बैंकलाई ब्रोकर लाइसेन्स किन दिनु हुँदैन?, वित्तीय विश्लेषक प्रकाश तिवारीको लेख

बिजमाण्डू
२०७३ पुष ६ गते १३:११ | Dec 21, 2016
बैंकलाई ब्रोकर लाइसेन्स किन दिनु हुँदैन?, वित्तीय विश्लेषक प्रकाश तिवारीको लेख


२१औं शताब्दीमा विश्वका अधिकांश मुलुकहरुले खुला बजार अर्थतन्त्रको नीति अबलम्बन गरि आ–आफ्नो देशको पूँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गरिसक्दा पनि नेपालको बजार भने एसियाकै कम विकसित बजारको रुपमा रहेको छ। नेपालको पूँजी बजारमा केही सुधारका प्रयासहरु भएतापनि खास उपलब्धिमूलक देखिएका छैनन्।
 
बजारमा सुचिकृत कम्पनीहरुको विविधता नभएका कारण बैक तथा वित्तीय संस्थाहरुको बाहुल्यताको बाध्यात्मक बनेको छ। बैक तथा वित्तीय संस्थामा लगानी गर्ने विभिन्न घराना तथा ठूला व्यापारीहरु नै शेयर बजारका परिचित तथा महत्व राख्ने लगानीकर्ताका रुपमा परिचित छन्। जसले गर्दा सुचिकृत कम्पनीहरुबाट सूचना चुहावट भई भित्री कारोबार भई समग्र शेयर बजारलाई नै प्रभावित पार्ने गरेको छ। यसले गर्दा बजारमा अप्राकृतिक उतार चढावसमेत बेला बेलामा देखिने गरेको छ।

Tata
GBIME
Nepal Life

बैक तथा वित्तीय संस्थाहरुको चार गुणा पूँजी बृद्धिको कारण पूूँजी बजारमा शेयर आपुर्तिमा बृद्धि भई रहेको छ। पछिल्लो समय खरिदकर्ताको न्युन उपस्थितीका कारण बजार मापन परिसुचक नेप्से इन्डेक्समा झण्डै ४०० अंकको गिरवट आईसकेको छ । यस अवस्थालाई सन्तुलन कायम गर्न आपुर्ति बढेकै अनुपातमा लगानीकर्ताको सख्यामा बृद्धि हुनु अपरिहार्य हुन्छ।

यसकालागि हाल काठमाण्डौ उपत्यका र आसपासका केही शहरहरुमा मात्र सिमित रहेको शेयर कारोबारलाई देशका कुना काप्चासम्म पुर्याई नेपालको पूँँजी बजारको क्षेत्रगत विकास गर्दा लगानीकर्ताहरुको संख्यामा बृद्धि हुन्छ। यसबाट बजारमा वर्चस्व रहेका सिमित लगानीकर्ताहरुको सिन्डिकेट अन्त्य भई बजार आफ्नै मुल्य र मान्यतामा अगाडि बढ्न सहयोग पुग्नेछ।

यसका लागि नियमक निकायबाट हाल कायम रहेका ब्रोकर कम्पनीहरुको क्षमता अभिबृद्धि गर्दै अनिवार्य रुपमा शाखा खोल्न लगाउने वा बाणिज्य बैकहरुलाई समेत शेयर ब्रोकरको रुपमा कार्य गर्न लगाउने विषय बहसमा पनि आएको छ। अन्य क्षेत्रका कम्पनीहरुको आगमन भइनसकेको र  बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको शेयर बजारमा बाणिज्य बैंकहरुलाई नै शेयर ब्रोकरको रुपमा कार्य गर्न दिँदा झनै भित्री कारोबारमा बृद्धि हुनसक्ने सम्भावना पनि रहन्छ।

