२७ वर्षे युवाको ड्रिम प्रोजेक्ट, सुदूरपश्चिममा ५० करोडको हेरिटेज होटल

बिजमाण्डू
२०७३ पुष १० गते ११:३४ | Dec 25, 2016
२७ वर्षे युवाको ड्रिम प्रोजेक्ट, सुदूरपश्चिममा ५० करोडको हेरिटेज होटल
काठमाडौँ । कुलदीपध्वज थापा। उमेर २७ वर्ष। 
 
धनगढीको उत्तरबेहेडी स्थित स्वयम्भूनाथ क्षेत्रमा भेटिन्छन् थापा।
 
२३ वर्षको उमेरमा केही नौलो काम गर्ने भनेर उनी सोच्न थाले। दुई वर्षपछि निष्कर्षमा पुगे- संस्कृति जोगाउने काम गर्ने। त्यसपछि काठका लडिया, ढिकी र जाँतो खोज्न थाले थापा।

Tata
GBIME
Nepal Life


 

२०४८ सालसम्म धनगढीमा एउटा मात्रै स्तरीय होटल थियो 'आफ्नो घर'। सञ्चालक थिए खडगबहादुर थापा। उनले आफ्नै अध्यक्षतामा होटल व्यवसायी संघ कैलाली समेत स्थापना गरेका थिए। उनैका माइला छोरा हुन कुलदिप। 
 
२०५३ सालमा अकालमै खडगबहादुरको देहान्त भयो। त्यसपछि कुलदीपकी आमा रेखा राठौर थापाले 'आफ्नोघर' लाई जसोतसो चलाईन। त्यसबेला रेखालाई ‘तिमी एक्ली महिलाले होटल चलाउन सक्दैनौ, बेचिदेउ’ भनेर धेरैले प्रस्ताव ल्याएका थिए। घरपरिवार र माइतीको सहयोग एवं आफ्नो हिम्मतले १६ बर्षसम्म होटल चलाएको उनी बताउँछिन्।


 

चार बर्ष अघि कुलदिप बुवाको सपना साकार पार्छु भन्दै कस्सिए। आमाले पढाइ पुरा गर्न सुझाइन् तर उनले ‘आफ्नो घर’ फर्कने अठोट गरि सकेका थिए। 
बुवाले परम्परागत शैलीमा सूरु गरेको बिजनेशलाई नयाँ स्वरुप दिन कस्सिएका थिए कुलदीप। पाँच करोड रुपैयाँ लगानी थप्ने र ‘आफ्नो घर’लाई हेरिटेज बुटिक रिसोर्टमा ढाल्ने निर्णय गरे उनले। अन्ततः दुई बर्षको मेहनतपछि नयाँ संरचना तयार भयो र नाम जुराइयो- आफ्नो घर टेम्पल रिसोर्ट। १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट बाहिरपट्टी स्वयम्भू आकृतिको स्तुपा छ। टाढाबाट हेर्दा सिङ्गो रिसोर्ट स्वयम्भूनाथ जस्तै देखिन्छ। त्यही स्तुपाको मुनि छन् रेष्टुरेण्ट, बार र गेस्टहाउस।


आमा र भाईका साथ कुलदीप (सेतो कोट)
 

कुलदिपका जेठा दाई कपिल अमेरिका बस्न थालेको १० वर्ष भयो। उनले उतैबाट सल्लाह सुझावसहित लगानीमा समेत सघाएपछि कुलदिपले आफ्नो घरलाई नयाँ स्वरुप दिने हिम्मत गरे। कान्छो भाई कृतेशले साथै रहेर कुलदिपलाई सघाए।
 
