सेयर बजार किन घट्यो?, सिद्धार्थ क्यापिटलका सिइओ भन्छन्- नाफा खल्तीमा गएपछि सुचक माथि बस्दैन

बिजमाण्डू
२०७३ मंसिर ५ गते १४:३७ | Nov 20, 2016

पछिल्लो समय सेयर बजार छोटो अवधिमा माथि गएकै हो। माथि गएपछि सामान्य करेक्सन भइहाल्छ। थोरै थोरै घटेर करेक्सन भइरहेको पनि थियो। तर एक दुई दिनयता फराकिलो अन्तरले बजार घटेको छ।

Tata
GBIME
Nepal Life

हिजोको दिनमा सेयर बजार सुचक (नेप्से) १२०० पुग्दा पनि लगानीकर्ता ओहो १२०० भन्थे। १५०० अंक पुग्दा पनि ओहो १५००! भन्थे। अहिले त्यही १५०० मा बजार आउँदा आत्तिनुपर्ने जस्तो लाग्दैन।

१८०० पुगेर १५०० पुग्दा पनि बोनस र हकप्रद सेयरले लगानीकर्ताको लागत उठेकै छ। अझै पनि लगानीकर्ता नाफामै छन्, त्यही भएर बिक्री धेरै आएको होला। लगानीकर्ताको मनोविज्ञान के हो भने माथि जाँदा पनि ओहो भन्ने र तल जाँदा पनि ओहो भन्ने। अहिले यही मनोविज्ञानले काम गरेको हो जस्तो लाग्छ।

नाफाजति सबै आफ्नो खल्तीमा हालिसकेपछि पनि बजार चाँही जहाँको त्यहीँ रहनुपर्छ भन्ने ठान्नु गलत हो। मूल्य समायोजन त हुनैपर्छ। अहिले भएको पनि त्यही हो जस्तो लाग्छ।

पछिल्लो समय बैंक ब्याजदरको बृद्धि, तरतला अभाव र सरकारले विकास खर्च गर्न नसकेको प्रभाव बजारमा पनि देखिएको छ। भारुको असर पनि केही परेको छ। औपचारिक क्षेत्रको तथ्यांक जे आए पनि अनौंपचारिक क्षेत्रमा भारुले केही न केही असर गरेकै होला। त्यसले वित्तीय बजारलाई असर नगर्ने भन्ने त हुँदैन। आवश्यकता भएपछि सम्पति नै बेच्ने हो। त्यसमा पनि लिक्विड सम्पति सेयर नै हो। त्यही बेच्ने हो।

यस्तो खालको असर हुँदा साना लगानीकर्तालाई त्रसित बनाउँछ। जसले गर्दा बिक्रीको चाप वढ्छ। बजारको प्रबृत्ति के हो भने- घटेपछि झन् घट्ने । बढेपछि बेच्ने हुँदैनन्। घट्दा किन्ने हुँदैनन्।

आधारभूत र प्राविधिक पक्ष नहेरी हल्लाको पछि दौडने प्रबृत्तिले पनि अहिले काम गरेको छ। हुन त वित्तीय बजारमा यस्तो हुन्छ पनि ।
 
अहिले बजार धेरै 'प्यानिक' भएर जानुपर्ने जस्तो लाग्दैन। हुन त बजार घट्ने क्रममा जाला। तर फराकिलो अन्तरले बजार घटेर जानुपर्ने कारण म देख्दिन। बजार झर्न थालेपछि १८०० अंकतिर छिरेका लगानीकर्ता आत्तिएका छन्। यसले बजार झन् घटेको हुनसक्छ।

बजार घट्नुको अर्को कारण पनि छ। उदाहरणका लागि कसैले १००० रुपैयाँमा सेयर किन्छ। एक बराबर एकको अनुपातमा हकप्रद १०० रुपैयाँमा। हकप्रद भरेपछि एउटा सेयरको लागत १००० बाट झरेर ५५० रुपैयाँमा आउँछ।

१००० रुपैयाँमा किनेको सेयर मूल्य ६०० मा आयो भने लगानीकर्ताहरु ४०० रुपैयाँ घाटा लाग्यो भन्दै हिँड्छन्। तर वास्तवमा उ त अझै ५० रुपैयाँ नाफामै हुन्छ नि। यो मानसिकता लगानीकर्तामा छ।

हाम्रो अनुमानमा बजार त्यति धेरै करेक्सन हुनु जरुरी छैन। फराकिलो अन्तरले झरेका कारण मानिस प्यानिक भएका हुन्। १५ अंकले झर्दै गएको भए स्वभाविक पनि लाग्थ्यो। तर एकैचोटी झ्याम्मै झर्दा अलिक प्यानिक भएको हो।