माथिल्लो तामाकोसी आयोजनाको काम ८२%सकियो, २०७५भित्र निर्माण सक्नेगरी काम तीब्र

रासस
२०७३ मंसिर २१ गते १६:५१ | Dec 6, 2016
माथिल्लो तामाकोसी आयोजनाको काम  ८२%सकियो, २०७५भित्र निर्माण सक्नेगरी काम तीब्र
काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ ।

Tata
GBIME
Nepal Life

भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो ।  कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो । 

 
प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गरेका छन्। सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएका थिए । 
 
प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । “विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता न्यौपानेले भने – “आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।”
 
पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको  गोरखा भूकम्प र भारतीइ नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १२७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ। 
 
सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको ११ अर्ब रकम सेयरमा बदल्ने तयारी गरेको बताएका थिए । 
 
अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । थौरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमा समेत उल्लेख छ ।