असार देखि कात्तिकसम्म गतवर्षभरीकै जति कार नेपाल भित्रिए,कहाँ गुड्छन चौमासमै आएका १० हजार कार?

बिजमाण्डू
२०७३ मंसिर १३ गते १५:०८ | Nov 28, 2016
असार देखि कात्तिकसम्म गतवर्षभरीकै जति कार नेपाल भित्रिए,कहाँ गुड्छन चौमासमै आएका १० हजार कार?
काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा भित्रिएको साना सवारी साधनको आयात आश्चर्यजनक रुपमा बढेको  पाइएको छ।यो अवधिमा आयात भएको सवारी साधन गतवर्षभरीकै हाराहारीमा छ।

Tata
GBIME
Nepal Life


चार महिनाको अवधिमा १० हजार ५६ वटा साना सवारी साधन भित्रिएका छन्।साना सवारी साधनमा चार पाँग्रे कार र एसयुभी सेग्मेन्ट पर्छन्।गत वर्षभरी १२ हजार ३ सय ३२ वटा साना सवारी आयात भएको थियो। 
 
अघिल्लो वर्ष आर्थिक वर्ष २०७१/७२ मा ११ हजार एकसय ४५ वटा साना सवारी साधन आयात भएको थियो। साना सवारी साधन आयातको आश्चर्यजनक वृद्धिमा 'मध्यमवर्ग'मा कार कल्चरको विकास भएको रुपमा हेरिएको छ।
 
लक्ष्मी  हुन्डाई इन्टरकन्टिनेन्टलको डेपुटी जनरल म्यानेजर रुपेश भट्टका अनसार 'मिडलक्लास कार कल्चर'का कारण मध्यमस्तरको गाडीको आयात बढेको बताए। उनले गत वर्ष भूकम्प र नाकाबन्दीमा रोकिएका सवारी साधन आएकोले आयात बढेको बताए। 
 
भूकम्प र नाकाबन्दीका कारण गत वर्ष कम सवारी साधन भित्रिएका थिए। तर अघिल्लो वर्षभरीजतिकै सवारी साधन यो अवधिमा भित्रिएपछि सरकारी अधिकारी चिन्तित छन्। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगाना साना सवारी साधनको आयात आश्चर्यजनक देखिएको बताउँदै वृद्धिदर 'अस्वभाविक' जस्तो देखिएको बताए।
 
'चार महिना साना सवारी आयातको तथ्यांक अस्वभाविक देखिएको छ। मुलुकको अर्थतन्त्र ओरालो लागेको छ तर सवारीको आयात भने बढिरहेको छ' उनले भने। पछिल्लो समयमा राजधानीमा साना सवारी साधनको बिक्री उच्च छ। 
 
राजधानीपछि चितवन र पोखरामा साना सवारी साधनको सबै भन्दा बढी भएको अटो व्यवसायी बताउँछन्। जग्गाको कारोबार बढेपछि साना सवारी साधनको बिक्री बढेको हो। अहिले राजधानी र राजधानी वाहिरका शहरउन्मुख जिल्लाहरुमा जग्गाको मूल्य आकासिएको छ। व्यवसायीका अनुसार केही समयअघि सेयर बजारबाट कमाएका व्यक्तिले समेत सवारी साधन किन्न आएकोले आयात उच्च भएको हो।
 
यो अवधिमा १ लाख १२ हजार ८० वटा मोटरसाइकल आयात भएको छ । यो गत वर्षको तुलनामा ५० प्रतिशत भन्दा बढी हो। गत आवमा दुईलाख १९ हजार एकसय ६६ वटा मोटरसाइकलको आयात भएको थियो। आव २०७१/७२ मा एकलाख ५१ चारसय ५७ वटा मोटरसाइकलको आयात भएको थियो।
सवारीको नाम आयात संख्या (आव ७१/७२) आयात संख्या (आव ७२/७३) आयात संख्या (आव ७३/७४ को चार महिना)
ट्याक्टर २२६४६ २९६३१ ९२९८
बस १०४६ ९९६ ३९२
माइक्रोबस ३१६ ४३५ १६०
जिप भ्यान ३३   २३
एम्वुलेन्स/शववाहन १६०५ ९८ २७
मोटरसाइकल १५७४५१ २१९१६६ ११२०८०
कार १११४५ १२३३१ १००५६
हजार सिसीभन्दा साना कार तथा तीनपाँग्रे सवारी   ९१६१२  
टेम्पो/ अटो रिक्सा १३६९ १०३५२९ २१५४०
पिकअप, ट्रकहरु ७९६३ १०२०० ४४५६
 
भन्सार विभागको तथ्यांक अनुसार आव ७१/७२ मा ट्याक्टरको आयात २२ हजार ६ सय ४६ रहेको छ ।  गत आवमा  २९ हजार ६ सय ३१ वटा ट्याक्टर आयात भएका छ।  चार महिनाको अवधिमा ९ हजार  दुईसय ९८ वटा ट्याक्टर आयात भएको छ।