डावरका कार्यकारी निर्देशक भन्छन्- उत्पादन पनि ब्रान्ड भइसके, आगामी १५० बर्षको योजना तयार

बिजमाण्डू
२०७३ असोज १३ गते १२:१२ | Sep 29, 2016
डावरका कार्यकारी निर्देशक भन्छन्- उत्पादन पनि ब्रान्ड भइसके, आगामी १५० बर्षको योजना तयार


Tata
GBIME
Nepal Life

डावर इण्डिया लिमिटेडको बार्षिक टर्नओभर एक खर्ब २८ अर्ब नेपाली रुपैयाँ नाघेको छ । डावर इन्डियाका कार्यकारी निर्देशक कृष्णकुमार चुटानी समयसँगै आयुर्वेदिक औषधिलाई विकशित गर्नु र नयाँ उत्पादन थप गर्नुले नै कारोबार विस्तार भएर गएको बताउँछन् । 'हामी  हरेक उत्पादनहरुलाई हेल्थकेयर उत्पदानका रुपमा बजारमा ल्याउँछौं । यसले ग्राहकको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याइरहेको हुन्छ' उनी भन्छन् । बाबा रामदेवको पतञ्जलीको वढ्दो बजार बिस्तारलाई उनी प्रतिस्पर्धा नठानेर आयुर्वेदिक उत्पादनको महत्व वढ्दै गएको ठान्छन् । चुटानीले भास्कर दैनिकलाई दिएको अन्तर्वार्ता ।
 
डावर इन्डिया लिमिटेड १३२ बर्ष पुरानो कम्पनी हो । यति लामो समयसम्म कुनै पनि कम्पनीलाई उपभोक्ता माझ लोकप्रिय बनाइराख्न सम्भव छैन । तपाई अहिलेको परिस्थितिमा डावर तथा  आयुर्वेदलाई कसरी अगाडि वढिरहेको देख्नु हुन्छ ?
म यहाँ दुई वटा कुरा भन्न चाहन्छु । पहिलो, महत्वपूर्ण त हरेक पुस्ता आफ्नो अघिल्वो पुस्ताभन्दा निकै समझदार र सुचना प्रविधिमा अगाडि हुन्छ । डावरले १३२ बर्षमा हरेक पुस्तालाई जोडिरहेको छ । दोस्रो, हामीले आयुर्वेद, योगजस्ता कुराहरु विर्शिरहेका थियौं । एक पटक पुरा विश्व घुमेपछि एक पटक फेरि आयुर्वेद भारत छिरेको छ । वर्तमान परिस्थितिमा डावर आयुर्वेदको क्षेत्रमा लिडरसिप पोजिसनका लागि तयार छ । यति मात्रै होइन हामी आगामी १५० बर्षसम्को तयारी गरिरहेका छौं । ताकी आगामी दिनहरुमा पनि डावरको उपयोगिता कायम नै रहोस् ।
 
आज डावर इन्डियाले देशको प्रमुख एफएमसिजी कम्पनीको पहिचान बनाइसकेको छ । तपाई पर्सनल केयरदेखि फ्रुट जुससम्म पनि फैलनु भएको छ । तपाई डावर इन्डियाको पहिचान कस्तो होस् भन्ने चाहनु हुन्छ ?
डावर एक हेल्थकेयर कम्पनी हो, जसको डिएनए आयुर्वेद हो । हाम्रो उत्पादनको ५/६ वटा क्याटोगोरी छ । हेल्थकेयरमा औषधिहरु छन् । पर्सनल केयरमा कपालमा लाउने तेल, स्याम्फु तथा टुथपेष्ट छ । बाँकी कस्मेटिक कम्पनीहरु 'लुक गुड' का कुरा गर्छन् । हामी 'लुक गुड' सँगै फाइदाका कुरा पनि गर्छौं । हाम्रो उत्पादनमा प्राकृतिक आयुर्वेदको आयामहरु हुन्छन् ।
 
