भवानी राणा बन्ने भइन् उद्योग बाणिज्य महासंघको अध्यक्ष, विधान संसोधन पारित

प्रभात भट्टराई/बिजमाण्डू
२०७३ कात्तिक ४ गते १७:०२ | Oct 20, 2016
भवानी राणा बन्ने भइन् उद्योग बाणिज्य महासंघको अध्यक्ष, विधान संसोधन पारित
काठमाडौँ । निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा भवानी राणा पुग्ने निश्चित भएको छ।
 
बिहिबार सम्पन्न महासंघको विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि भवानी स्वतः अध्यक्ष बन्ने बाटो खुलेको हो। विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ।

Tata
GBIME
Nepal Life


 

संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुने अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।
 
जस कारण आउँदो चैत २६ मा हुने चुनाव देखिनै नयाँ व्यवस्था अनुसार नेतृत्व चुनिनेछ। संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ।
 
साधारणसभामा सहभागि अधिकांश सदस्य विधान संसोधनको पक्षमा रहेको हुँदा ध्वनीमतबाट नै पारित भएको छ।
 
अब वरिष्ठ उपाध्यक्षमा विगतमा अध्यक्ष जस्तै सबै सदस्यहरुले मतदान गर्नेछन्। यसअघि साधारणसभाबाट अध्यक्ष, तीन उपाध्यक्ष र कार्य समिति सदस्य मात्र चयन हुन्थे। कार्य समिति सदस्यहरु मध्येबाट वरिष्ठ उपाध्यक्ष चुन्ने प्रावधान थियो।
 
नयाँ विधान अनुसार आगामी साधारणसभामा अध्यक्षको ठाउँमा वरिष्ठ उपाध्यक्षको चुनाव हुनेछ। विगतमा अध्यक्ष जस्तो रस्साकस्सी अब वरिष्ठ उपाध्यक्षका लागि हुनेछ।
 
संसोधित विधानले महासंघको संरचना पनि परिवर्तन गरेको छ। मुलुक संघिय ढाँचामा गएको हुँदा त्यहि अनुरुप प्रदेश प्रमुखहरु पनि चयन गर्ने व्यवस्था विधानले गरेको छ। सम्बन्धित प्रदेशले नै आफ्नो प्रमुख चयन गर्नेछ।
 
अञ्चल प्रतिनिधी र क्षेत्रीय सदस्य खारेज भएका छन्। यस्तै केन्द्रिय कार्यकारिणी समिति समेत पाँच जना थपेर ७१ जनाको बनाइएको छ। कार्यकारिणी समितिले निर्वाचित सदस्य मध्ये एक जनालाई कोषाध्यक्ष समेत चयन गर्नेछ।
 
एकता हुन सकेन
महासंघलाई राजनीति मुक्त गर्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान लागु गरे पनि यो प्रकृया आफैंमा विवाद मुक्त हुन सकेन। आगामी निर्वाचनमा अध्यक्षको दावेदार बन्ने तयारी गरेका भाष्करराज राजकर्णीकारले विषेश साधारण सभा रोक्न पाटन उच्च अदालतमा रिटनै दायर गरेका थिए। तर, अदालतले दुबै पक्षको भनाइ सुनेपछि साधारणसभा रोक्नु नपर्ने फैसला गर्यो।
 

उनी विधान संसोधनको विपक्षमा नभए पनि कार्यान्वय भने अर्को चुनावबाट मात्र हुनुपर्छ भन्नेमा थिए। विषेश साधारणसभाबाट विधान संसोधन नगरि आगामी चैतमा हुने नियमित साधारणसभाबाट संसोधन गर्नु पर्ने उनको दावी थियो। त्यसो भएमा पुरानै प्रावधान सहित अध्यक्षको पनि चुनाव हुने र त्यसवेला चुनिने वरिष्ठ उपाध्यक्षलाई भने आगामी कार्यकालमा स्वतः अध्यक्ष बनाउनु पर्ने उनी बताउँदै आएका थिए।
 

