सुन्दरीजल साइटमा मेलम्ची खानेपानी आयोजनाको काम ९८% सकियो, १६७ मिटर मात्र सुरुङ बाँकी

बिजमाण्डू
२०७३ मंसिर १९ गते १६:४६ | Dec 4, 2016
सुन्दरीजल साइटमा मेलम्ची खानेपानी आयोजनाको काम ९८% सकियो, १६७ मिटर मात्र सुरुङ बाँकी
काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माणमा पछिल्लो समय आएको तिब्रताले निरन्तरता पाएको छ। सुन्दरीजल साइटमा सुरुङ खन्ने काम लगभग सकिएको छ भने पानी प्रशोधन केन्द्रको पुर्वाधार निर्माण समेत अन्तिम चरणमा पुगेको छ। 

Tata
GBIME
Nepal Life


 

सुन्दरीजलमा निर्माणाधिन पुर्वाधार मध्ये प्रशासनिक भवन र कन्ट्रोलर भवन बनि सकेका छन्। प्रशोधन केन्द्र अन्तर्गत पानी थिग्रयाउने ड्यामको काम १० प्रतिशत मात्रै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले बिजमाण्डूलाई बताए।
 
सुन्दरीजलबाट खन्नु पर्ने १० किलोमिटर सुरुङ मध्ये अब १६७ मिटर मात्रै बाँकी छ। सुन्दरीजल-सिन्धु एवं सिन्धु-सुन्दरीजल तर्फ गरि दुई ठाउँबाट सुरुङ खन्दै आएकोमा एकातिर चट्टान फुटाएको आवाज अर्कोतिर सुनिन थालेको छ। त्यसैले अहिले सुन्दरीजल तिर काम रोकेर सिन्धुबाट मात्रै खन्ने तयारी भैरहेको आयोजनाका सुचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।


 

सुन्दरीजलबाट छ किलोमिटरभन्दा बढी सुरुङ खनिएको पन्तले बताए। सिन्धुबाट तीन हजार ४०० मिटर मात्रै खनिएको छ। त्यसैले समयको बचतका लागि पनि सिन्धुबाट खन्न सजिलो हुने उनले जानकारी दिए। 
 
यो डिसेम्बर भित्रै सिन्धुबाट पनि सुरुङ खन्ने काम पुरा हुने निर्देशक भट्टराईले बताए।


 

मेलम्ची खानेपानी आयोजनाको कुल २७.५८ किलोमिटर सुरुङमध्ये अब ५.९ किलोमिटरमात्रै खन्न बाँकी छ। गत महिना आयोजनाले ७०७ मिटर सुरुङ खनेको थियो। चाडपर्वको प्रभाव र डिजेल मेशिनमा खराबी आउँदा ९०० मिटरको लक्ष भेटाउन नसकेको पन्तले बताए। 
 
कुल आठ ठाउँबाट सुरुङ खनिँदै आएकोमा सुन्दरीजलको लक्ष पुरा भइ सकेको छ। यो महिना भरमा सिन्धु-सुन्दरीजल खण्ड पुरा हुनेछ। त्यस्तै आयोजनाको मुहान-अम्बाथान एवं अब्माथान-मुहानमा चालु काम पनि यो महिना सकिनेछ। यो सेक्सनमा अम्बाथानबाट मुहान तिर २० मिटर र मुहानबाट अम्बाथान तर्फ २९ मिटर मात्रै खन्न बाँकी छ।


 

जनवरी देखि बाँकी चार स्थानबाट मात्र सुरुङ खन्ने काम चालु हुने आयोजनाले जनाएको छ।
 
आउँदो बर्षको दशैं सम्ममा मेलम्चीको पानी काठमाडौँका धारामा झारि सक्ने आयोजनाको लक्ष छ।