कम्पनी हेल्थ, पर्सन केयर, आयुर्वेद तथा फुड सेगमेन्टमा ठूलो ब्यापार गरिरहेको छ । अहिले सबैभन्दा वढि ग्रोथ कुन सेगमेन्टमा छ ?
हाम्रो फुड, होमकेयर, स्किनकेयर ब्यापार राम्रो भइरहेको छ । यसवाहेक हेल्थकेयर सेगमेन्टमा अधिक माग छ । यसको प्रमुख कारण ग्राहकको उपभोग्य आम्दानी बढ्नु हो । यसो हुँदा उपभोक्ता लाइफ स्टाइल तथा हेल्थ केयरमा खर्च वढाउँछन् । तीन दशकअघिसम्म गाँस, वास र कपासमा उपभोक्ताको फोकस हुन्थ्यो । तर अहिले शिक्षामा खर्च वढेको छ । अभिभावक आफ्ना छोराछोरीका लागि ती सबै कुरा चाहना गर्छन् जसले उनीहरुको भविस्यलाई बलियो बनाओस् । समाजमा यस्ता परिवर्तनहरु भइरहेका छन् ।
 
डावरसँग यस्ता उत्पादनहरु छन्, जुन डावरभन्दा ठूला भइसके ? अब ती उत्पादनलाई डावरको ब्रान्डको आवश्यकता नहोस् । उत्पादन आफै ब्रान्ड बनिसकेको होस्?
डावर यस्ता कयौं उत्पादनहरुलाई ब्रान्ड बनाइसकेको छ । जस्तो बाटिकालाई हामीले सन् १९९४ मा बजारमा ल्याएका थियौं । त्यसबेला यो डावर बाटिका थियो । आज बाटिका आफैमा ब्रान्ड भएको छ, जसको तल अरु उत्पादनहरु लञ्ज गर्न सकिन्छ । रियल फ्रुट जुस पनि डावरले बनाएको हो । तर आज यो डावरको नामवाहेक नै बजारको लिडर ब्रान्ड भइसकेको छ । फेम, ओडोनिल अलग ब्रान्ड हुन्,  जुन डावरको सहयोगबीनै ठूला भइसकेका छन् ।
 
तपाईले ओडोमस, ओडोनिल, फेमजस्ता कम्पनीहरु अरुबाट किन्नु भयो । तपाईले यीनीहरुलाई डावरको प्रोफाइलिङसँग कसरी जोड्नु भयो? वा ती ब्रान्ड जसरी आएका छन् त्यसरी नै चलाइरहनु भएको छ?
ब्रान्ड तथा कम्पनीअनुसार यिनीहरुमा हामीले निकै परिवर्तन गरेका छौं । दुई कम्पनीको कल्चर फरक हुन्छ । हामीले अर्को कम्पनीको कर्मचारीलाई वेलकम गरेका हौं । उनीहरुलाई आफ्नो कल्चरमा ढाल्यौं । ती सबै ब्रान्ड निकै राम्रो भएकाले नै हामीले लिएका हौं । हामीले त्यसलाई ल्याएपछि केही परिवर्तन गरेर अझ परिस्कृत गरेका छौं ।
 
पहिले पहिले डावरका उत्पादनलाई औषधिका रुपमा प्रयोग गरिन्थ्यो । अहिले यो दिनचर्या भएको छ । अहले त ब्यापक निर्यात पनि हुन्छ । अहिले त थुप्रै कम्पनीहरु आए नि यही ब्यापारमा ?
२० बर्षअघिसम्म डावरका लागि यो अर्गनाइज्ड ब्यापार थियो । पहिले हाम्रा उत्पादनलाई औषधि ठानिन्थ्यो । हाम्रा उत्पादनलाई भान्छाको सोकेस वा दवाइको बक्सभित्र राख्थे उपभोक्ताले ।  हामीले सोच्यौं कि यसलाई 'मेन फुड' बनाउँ । कुनाबाट निकालेर डाइनिङ टेवलमा ल्याउनु पर्छ भन्ने ठान्यौं, जसले गर्दा यसको उपभोग वढोस् । अन्तर्राष्ट्रिय तथा घरेलु बजारमा आजभन्दा १०/१५ बर्षअघि चिनीको प्रयोग घट्दो क्रममा देखियो । हामीलेयसको फाइदा उठाउने सोच्यौं र हेल्थका लागि रिपोजिसन गर्यौं ।
 
