वीरगंजबाट छुटे करोड माथिका ४ ल्यान्डरोभर कार, २२% सम्म मूल्याङ्कन बढाएर राजश्व भुक्तान

बिजमाण्डू
२०७३ असोज २४ गते ०९:१७ | Oct 10, 2016
वीरगंजबाट छुटे करोड माथिका ४ ल्यान्डरोभर कार, २२% सम्म मूल्याङ्कन बढाएर राजश्व भुक्तान
वीरगन्ज । नाकाबन्दी र भूकम्पका कारण गत बर्ष राम्रोसँग दशैं मान्न नपाएका नेपालीलाई यसपाली भने गजबले चाड लागेको छ। बजारको किनमेलले व्यवसायीलाई नयाँ उत्साह थपि दिएका नेपालीले महङ्गा उपभोग्य वस्तु आयातमा पनि धक फुकाएका हुन्।
 
दशैंको अवसर पारेर चार महङ्गा कार समेत भित्रिएका छन्। नेपालमा धेरै कम संख्यामा ल्याइने विश्वप्रसिद्ध ल्यान्डरोभर कम्पनीका चार वटा स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) गत बुधबार वीरगंज नाकाबाट जाँचपास भएका हुन्। भन्सार लगायत सबै राजश्व तिर्दा यिनीहरु प्रत्येकको मूल्य एक करोड रुपैयाँ भन्दा बढी पुगेको छ।

Tata
GBIME
Nepal Life


 

चार वटै गाडी काठमाडौँ स्थित किशोर गेयर प्रालिले आयात गरेको हो। धेरै महङ्गो पर्ने भएको हुँदा यी गाडी नेपाली डिलरहरुले प्राय जसो सोरुममा राख्ने गरेका छैनन्। ग्राहकले डिलरमा अर्डर गरेपछि मात्र प्रतितपत्र (एलसी) खोलेर मगाइन्छ।
 
बेलायतमा निर्मित ल्यान्डरोभरका यी गाडीको कम मूल्य राखेको भन्दै भन्सार जाँचपास गराउने क्रममा २२ प्रतिशतसम्म मूल्यांकन बढाइएको थियो। सिर्सिया सुख्खा बन्दरगाहबाट जाँचपासको प्रकृया पुरा गरि गाडी भित्र्याउने अनुमति दिएको  भन्सार प्रमुख सूर्य सेढाईले जानकारी दिए।


विदेशबाट आयात गरिएका गाडी कन्टेनरमा सिर्सिया सुख्खा बन्दरगाहमा यसरी आउँछन्। तस्विरः राधेश्याम


डिलरले सुरुमा चार गाडी मध्ये तीन वटाको लागत मूल्य प्रतिगोटा १७ हजार सात सय ५० ग्रेट ब्रिटेन पाउण्ड (जिबिपि) घोषणा गरेको थियो। एउटालाई १८ हजार दुई सय ५०, पाउन्ड परेको जनाइएको थियो।
 
तर, भन्सारको अनुसन्धानबाट गाडीको मूल्य कम घोषणा गरेको पाइएपछि २२ प्रतिशत सम्म मूल्यांकन बढाएर राजश्व तिराएको सेढाइँले जानकारी दिए। आयातकर्ताले गत जुन २३ तारिखमा खरिद गरेको उक्त गाडी करीब एक महिना अघि कोलकाता बन्दरगाह हुदै विरगंज भन्सार भित्रिएको थियो।
 
प्रत्येक गाडी भित्र्याउने क्रममा भन्सार अन्त शुल्क गरि मूल्याङ्कन रकमको करिब दुई सय ४० प्रतिशत राजश्व तिरिएको छ।