एटिएम मेसिन परिवर्तन नगरेसम्म पैसा सुरक्षित हुँदैन, सबै एटिएम ‘इएमभी’ स्टान्डर्ड बाहिर

बिजमाण्डू
२०७३ मंसिर २० गते १४:३६ | Dec 5, 2016
एटिएम मेसिन परिवर्तन नगरेसम्म पैसा सुरक्षित हुँदैन, सबै एटिएम ‘इएमभी’ स्टान्डर्ड बाहिर
काठमाडौं । एटिएम कार्डको पिन नम्बर र एटिएम डाटा चोरेर पैसा झिक्ने अन्तराष्ट्रिय आपराधिक समूह नेपाल आउनेक्रम बढेपछी बैंकहरुले सुरक्षा बढाउन थाले। अहिले बैंकहरु म्याग्नेटिक कार्ड विस्थापित गरी ‘चिप्सबेस’मा प्रवेश गर्दैछन्।
 
अन्तराष्ट्रिय आपराधिक समूहका सदस्य नेपालमा पक्राउ पर्ने क्रम बढेपछी आफ्नो एटिएम कार्ड आधुनिक प्रविधिको रहेको भन्दै बैंकहरुले वचाउ पनि गरिरहेका छन्। र, त्यसका लागि आफुसँग ‘चिप्सबेस’ एटिएम कार्ड रहेको उनीहरुको तर्क छ।

Tata
GBIME
Nepal Life


 

बैंकहरुले एटिएम कार्डमा चिप्स राखे पनि एटिएम बुथ (मेसिन) भने पुरानै छ। बिजमान्डूको अनुगमनमा उक्त मेसिन पुर्ण रुपमा चिप्समा आधारित नरहेको फेला परेको छ। कार्ड सक्कली/नक्कली के हो भनेर सहजै पत्ता लगाउन एटिएम मेसिनले चिप्स पढ्न सक्नुपर्छ। 
 
मेसिनमा त्यहि क्षमता नहुँदा ह्याकरले एटिएम कार्डको डाटा र ग्राहकको पिन नम्बर चोरेर नक्कली कार्डमार्फत पैसा निकाल्ने गरेको प्रहरी अनुसन्धानले समेत पुष्टि गरेको छ।
 
एटिएम मेसिन परिवर्तन गर्दा धेरै खर्चिलो हुने भन्दै बैंकले त्यस तर्फ चासो देखाएका छैनन्। मेसिन परिवर्तन नगरुन्जेल ठगीका घट्ना दोहोरिइ रहने स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)का चिफ टेक्नोलोजी अफिसर समीर बज्राचार्यले वताए।
 
अहिले प्रचलनमा रहेका एटिएम मेसिन ‘म्याक्स टेप टाइप’ मा आधारित हुन्। यस्ता कार्डमा कालो टेप जस्तो चिन्ह हुन्छ। यो कार्ड ह्याकरले भेट्टाए सजिलै त्यसमा रहेको डाटा चोरी गरि नयाँ कार्डमा सार्न सक्ने बैंकिङ प्रविधिका जानकार एवं इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठले बताए। ह्याकरले त्यहाँ भएको डाटालाई ‘रिराइट (तोडमोड)’ समेत गर्नसक्ने उनले बताए।
 
चिप्स र म्याक्स टेप टाइप दुबै कार्ड चल्ने ‘कम्प्याटिवल’ मेसिन केहि सस्तो हुँदा बैङ्कको रोजाइमा पर्ने गरेको छ। हाल प्रचलनमा रहेका एटिएम मेसिन छ देखि आठ लाख रुपैयाँ मूल्यका हुन्। तर, युरोपियन, मास्टर र भिसा (इएमभी) कार्ड स्टान्डर्डको मेसिनलाई चल्तिमा रहेको भन्दा दोब्वर पर्ने बज्राचार्यले बताउँछन्। सोही कारण बैंकहरुले उच्च सुरक्षा युक्त मेसिन नराखेको उनको भनाइ छ।
 
बैंकले कार्डको चिप्स सिस्टम जति नयाँ ल्याएपनि एटिएम मेसिन पुरानो प्रविधीको रहुन्जेल जोखिम घट्दैन।
 
नेपालमा बारम्बार एटिएम ‘फ्रड’का घटना भइरहे पनि बैङ्कले नयाँ प्रविधिको एटिएम बुथ प्रयोग नगर्दा समस्या बल्झिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख नवराज सिलवालले बताए। 


 

'हामीले धेरै अगाडिदेखि एटिएम फ्रडका घटना भएपछि राष्ट्र बैङ्क तथा बैङ्कलाई सचेत गराइरहेका छौ, सिलवालले भने- जबसम्म चिप्स बेस्ड एटिएम बुथ र एटिएम कार्ड प्रयोग हुँदैन तबसम्म यस्ता घटना भइरहन्छन्।'
 
हाल नेपालमा प्रयोग भइरहेको ठगी सम्वन्धि कानुन कमजोर रहेका कारण पनि बारम्वार यस्ता घटना भइरहेको उनको भनाइ छ। ‘एटिएम ह्याकर संसारमा कुन देशको कानुन फितलो छ भन्दै खोज्ने र त्यहाँ गएर बैङ्क तथा एटिएममा फ्रड गर्ने प्रबृत्ति देखिन्छ’ उनले भने।
 
एटिएम कार्ड दिएपछि त्यसलाई कसरी सुरक्षित राख्ने भनेर उपभोक्तालाई जनचेतना जगाउने काम बैंकबाट नहुँदा पनि समस्या आएको उनको भनाइ छ। बैङ्कको सिस्टम सुरक्षित हुँदा पनि कार्ड असुरक्षित हुनु उपभोक्ता प्रतिको वेवास्ता रहेको उनी बताउँछन्। 
 
उपभोक्तालाई एटिएम फ्रडबाट बच्ने उपाय सिकाउने दायित्व बैंककै भए पनि अहिले सम्म त्यो पर्याप्त हुन नसकेको एनआइसी एसिया बैंकका टेक्निकल हेड परमेश्वर श्रेष्ठले बताए।