानकारी दिए। उनले जलविद्युत निर्माणमा सबैभन्दा बढी समस्या रहेको जग्गा प्राप्तिको समस्यालार्इ हल गर्न जग्गाको हदबन्दीलार्इ समेत हटाउन लागेको जानकारी दिए।पावर चाइना रिर्सोसेजका अध्यक्ष सेङ युमिङले जलविद्युत क्षेत्रमा एग्रेसिभ लगानी गरिरहेको कम्पनीले माथिल्लो कालीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्नेतर्फ पहल गरिरहेको बताए।

उनले भूकम्प र नाकाबन्दीको कठिन समयमा समेत कामलार्इ निरन्तरता दिएर आयोजना सकेको बताए। कम्पनीका अध्यक्ष राजुबाबु श्रेष्ठले सबैको सहयोगबाट तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सकिएको बताए । 'यो आयोजना तोकिएकै समयममा पूरा भएको छ। यसले अहिलेको लोडसेडिङलार्इ पनि केही कम गर्न सघाउ पुग्नेछ, उनले भने,यो आयोजनासँग हाम्रोपनि भावनात्मक सम्वन्ध जोडिएको छ। स्वर्गीय बुबा लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना आज साकार भएको छ। उहाँले १२ वर्षअघि देख्नुभएको सपना भौतिक रुपमा देख्न पाउनुभएन म यो आयोजना उहाँप्रति समर्पण गर्न चाहन्छु।'

सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गरेको यो जलविद्युत आयोजना तोकिएको समयमा पूरा भएको परियोजना हो ।चीनका ५०० ठूला कम्पनीको सूचीमा ८८ औं नम्बरमा परेको सिनो हाइड्रो तथा नेपालको व्यवसायिक घराना चितवन कोइको लगानी रहेको यो परियोजना तोकिएको समय भन्दा अगाडी निर्माण भएको हो । यो परियोजनामा सिनो हाइड्रोको ९० प्रतिशत लगानी छ भने बाँकी १० प्रतिशत रकम चितवन कोइ समूहको छ।
 
सिनो हाइड्रोकाअनुसार यो परियोजनाका लागि १६ अर्ब बढी खर्च भएको छ । परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ।चीनको सिनो हाइड्रो रिसोर्सेसको ९० प्रतिशत तथा नेपाली साझेदार सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहने गरी २०६९ माघमा माथिल्लो मस्याङ्दी ए जलविद्युत आयोजना सुरु भएको हो।विद्युत खरिद सम्झौतामा प्राधिकरणले आयोजना पूरा गर्नका लागि चार वर्षको समय दिएको थियो। तर चिनियाँ कम्पनी भने आयोजनाका लागि चार वर्ष होइन तीन वर्षमा सक्ने गरी युद्धस्तरमा काम गरिरहेको थियो।