बाणिज्य बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्न राष्ट्र बैंकको अनुमति, ग्लोबललाई बाटो खुल्यो

बिजमाण्डू
२०६९ माघ १७ गते ००:०० | Jan 30, 2013
बाणिज्य बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्न राष्ट्र बैंकको अनुमति, ग्लोबललाई बाटो खुल्यो

काठमाडौं । बाणिज्य बैंकहरुलाई विदेशमा सम्पर्क र प्रतिनिधी कार्यालय खोल्न राष्ट्र बैंकले स्वीकृती दिने भएको छ । केन्द्रीय बैंकले बुधवार सर्कुलर जारी गर्दै त्यसका लागि केही न्युनत्तम शर्त समेत तोकेको छ । राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी पूरा गरेका, एक वर्षदेखि नियमित रुपमा अतिरिक्त थप एक प्रतिशत ‘बफर क्यापिटल’ कायम गरेका र निष्कृय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम भएका बाणिज्य बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्न दिने गरी सर्कुलर जारी गरेको हो ।
यस्तो कार्यालय खोल्नका लागि संस्था र सञ्चालकलाई केन्द्रीय बैंकबाट कारवाही नभएको र भए पनि कारवाही भएको छ महिना पुरा भैसकेको हुनुपर्ने शर्त छ । योग्यता पुगेका बैंकले सैद्धान्तिक सहमतिका लागि बैंकमा आवेदन गर्नुपर्ने, आवेदनसँगै सञ्चालक समितिको निर्णय, सम्वन्धित देशको नियामक निकायको नीतिगत व्यवस्था, त्यस्तो व्यवस्था पालना गर्न सक्ने सम्वन्धमा बैंकको तर्फबाट गरिएको स्वघोषणा, सम्भाव्यता अध्ययन प्रतिवेदन तथा विगत तीन वर्षको वार्षिक वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले सम्पर्क कार्यालय खोल्न सैद्धान्तिक सहमति दिएको छ महिना भित्र सम्वन्धित देशको नियामक निकायबाट कार्यालय खोल्ने स्वीकृती प्राप्त गरी अन्तिम स्वीकृतीका लागि राष्ट्र बैंकमा आवेदन गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले सर्कुलरबाट गरेको छ । केन्द्रीय बैंकबाट अनुमति पाएको छ महिनामा सम्पर्क कार्यालय खोल्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने छ, त्यसैगरी कार्यालय सञ्चालनका लागि आवश्यक विदेशी मुद्रा खर्चका लागि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले ग्लोबल आइएमई बैंकलाई नयाँदिल्लीमा सम्पर्क कार्यालय खोल्न बाटो खुल्ने भएको छ । भारतमा रेमिट्यान्स सेवालाई प्रभावकारी बनाउन ग्लोबल बैंकले सम्पर्क कार्यालय खोल्न प्रस्ताव गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले नेपाली कम्पनीलाई भारतमा सम्पर्क कार्यालय खोल्नका लागि समेत बाटो बन्ने भएको छ । केही दिन अघि मात्रै नेपाल सरकारले माथिल्लो कर्णालीको प्रवद्र्धक जिएमआर र अरुण तेस्रोको प्रवद्र्धक सतललाई भारतमा सम्पर्क कार्यालय खोल्न अनुमति दिएको थियो । भारतीय लगानी भए पनि नेपाली कम्पनी भएका कारण वित्तीय व्यवस्थापन, विद्युत खरिदप्रक्रिया लगायतका काम गर्नका लागि सरकारले भारतमा शाखा कार्यालय खोल्न अनुमति दिएको हो ।

Tata
GBIME
Nepal Life