संशोधन तत्कालै कार्यान्वयन भए भवानी स्वतः अध्यक्ष,एफएनसीसीआर्इको विशेष साधारणसमा कात्तिक ४मा

बिजमाण्डू
२०७३ असोज ३० गते १७:०० | Oct 16, 2016
संशोधन तत्कालै कार्यान्वयन भए भवानी स्वतः अध्यक्ष,एफएनसीसीआर्इको विशेष साधारणसमा कात्तिक ४मा
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको 'मिनी इलेक्सन' विहिवार राजधानीमा हुँदैछ। महासंघले कात्तिक ४ गतेका बोलाएको विशेष साधारणसभाले भावी अध्यक्षको निर्क्यौंल गर्ने हुँदा उद्योगी व्यवसायीले 'मिनी इलेक्सन'को रुपमा लिएका हुन्। 

Tata
GBIME
Nepal Life


यो विशेष साधारणसभाबाट महासंघको इतिहासमा पहिलो पल्ट बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउने विधान संशोधन गरिनेछ। महासंघको विधान २०४९ मा संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउन लागिएको हो। यदि यो प्रस्ताव पारित भएमा नेपाल उद्योग परिसंघकै संरचनामा महासंघ जानेछ। परिसंघले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउँदै आएको छ। 


महासंघका अध्यक्ष पशुपति मुरारकाले संस्था बलियो बनाउन बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउनेगरी विधान संशोधनको प्रस्ताव गरिएको बताए।'भावी अध्यक्षको निर्णय विधान संशोधनले निर्धारण गर्ने भएकोले विशेष साधारणसभालार्इ चासोको रुपमा लिइएको छ, उनले बिजमाण्डूसँग भने- तत्कालै कार्यान्वयन हुनेगरी विधान संशोधन भए अध्यक्षको निर्क्योल समेत हुनेछ।' 
 
विधान संशोधन भएर तत्कालै कार्यान्वयनमा गए महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत:अध्यक्ष हुनेछिन्। चैतमा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षसम्मको मात्रै निर्वाचन हुनेछ। विधान संशोधन गर्न महासंघमा सबै सहमत भए पनि तत्कालै कार्यान्वयनमा लैजाने बारे भने फरक मत छन्। अहिलेको कार्यसमितिमा तत्कालै कार्यान्वयन गर्ने पक्षमा धेरै सदस्य रहेको स्रोतले बतायो। 
 
निर्वतमान अध्यक्ष सुरज वैद्य भने विधान संशोधन अहिले गर्ने र अर्को कार्यकाल देखि मात्रै कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा छन्। त्यसो भएमा भवानी राणाले अध्यक्ष बन्न निर्वाचनमा प्रतिस्पर्धा गर्नु पर्नेछ। स्रोतका अनुसार संसोधित विधान तत्कालै कार्यान्वयनमा आए भाष्करराज राजकर्णिकार अध्यक्ष बन्न नपाउने भन्दै वैद्य विपक्षमा छन्। तर, वैद्यसँग अरु पुर्व अध्यक्षहरु असहमत छन्। पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले विधान संशोधन भएपछि तत्कालै कार्यान्वयनमा आउने र महासंघलार्इ राजनीतिबाट मुक्त गर्ने अभियानले समेत सार्थकता पाउने बताए।
 
'हामी सबै पूर्व अध्यक्षले महासंघभित्रको चरम राजनीति र गुटवन्दीलार्इ अन्त्य गर्न सामूहिक प्रतिवद्धता गरेका थियौ। त्यो प्रतिवद्धता यो विशेष साधारणसभाले कार्यान्वयन गर्नेछ, उनले भने-  विधान संशोधनसँगै महासंघ बलियो र संस्थागत रुपमा अघि बढ्न सहयोग पुग्छ।'
 
दश वर्षअघि विधान संशोधन गरेर पदाअवधि दुर्इ वर्षबाट तीन वर्षमा पुर्याउँदा तत्कालै कार्यान्वयनमा आएको थियो। महासंघका तात्कालिन अध्यक्ष चण्डीराज ढकालको पालामा दुर्इ वर्षबाट तीन वर्षमा पुर्याउने निर्णय भएको थियो। उनले अध्यक्षको रुपमा तीन बर्ष विताएका थिए। 
 
बरिष्ठमा विग फाइट
महासंघको विधान संशोधनपछि अध्यक्षको पावरमा पुग्न बरिष्ठ उपाध्यक्षमा ‘बिग फाइट’ हुनेछ। महासंघका एक पदाधिकारीहरुका अनुसार बरिष्ठ उपाध्यक्षका आकांक्षी अहिलेदेखिनै लाइन मिलाउन जिल्लादेखि राजधानीसम्म गोप्यभेला एवं पूर्व अध्यक्ष रिझाउने प्रयासमा छन्।
 
बरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष शेखर गोल्छा ,दिनेश श्रेष्ठ र किशोर प्रधान प्रमुख आकांक्षी छन्। तीनै उम्मेदवार देश दौडाहामा लागिरहेका छन्। यी उम्मेदवारले एशोसिएट, बस्तुगत र जिल्लाका उपाध्यक्षलार्इ मिलाउने कसरत गरिरहेका हुन्। उपाध्यक्षका उम्मेदवार बढी देखिएकोले तीनै जनालार्इ गुट मिलाउन भने अप्ठ्यारो छ।
 
जिल्लामा होल्ड भएका पूर्व अध्यक्ष चण्डीराज ढकाललार्इ आफ्नो पक्षमा पार्न तीनैजना उम्मेदवार लागिपरेका छन्। महासंघको राजनीतिमा सधै शक्तिशाली पात्र बनेका ढकालले तीनै जना उम्मेदवारलार्इ आश्वासन दिएका छन्।

तीनै जना अरु पूर्व अध्यक्षको नैतिक समर्थन लिन समेत लागेका छन्। बिहिवार हुने विशेष साधारणसभापछि महासंघको निर्वाचनको माहोलले औपचारिकता पाउनेछ। अहिले गोप्य रुपमा भइरहेको भेला साधारणसभापछि औपचारिकतामा परिणत हुने एक कार्यकारिणी सदस्यले बताए।

 
 
महासंघको राजनीतिमा युटर्न
विधान संशोधनपछि महासंघको राजनीतिमा युटर्न हुने देखिएको छ। महासंघमा अध्यक्षमा पराजित व्यक्ति समेत दोहोर्याएर निर्वाचनमा आउने प्रवृति यो संशोधनपछि रोकिनेछ।
 
अध्यक्ष बन्न बरिष्ठ उपाध्यक्ष हुनुपर्ने प्रावधानले नयाँ र युवापुस्ताको बाटो खोल्नेछ। महासंघको राजनीतिमा होमिएको व्यक्ति चाँडै अध्यक्षको दावेदार हुनसक्छ।