विगतमा पनि विषेश साधारणसभाबाट विधान संसोधन गरेको नजिर रहेको हुँदा अदालतले भाष्करको रिट खारेज गरिदियो। यसअघि चण्डीराज ढकाल अध्यक्ष हुँदा विषेश साधारणसभाबाट विधान संसोधन गरि दुई बर्षे कार्यकाललाई तीन बर्षको बनाइएको थियो। निर्वाचन हुँदा दुई बर्षका लागि भनेर चुनिएका ढकालले संसोधित विधान अनुसार तीन बर्षे कार्यकाल चलाएका थिए।
 
बुधबार अपरान्ह अदालतले भाष्करको मुद्दा खारेज गरि दिए पछि उनी पक्षधर पुर्व अध्यक्षहरुले भने साधारणसभा वहिस्कार गरेका छन्। पुर्व अध्यक्षहरु महेशलाल प्रधान,पद्य ज्योती,आनन्दराज मुल्मी,प्रदीपकुमार श्रेष्ठ,विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले आफुहरुलाई निमन्त्रणा नआएको भन्दै संयुक्त विज्ञप्ति निकालेका साधारणसभा वहिस्कारको घोषणा गरेका थिए।  विदेशमा रहेका निवर्तमान अध्यक्ष सुरज वैद्य समेत यहि समुहमा छन्।
 
साधारणसभामा विधान संसोधन गर्दा पुर्व अध्यक्षहरुलाई मतदानको अधिकार भने हुँदैन। त्यसैले उनीहरुको अनुपस्थितीले नैतिक बाहेक साधारणसभाका लागि कानुनी अड्चन ल्याएको छैन। विधान संसोधन गरि तत्काल कार्यान्वयनको पक्षमा रहेका पुर्व अध्यक्षहरु चण्डी ढकाल र रविभक्त श्रेष्ठ भने साधारणसभामा सहभागि छन्। ढकाल विधान संसोधन समितिको सभापति नै थिए। 
 
भाग्यमानी भवानी
भवानी राणा निजी क्षेत्रको सबै भन्दा ठूलो संगठन हाँक्ने पहिलो नेतृ बन्ने भएकी छिन्। आउँदो चैतमा हुने साधारणसभा पछि उनी स्वतः अध्यक्ष बन्नेछिन्।


पशुपति  मुरारका महासंघ अध्यक्ष र भवानी  राणा वरिष्ठ उपाध्यक्ष चुनिएपछि। फाइल फोटो


जिल्ला नगर समुहबाट महासंघको राजनीतिमा प्रवेश गरेकी उनी उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेकी हुन्। महासंघको अघिल्लो कार्यकालमा उनले जिल्ला नगर समुहबाट उपाध्यक्ष जितेकी थिइन्।
 
वर्तमान कार्यसमितिमा भने उनी संयोग र भाग्यले वरिष्ठ उपाध्यक्ष बनेकी हुन्। उनी वरिष्ठ उपाध्यक्षको चुनाव लडे पनि पशुपति मुरारकासँग पराजित भएकी थिइन्।
 
तर, अध्यक्ष निर्वाचित प्रदिपजंघ पाण्डे पुरानो भ्रष्टाचार मुद्दा ब्युंतेर जेल गएपछि उनी पदबाट हट्न पुगे। सर्वसम्मतिमा वरिष्ठ उपाध्यक्ष मुरारकालाई अध्यक्ष बनाइयो। खाली रहेको वरिष्ठ उपाध्यक्षको पदमा भवानी सर्व सम्मतिले नै चयन गर्यो।
 
आगामी साधारण सभामा अध्यक्षको उम्मेद्वार बन्ने तयारीमा रहेकी भवानीलाई विधान संसोधनले झनै सजिलो बनाइदियो। महासंघको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष चुनिन ठूलै रस्साकस्सी झेलेकी भवानी अध्यक्ष भने सहज ढंगले बन्ने भएकी छिन्। आगामी चैत २६ पछि उनले कार्यभार सम्हाल्नेछिन्।
 
नेपालगञ्जमा होटल चलाउने भवानीको बर्दियामा व्यवसायी खेतीवाली समेत रहेको छ।