बाणिज्य बैंकहरुले ऋणको ब्याज दर भोलीबाट वढाउँदै, ब्यापारिक कर्जाको ब्याज दर वढ्ने

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७३ असोज ३० गते १५:१९ | Oct 16, 2016
बाणिज्य बैंकहरुले  ऋणको ब्याज दर भोलीबाट वढाउँदै, ब्यापारिक कर्जाको ब्याज दर वढ्ने

काठमाडौं । बाणिज्य बैंकहरुले भोली (सोमबार) बाट ऋणको ब्याज दर बढाउने भएका छन् । बैंकहरुले ०.५ प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज दर बढाउने भएका हुन् ।

Tata
GBIME
Nepal Life

लगानी योग्य पुँजी (तरलता) कम हुँदै गएको भन्दै बैंकहरुले ऋणको ब्याज दर बढाउने निर्णय गरेका हुन् । बैंकहरुले तरलता अभाव हुन थालेपछि निक्षेपको ब्याज दर बढाइएको भन्दै अब ऋणको पनि बढाउन लागेको जानकारी दिएका छन् ।

'वढाउने बेला एक महिना अगाडि नै भइसकेको थियो । तर दसैंको मुखमा किन बढाउनु भनेर बृद्धि गरिएन' बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले आइतबार बिजमाण्डूसँग भने, 'अब क्वाटर इन्ड (असोज मसान्त) सकिएको छ । भोलीबाट केही ब्याज दर बृद्धि हुन्छ ।'

बैंकहरुले ब्यापारिक प्रकृतिका ऋणको ब्याज दर वढाउन लागेका हुन् । ब्याज दर बढाउने बारे कतिपय बैंकहरुले फोन गरेर ब्यवसायीहरुलाई जानकारी गराइसकेका छन् ।

'ब्याज दर बढाउने कुरा एउटा ल्याङ्वेजमा धेरै बैंकहरुले गरिरहेका छन् । ब्याज दर तलमाथि माग र आपुर्तिका कारणले हुनु पर्छ । तर सबै बैंकले एकैचोटी ब्याज दर बढाउँछौं भन्नुले कताकता सिन्डिकेटको संकेत गरेको छ' उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बिजमाण्डूसँग भने ।

उनले सस्तो ब्याज दरका कारण लगानीको वातावरण बनिरहेको सन्दर्भमा सबै बैंकले एकैचोटी बढाउँछौं भन्दा लगानी निरुत्साहित हुने दावीसमेत गरे ।

'माग र आपुर्तिका कारण ब्याज दर बढाउँदा पनि पुरानो ग्राहकलाई बैंकहरुले बिचार पुर्याउनु पर्छ' मुरारकाले भने, 'जलविद्युतजस्ता क्षेत्रहरुमा ब्याज दर बृद्धिले अप्ठेरो पार्छ । त्यस्ता संवेदनशिल क्षेत्रमा बैंकहरुले ब्याज वढाउनुअघि विचार पुर्याउन आवश्यक छ।'

बैंकरले भने ब्याज दर मिलेमतोका आधारमा नभइ बढाउनै पर्ने अवस्थाले बृद्धि गर्नु परेको बताएका छन् । 'कुनै छलफल गरेर बैंकहरुले ब्याज दर बृद्धि गर्न लागेका होइनन्' पौडेलले भने, 'ब्याज दर बढाउन छलफल भएकै छैन । क्वाटर इन्ड सकिएपछि नयाँ ब्याज दर लागू गर्न सजिलो हुने भएकाले त्यसै अनुसार बृद्धि गर्न लागिएको हो ।'

ब्यवसायीहरुले भने दसैंअघि बैंकरहरुको 'लुज वैठक' बाट ब्याज दर बढाउने निर्णय भएअनुसार कात्तिक १ बाट सबैको वढ्न लागेको आरोप लगाएका छन् । बैंकरले भने ब्याजदरका बारेमा आवश्यक छलफल यसअघि नभएको बताएका छन् ।

आगामी मंगलबार भने बैकर्स संघमा ब्याज दरका बारेमा छलफल गर्ने एजेन्डा तय भएको एक बैंकरले जानकारी दिए ।

बैंकरका अनुसार अहिले ब्यवसायिक तथा ब्यापारिक प्रयोजनका कर्जाको ब्याज दर मात्र बढ्छ । साधारण उपभोक्तालाई सोझै असर पर्ने घर तथा गाडि कर्जाको ब्याज दर भने तत्काल नवढ्ने पौडेलले जानकारी दिए ।

एनएमबी बैकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले साढे सात प्रतिशतमा निक्षेप लिन्छु भनेर वोलकवोल गर्दासमेत नपाइएको जानकारी दिँदै भने- निक्षेप महँगो भइसकेको छ । त्यसलाई धान्न पनि कर्जाको ब्याजदर नवढाइ भएको छैन । तरलता सहज हुँदा कर्जाको ब्याज कमै थियो । अब अभाव हुन थालेपछि केही वढ्न लागेको हो ।

'व्यवसायिक प्रकृतिका कर्जाको ब्याज समायोजनपछि बजारमा उपलब्ध तरतलाको मूल्यांकनका आधारमा बाँकी अरु कर्जाको ब्याज दर बढाउने/नवढाउने टुङ्गो लाग्छ' पौडेलले भने, 'तत्कालै गाडी तथा घर कर्जाको ब्याज बढ्दैन ।'

राष्ट्र बैंकले भने बजारमा अझै तरलता सहज रहेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबारसम्म वाणिज्य बैंकहरुसँग २० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले १०० अर्बसम्म रहेको अधिक तरलता २० अर्बमा झर्दा त्यसको मनोवैज्ञानिक असरले पनि ब्याज दरमा प्रभाव परेको बताउँछन् ।

'तरलता भनेको पर्सेप्सन पनि हो । हिजो १०० अर्बसम्म पनि थियो । आज २० अर्बमा झरिसकेको छ' उनले भने, 'यस्तो अवस्थामा अभावै हुन्छ कि भनेर पनि बैंकहरुले अहिले नै त्यसलाई व्यवस्थापन गर्न विचार पुर्याएको हुनसक्छ ।'

अहिले सरकार विकास निर्माणमा खर्च नगरी १९१ अर्ब रुपैयाँ बचतमा छ । सरकार बचतमा रहेर बजारमा पैसा नजाँदा पनि बैंकहरुमा तरलता केही घट्दै गएको हो ।

'शोधनान्तर अवस्था ऋणात्मक रहेको, आयात वढिरहेको र रेमिटेन्सको बृद्धि दर घटिरहेको पृष्ठभूमिमा बैकहरुले आफ्नो स्रोतको व्यवस्थापन गर्न पनि ब्याज दर वढाउन विचार गरेका हुनसक्छन्,' थापाले भने ।