स्थानियदेखि राष्ट्रिय पहिचानको झल्को
राना थारु र थारु जातीको जीवन चक्र देखिने गरी पेन्टिङ र सामानले रिसोर्टको ‘डेहेरी (थारु समुदायले कोठाको साँधमा धान हालेर राखेको माटोका भाँडा)’ सजाइएको छ। थारुहरुले यातायातको साधनको रुपमा प्रयोग गर्ने काठको लडीया (जुन अहिले लोप भईसकेको छ), माछामार्ने हेल्का, काठको हुक्का र धान, मकै कुट्ने ढिकी डेहेरीमा राखिएका छन्। थारु जातीको जन्म संस्कारदेखि विवाह, चाडपर्व र मृत्यु संस्कार झल्कने पेन्टिङहरु भित्ताभरि राखिएको छ, जसले धनगढी पुग्ने जो कोहीले थारु समुदायको इतिबृत्ति बुझाउन सकोस्।


 

सुदुर पश्चिम तराइको पहिचान बोकेका थारु समुदाय मात्र होइन रिसोर्टमा सिङ्गो नेपालको झल्को देखिन्छ। हिमालका ढुङ्गे घरमा बसेको अनुभूति हुने गरी एभरेष्ट बार बनाईएको छ। 
 
गौतम बुद्धका अर्ति र उपदेशहरु वरिपरि काठमा कुँदिएको बुद्ध ज्ञान कौशी रिसोर्टको अर्को मनमोहक आकर्षण हो। १०० जना व्यक्तिले खाना खान मिल्ने गरि बनाइएको यो हल त्यसबेला निर्माण गरिएको थियो, जतिबेला भारतीयहरु बुद्ध बिहारमा जन्मिएको प्रचार गर्दै थिए।
 
सिङ्गो इतिहास बचाउने अभियानमा सुदूर तथा मध्यपश्चिमका धनाढ्यहरुको राजसी ठाँट पनि रिसोर्टमा झल्काइएको छ। पश्चिम क्षेत्रमा परापूर्वकाल देखि रहेको जमिनदारी प्रथाको झल्को दिने गरि १५ बेडरुमको ‘जमिनदार हेरिटेज विङ’ बनाईएको हो। त्यहाँका सबै फर्निचर सालको काठबाट निर्मित छन्।  उक्त विङमा कोठाको शुल्क प्रतिरात १८ सय देखि ३५ सय रुपैयाँसम्म तोकिएको छ। कोठाको नाम नै जमिनदार स्टयाण्डर्ड, जमिनदार डिलक्स र जमिनदार प्रिमियम भनेर राखिएको छ।
 
‘रिसोर्टको स्वरुप देखेपछि विदेशी पर्यटक धेरै खुसी हुन्छन्, थापाले भने- सुदूरपश्चिमको पहिचान नबुझेका नेपाली दाजुभाई पनि राम्रो प्रतिक्रिया दिएर जानुहुन्छ।’ पाहुनाको सन्तुष्टि र प्रेरणाकै कारण थापाले ८६ कोठा थपेर रिसोर्टलाई १०० कोठा क्षमतामा पुर्याउन लागेका छन्। कोठा थपेपछि रिसोर्टको ‘स्ट्यान्डर्ड’ पनि चार तारे बनाउने उनले जानकारी दिए।


 

नयाँ सुविधा अन्तर्गत रिसोर्टमा दुई वटा स्वीमिङ पूल, पाँच वटा हल, स्पाः, साउना, जीम पनि थपिने छन्। नयाँ बन्ने भवनको नाम दरबार राखिनेछ। राणा डिजाइनमा बन्ने ‘दरबार’मा एकै भवनमा ८६ बेडरुम हुनेछन्।
 
यसकालागि ५ कठ्ठा जग्गा खरिद गरिसकेको थापाले जानकारी दिए। यो समेत रिसोर्टको क्षेत्रफल १५ कट्ठा र लगानी ५० करोड रुपैयाँ पुग्नेछ। थपिने संरचनाको सबै डिजाइन पुरा भइसकेको र फागुनदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ।
 
एक बर्षभित्र संरचना तयार हुने र त्यसबेला अमेरिकाबाट दाजु कपिल पनि फिर्ता भएर सपरिवार मिलेर रिसोर्ट चलाउने उनले सुनाए। ‘हामी करिब करिब बुवाको सपनाको नजिक पुगेका छौँ’ उनले सुनाए।