नेपालको पूँजी बजार सुधारको प्रयास २०६४ सालको बजेटबाट भएको हो। तर ती नारामा मात्र सीमित भए। बजेटले गैरआवासिय नेपालीहरुको लगानी भित्रयाउने, पूर्ण स्वचालित कारोबार प्रणाली लागु गर्ने, नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा कार्य गर्न लगाउने, ब्रोकरहरु मार्फत मार्जिन लेन्डिङको व्यवस्था गर्ने, ब्रोकर डिलरको व्यवस्था गर्ने योजना ल्याएको थियो। सुधारका योजनाहरु नारामा मात्रै सीमित हुँदा लगानीकर्ताहरुमा समेत बजारप्रति अविश्वासको वातावरण बन्दै गएको छ। त्यसैको परिणम स्वरुप स-सानो कारणमा समेत बजारमा तिव्र उतार चढाव हुने गरेको  छ ।

बजारको स्थायित्व र हालको शेयर संख्यामा भएको बृद्धिलाई सन्तुलन गर्नकालागि ब्रोकरहरुको भूमिकालाई बढाउनुपर्छ, नकी बैंकलाई ब्रोकर लाइसेन्स दिने। बैंकलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा बढि हुन्छ।

बैंकहरुलाई लाइसेन्स दिँदा के हुन्छ?
नेपाल राष्ट्र बैंकले समेत बैंकर र व्यापारी छुट्याउने बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन नै संशोधन गरेको छ।

प्राय सबै बैंक तथा वित्तिय संस्थाहरु घरानिया व्यापारीहरु रहेको र उनीहरुनै शेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्ने ठूला लगानीकर्ताहरु छन्।

नेपालको पूँजी बजारमा करिब ७० प्रतिशत हिस्सा बैंक तथा वित्तिय संस्थाहरुको र करिब १२ प्रतिशत हिस्सा बिमा कम्पनीहरु छ ।

अधिकाशं बिमा कम्पनीहरुको लगानीकर्ता बाणिज्य बैंकहरु रहेको तथा बैंकका मुख्य मुख्य प्रबर्द्धकहरु र बिमा कम्पनीका मुख्य मुख्य  प्रबर्द्धकहरु प्राय उहि उहि ब्यावसायिक घरानाका ब्यक्तिहरु रहेका छन्।

प्राय सबै बैंकका सामुहिक लगानी कोष र मर्चेण्ट बैंकहरु संचालनमा रहेका  तथा आउने क्रममका रहेका छन्।

बिमा कम्पनीहरु, बैक तथा वित्तिय संस्थाहरु र सामुहिक लगानी कोषहरुले आफ्नो लागानीको ठूलो हिस्सा धितोपत्रमा लगानी गरेका छन्।

ब्यवसायिक घरानाका ब्यक्तिको संलग्नतामा ठूला ठूला इन्भेष्टमेण्ट कम्पनीहरु पनि संचालनमा रहेका छन्।

धितोपत्रको दोस्रो बजारमा हुने कारोबार सुचिकृत कम्पनीबाट प्राप्त हूने सूचनाले धितोपत्रको बजारको मूल्यलाई प्रभाव पर्ने र सूचना बनाउने स्रोत नै सुचिकृत कम्पनीहरु हुने गर्दछन् ।

बिश्वब्यापी रुपमा धितोपत्रको कारोबारमा भित्रि सूचनाको प्रयोगको आधारमा कारोबार गर्न नपाइने र यसरी कारोबार  गरेमा जघन्य अपराध मानिने गरेको छ। बिश्वका धितोपत्र बजारहरुमा यस्ता किसिमका अपराधहरु भएमा धितोपत्र बजारको साख गुमेको तथा अपराध गरि केही सिमित ब्यक्तिले धेरै सर्वसाधारण जनतालाई डुबाउने घटनाहरु हुने गरेको छ।

मुल्यलाई प्रभाव पर्ने सक्ने निर्णय गर्ने सुचिकृत कम्पनीलाई नै धितोपत्र ब्यवसायीको इजाजत दिदाँ खुलेअाम  भित्री कारोबार हुने गरेको छ। बाणिज्य बैंकहरुलाई धितोपत्र ब्यवसायीको इजाजत दिँदा इन्साइडर ट्रेडिङ हुने सुनिश्चितताहरु र यसले गर्दा लाखौ सर्वसाधारणको लगानी जोखिममा पर्ने, पूँजीबजारको बिकास तथा साख नै गुम्ने खतरा हुन्छ।

(तिवारी हाथवे इन्भेष्टमेन्ट नेपालका प्रमुख वित्तीय विश्लेषक हुन्)