तर अहिले त बजारमा कम्पिटिसन बढेको छ । कयौं पटक क्वालिटीका बारेमा प्रश्नहरु पनि उठे । यसलाई कसरी पार लगाउनु भयो ?
प्रतिस्पर्धाले तपाईलाई थप बलियो बनाउँछ । यो आवश्यक छ । ब्यक्तिगत रुपमा मेरो बुझाइ के छ भने- मार्केटिङ तपाईको उत्पादनलाई एक पटक मात्र बिक्री गर्न सक्छ । बारम्बार उपभोक्ताले तपाईको उत्पादन खोज्ने बनाउन क्वालिटी दिनै पर्छ । हामी क्वालिटीमा एकदमै बढि लगानी गर्छौं । महको क्वालिटी जाँच गर्न हामीसँग यस्तो मेसिन छ जुन भारतमा कसैसँग पनि छैन । हामी भारतमा सबैभन्दा बढि मह किन्छौं र बेच्छौं । हाम्रो एक एक वोटलको कडा जाँच हुन्छ । हामी सबै गुणस्तर पार गर्छौं अनि मात्र बजारमा जान्छौं ।
 

पछिल्लो १० बर्षमा आयुर्वेदको प्रयोग निकै बढेको छ । योङ जेनरेसनले पनि यसलाई रुचाएका छन् । कम्पनी रिसर्च एन्ड डभेलपमेन्टमा कति खर्च गर्छ ?
आयुर्वेदन आजभन्दा २५ हजार बर्ष पहिले लेखिएको हो । त्यसबेला लेखिएको कुरालाई पढ्ने, बुझ्ने र त्यसलाई उपभोक्ताका लागि उत्पादनका रुपमा ढाल्ने काम हाम्रो बैज्ञानिकहरुले गर्छन् । हामीसँग उत्पादन तथा रिसर्च एन्ड डेभलपमेन्टमा २०० भन्दा वढि वैज्ञानिक छन् । तपाई आफै अनुमान गर्नुस् कति खर्च हुन्छ ?
 
तपाईको उत्पादनमा रुखविरुवा र जडिबुटीको प्रयोग हुन्छ । यसलाई कहाँबाट जुटाउनु हुन्छ?
केही रुखविरुवा र जडिबुटीहरु लोप भइरहेका छन् । हामीले यसको विकल्प खोज्न सुरु गरेका छौं । लोप हुन लागेका जडिबुटीलाई फेरी उमार्नका लागि काम गरिरहेका छौं । डावरले यो क्षेत्रमा १५/२० बर्षदेखि काम गरिरहेको छ । हामीसँग करिव तीन हजार एकड जमिन छ । डावरले यहाँ आफै पनि र करारमा खेती गरिरहेको छ । हामी किसानलाई पनि राम्रो जडिबुटी उत्पादन गर्न सिकाइरहेका छौं । अहिले हामी १२५० जना किसानसँग सोझै काम गरिरहेका छौं । र यसलाई बढाएर तीन हजार पुर्याउने योजनामा छौं ।
 
कम्पनीको ब्यवसाय विस्तार गत बर्षको तुलनामा कस्तो रह्यो ? अहिले अवस्था कस्तो छ ?
पछिल्लो बर्ष कम्पनीको टर्नओभर एक खर्ब ३० अर्ब रुपैयाँ (नेपाली) हाराहारी रह्यो । नाफा साढे १७ प्रतिशतले बढेर ३२ अर्ब रुपैयाँ हाराहारी भएको छ । यस बर्ष पनि टर्नओभर बढिरहेको छ ।
 
