औद्योगिक घरानाले संयुक्त रुपमा सुरु गरे स्टार्टअप फण्ड, इनोभेटिभ आइडियामा करोड माथिको लगानी

बिजमाण्डू
२०७३ मंसिर १० गते १५:५३ | Nov 25, 2016
औद्योगिक घरानाले संयुक्त रुपमा सुरु गरे स्टार्टअप फण्ड,  इनोभेटिभ आइडियामा करोड माथिको लगानी

Tata
GBIME
Nepal Life

काठमाडौं। 'बिजनेश'का लागि कुनै इनोभेटिभ आइडिया तपाईंसँग छ भने करोडभन्दा माथिको लगानी पाउनुहुनेछ। नेपालका व्यवसायिक घरानाहरुले संयुक्त रुपमा प्रवर्द्धन गरेको इमर्जिङ नेपालले स्टार्टअप फण्ड सुरु गर्दै आइडियामाथि लगानी गर्ने योजना अघि सारेका हुन्।

 
नेपालको औद्योगिक घराना विशाल समूह, आइएमई लगायतको साझेदारी रहेको इमर्जिङ नेपालले स्टार्ट अप फण्डका लागि पुस १४ गतेसम्म आवेदन मागेका छन्। भेञ्चर क्यापिटलका रुपमा इमर्जिङ नेपालले छानिएका स्टार्टअपलाई एक करोड रुपैयाँभन्दा माथि लगानी दिनेछ।
 
यो लगानी ऋणका रुपमा नरहेर स्वपुँजीका रुपमा रहने इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले जानकारी दिए। नेपालभन्दा बाहिर भेञ्चर क्यापिटलले स्टार्टअपलाई लगानी गर्ने विषय साधरण बन्दै गए पनि नेपालमा यसरी घोषणा गरिएको भने यो पहिलो पटक हो।
 
इमर्जिङ नेपालले शिक्षा, पर्यटन, कृषि  तथा जडिबुटी, मझौला तथा साना व्यवसाय, स्वास्थ्य, सूचना तथा प्रविधिका क्षेत्रमा आउने सिर्जनशील सोचमा लगानी गर्ने जानकारी दिएको छ। यस्तो लगानी न्युनतम एक करोड रुपैयाँबाट सुरु हुनेछ।
राम्रो योजना आए आवश्यकताअनुसार थप लगानी गर्न सक्छौं,  अध्यक्ष जोशीले भने। उनले एउटा वा दुई वटा मात्र नभएर सम्भव सबै परियोजनामा लगानी गर्न कम्पनी तयार रहेको जानकारी दिए।
 

कसरी पाउने रकम
यदि तपाईंसँग बिजनेशका लागि नयाँ सोच छ र त्यो व्यापारमा परिणत गर्न सकिन्छ भने विश्वास छ भने इमर्जिङ नेपालमा आवेदन गर्न सक्नुहुन्छ। 
 
सुरुमा आफूले गर्न चाहेको बिजनेस के हो?  भन्ने विषयको प्रारम्भिक प्रस्ताव तयार गर्नुपर्छ। यो प्रस्ताव पुस १५ गतेसम्म कम्पनीमा बुझाउनुपर्ने कम्पनीले जानकारी दिएको छ।
 
प्रारम्भिक प्रस्तावमा परियोजनाको संक्षिप्त जानकारी दिनुपर्छ। त्यसैगरी वित्तिय प्रस्ताव र इमर्जिङ नेपालले गर्नुपर्ने लगानीसहित पुँजी संरचनाको प्रस्ताव पनि बुझाउनुपर्ने हुन्छ।
 
प्रस्ताव बुझाउँदा परियोजना ब्रेक इभन प्वाइन्टमा पुग्न कति समय लाग्छ भन्नेदेखि बजारको माग, आपूर्ति र प्रतिश्पर्धाको दृष्टिकोणबाट परियोजना सम्भव छ छैन् भन्ने जानकारी पनि प्रस्तावमा दिनुपर्छ।
 
कहिले पाइन्छ रकम?
कम्पनीले आवेदकको प्रारम्भिक प्रस्ताव स्वीकृत गरेपछि दोस्रो चरणको काम सुरु हुनेछ। यसपटक भने परियोजनाको विस्तृत योजना तयार गर्नुपर्छ। त्यसका लागि इमर्जिङ नेपालले समेत सघाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले जानकारी दिए। 
 
यसरी सुरुमा प्रारम्भिक प्रस्ताव र त्यसपछि विस्तृत प्रस्ताव तयार गरेपछि परियोजनामा लगानीको प्रक्रिया सुरु हुनेछ।