‘सेकेन्डह्यान्ड’ जहाज खोज्दा निगमले पायो ‘ब्रान्ड न्यू’ एयरबस, मूल्य सवा ११ अर्ब, बैशाखदेखि उडान

बिजमाण्डू
२०७३ पुष १० गते १६:५७ | Dec 25, 2016
काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ जहाज नयाँ बर्ष २०७४ अगावै आउने भएको छ। निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग एयरबसका दुईवटा वाइडबडी जहाज 'ए ३३०-२००'  किन्ने टुङ्गो गरेको हो।
 
गत असोजमा गरेको टेन्डर अनुसार सबैभन्दा सस्तो र चाँडो जहाज उपलब्ध गराउने प्रस्ताव उक्त कम्पनीले गरेको निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। यो कम्पनीले करिब ११ अर्ब २८ करोडमा (१०४ मिलियन डलर)मा जहाज उपलब्ध गराउने प्रस्ताव पेश गरेको छ। 

Tata
GBIME
Nepal Life


 

कम्पनीले चैत भित्रै जहाज उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। सोहि कारण नयाँ बर्षसँगै यी जहाजले उडान सुरु गर्ने कंसाकारले जानकारी दिए।
 
निगमले हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजकालागि प्रस्ताव माग गरेको थियो। 'हामीले बढीमा हजार घण्टा उडेको जहाज खरिदकालागि प्रस्ताव आह्वान गरेका थियौं, कंसाकारले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा आइतबार भने- टेण्डरमा सम्मिलित प्रस्ताव हेर्दा सस्तो र उडान नगरेको नयाँ जहाज भेटियो।' 
 
कंसाकारका अनुसार एएआरले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने छ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरिद अर्डर गरेको तर सो कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि एएआरले सकारेर निगमलाई बेच्न लागेको उनले उनले जानकारी दिए। ‘यी जहाज एयरबसको फ्याक्ट्रिमा तयारी हालतमा रहेको हुँदा हामीले सोचेभन्दा चाँडाे र कम मूल्यमा उडाउन पाउने भयौँ’ उनले भने। 
 
निगमले दुईवटा जहाजलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो। यस्तै, २०७४ को दशैंसम्ममा जहाज भित्र्याउने लक्ष लिएको थियो। लक्ष्यभन्दा करिब छ महिना चाँडो र लागत दुई अर्ब रुपैयाँ सस्तो पर्ने भएको हो।
 
जहाज किन्न राष्ट्रिय ध्वजावाहक निगमलाई कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ। त्यसकालागि अर्थ मन्त्रालय जमानत बस्ने भएको छ। 
 
निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी जहाज खरिदकालागि आह्वान गरेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए। 
 
नेपाल वायुसेवा निगमको प्राविधिक समितिले निगम सञ्चालक समितिलाई एएआर कर्पोरेसनसँग जहाज खरिदकालागि सिफारिस गरिसकेको छ। अब समितिले औपचारिक निर्णय गरेपछि खरिद प्रकृया अघि बढ्ने कंसाकारले जानकारी दिए। 
 
'मुल्याङ्कन समितिले निगम सञ्चालक समितिमा सिफारिस पेश गरिसकेको छ, कंसाकारले भने- १५ दिनभित्र प्रकृया टुङ्ग्याउँछौँ।' टेण्डरमा प्राप्त प्रस्ताव मुल्याङ्कन गर्न निगमले ११ सदस्यीय समिति गठन गरेको थियो। 


 

१० वटा कम्पनीमध्ये सबैभन्दा महङ्गो एउटा जहाजको १७ अर्ब ६० करोड रुपैयाँसम्मको प्रस्ताव परेको थियो।

सबैभन्दा सस्तो प्रस्ताव गरेको एएआरले विश्वव्यापी रुपमा 'एभिएसन' सेवा दिँदै आएको छ। व्यापारिक एरोस्पेस एवं सरकारी तथा बिभिन्न देशको सेनाकालागि समेत हवाइ उपकरण बिक्री गर्ने कम्पनीको वेवसाइटमा उल्लेख छ।
 

वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नी लगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।
 
कुनकुन कम्पनीको थियो प्रस्ताव? 
निगमको ए ३३०-२०० मोडेलका जहाजकालागि प्रस्ताव स्विकृत भएको एएआरसँगै बुल्गेरियाको केएल एरो पार्टस, बेलायती कम्पनी केजिटे इन्भेस्टमेन्ट/वान वल्र्ड कोल्ज आउटस, अमेरिकी बहुराष्ट्रिय कम्पनी रोन मोट्टो थिए। 
 
त्यस्तै अमेरिकी कम्पनी एयरक्राफ्रट इन्भेस्टमेन्ट ग्रुप, बेलायती ट्रेडिङ कम्पनी क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, ब्राजिलियाली कम्पनी सिनर्जी एरोस्पेस, फ्रान्सेली कम्पनी ली ग्रुप डेल्टा, रोल्स रोय र सूर्य एयर सपोर्ट थिए । एएआर बाहेक अरु कम्पनीको मूल्य धेरै भएका कारण छनौट भएनन्।