आयुर्वेद उद्योगमा पछिल्लो समय केही डिमान्ड घटेको जस्तो देखिन्छ किनभने पछिल्लो दुई तीन बर्षयता मनसुन त्यति राम्रो भएको छैन । सुधारको संकेत भने देखिएको छ । किनभने यो बर्ष मनसुन राम्रो भयो । मनसुनले धेरै कुरालाई फरक पार्छ । किसानले राम्रो उत्पादन गर्न सक्छन् र कम्पनीले पनि उत्पादन बढाउन सक्छ । अब फेस्टिभ सिजन सुरु भइरहेको छ । डिमान्ड बढ्नेमा हामी आशावादी छौं ।
 
कम्पनी आफ्नो मार्केट सेयर बढाउन कस्तो रणनीति बनाइरहेको छ?
हामीले सेल्स तथा डिस्ट्रिब्युटर सिस्टमलाई राम्रो बनाएका छौं । हामी सानोभन्दा सानो गाउँमा पनि उपलब्ध हुने कोशिसमा छौं । हामी आयुर्वेदमा एकदमै लक्षित भएकाले त्यसैमा रहेर केही रणनीतिहरु बनाउने काम पनि भइरहेको छ ।
 
कम्पनीको ब्यापारमा अन्तर्राष्ट्रिय बजारको हिस्सेदारी कस्तो छ ? मूख्य बजार कुन हो?
हाम्रो कुल ब्यापारमध्ये  एक तिहाइ ब्यापार अन्तरार्ष्ट्रिय बजारबाटै आउँछ । सार्क कन्ट्री, दुबइ, अफ्रिका र अमेरिका हाम्रो मूख्य बजार हो । सात वटा देशमा उत्पादन हुन्छ । नेपाल र श्रीलंकामा जुस बनाउँछौं । बंगलादेशमा पर्सनल तथा हेल्थकेयर बनाउँछौं । दुबइ र टर्कीमा पर्सनल केयरको फ्याक्ट्री छ ।
 
आयुर्वेदिक सेगमेन्टमा तपाईलाई बाबा रामदेवको पतञ्जलीले चुनौती दिन थालिसकेको छ । पतञ्जलीले ८ अर्ब रुपैयाँको ब्यापार गर्न थालेको छ । विस्तार पनि हुँदै गइरहेको छ । तपाईलाई पतञ्जलीबाट कस्तो थ्रेट आइरहेको छ ?
हेर्नुस्, पतञ्जली आयुर्वेदभन्दा पनि घरेलु उत्पादनमा फोकस छ । उनीहरु लुगाधुने पावडरदेखि नुहाउने सावुनसम्म बनाउँछन् । हो उसले केही आयुर्वेदिक काम पनि गर्छन् । उनीहरुको रणनीति नै फरक हो । हामीलाई पतञ्जलीले खासै खसर गर्दैन । मलाई भन्नु हुन्छ भने पतञ्जली हाम्रो सहायक जस्तो हो । किनभने उसले पनि आयुर्वेदमा केही काम गरिरहेको छ ।
 
आजको पुस्ता डिजिटल पुस्ता हो । यो पुस्तालाई तान्ने केही योजना छ ?
अचेल हामी नयाँ पुस्तालाई मोवाइल र वेवसाइटबाट लक्षित गरिरहेका छौं । नयाँ पुस्ताले डिजिटलवाहेक सोच्नै सक्दैन । सुत्नुअघि र उठ्ने वित्तिकै पनि यिनीहरु अनलाइन हुन्छन् । उनीहरुलाई लक्षित गरेर डावरले केही योजनाहरु बनाइरहेको छ ।