नायकदेखि निर्मातासम्म शेयर खेलाडी, लाखबाट लगानी सुरु गरेर करोडौंको पोर्टफोलियो बनाउँदै कलाकार

बिजमाण्डू
२०७३ पुष १४ गते १०:०६ | Dec 29, 2016
नायकदेखि निर्मातासम्म शेयर खेलाडी, लाखबाट लगानी सुरु गरेर करोडौंको पोर्टफोलियो बनाउँदै कलाकार
काठमाडौँ ।पर्दामा अनेक चरित्र निभाएर दर्शकको मनमा राज गर्ने नायक आयुष रिजाल जब फुर्सद पाएर इन्टरनेट ‘ब्राउज’ गर्छन्, उनले ‘लग इन’ गर्न नछुट्ने साइट हो- नेपाल स्टक डट कम।

Tata
GBIME
Nepal Life


सुटिङ छैन र दिनभर फुर्सदमा छन् भने उनी पुग्ने थलो हो- शेयर ब्रोकरको अफिस। किनभने आयुषले नायकका अलावा आफ्नो अर्को परिचय पनि बनाइसकेका छन्- शेयर लगानीकर्ता। त्यसैले फुर्सदको पायो की बजारको गतिविधि अपडेट लिन आतुर भइहाल्छन् उनी।  
 
२०६९ सालमा नेपाल बंगलादेश बैंकको शेयर किनेर दोस्रो बजार छिरेका रिजालको ‘इन्भेष्टमेन्ट’ अनुभव कम रोचक छैन। उनी आफुले शेयर किन्यो की बजार ओरालो लागिहाल्ने स्मरण सुनाउँछन्।

तर, उनले अहिलेसम्म घाटामा शेयर बेचेको उदाहरण पनि छैन। ‘मैले शेयर किनेपछि त्यसको मूल्य घटछ घट्छ, उनी सुनाउँछन्- अहिलेसम्म किन्ने बित्तिकै कमाएको उदाहरण छैन। केहि समय होल्ड गरेपछि मात्र मूल्य माथि जान्छ त्यसैले घाटा खाएर शेयर बेच्नुपरेको छैन।’
 

पाँच लाख रुपैयाँ लगानीसहित शेयर बजार प्रवेश गरेका रिजालसँग अहिले ६६ लाख रुपैयाँ हाराहारीको पोर्टफोलियो छ। उनको मोवाइलमा रहेको ‘इन्भेष्टमेन्ट पोर्टफोलियो एप’ले अधिकांश कम्पनीमा हरियो संकेत नै गरेको छ। अर्थात धेरै जसो कम्पनीको शेयर किनेको मूल्यभन्दा अहिले माथिनै पुगेको छ।

बिना तनावको ब्यक्तिगत लगानी र सरकारलाई कर तिरेपछि शुद्ध नाफा कमाइने हुँदा शेयर बजारले आफुलाई लोभ्याएको उनी बताउँछन्।

नायक मात्र होइन ख्यातिप्राप्त निर्देशकदेखि प्राविधिक कर्मचारीसम्मले शेयर लगानीलाई आफ्नो ‘पार्ट टाइम बिजनेश’ बनाएका छन्। धेरै समय दिइरहनु नपर्ने र विवेकसम्मत लगानी गर्दा राम्रै मुनाफा कमाउन सकिने हुँदा शेयर बजारले तानेको उनीहरुको अनुभव छ। 
 
निर्माता शम्भु प्रधानको नाम चलचित्र जगतमा नचिन्ने सायदै होलान्। अब शेयर बजारमा पनि उनको नाम सुपरिचित भइसकेको छ। दर्जनभन्दा बढी चलचित्र बनाएका प्रधानसँग फिल्मदेखि लगानीसम्म एउटा अनौठो संयोग छ। उनको आफ्नो नाम त ‘श’ बाट उठेको भइहाल्यो उनका फिल्म पनि त्यस्तै छन्- सन्तान, सुनचाँदी आदि।
 
आफ्नो ‘श’ अक्षरप्रतिको सानिध्यले लगानीकालागि पनि ‘शेयर’ बजार छानेको उनी सुनाउँछन्। २०६८ सालमा लगानी थालेका प्रधानले लगानी गर्ने पहिलो कम्पनी पनि ‘श’ नै छनौट गरे- सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेशनल। ‘दुबै बैंकको ‘सय/सय’ कित्ता शेयर किनेर बजार प्रवेश गरेको थिएँ’ उनले सुनाए।
 
सुरुको लगानीले राम्रो मुनाफा दिएपछि हौसिएका प्रधान त्यसपछि रोकिएनन्। अहिले त उनको पोर्टफोलियो आठ करोड रुपैयाँ हाराहारी पुगिसकेको छ। लगानीमा नाफा/घाटा दुबै अनुभव सँगालेका छन् उनले। सबै क्षेत्र कम्पनीमा लगानी बिस्तार गरेपनि पछिल्लो समय बीमा कम्पनीको पोर्टफोलियो ७५ प्रतिशत हाराहारी पुगेको उनले बताए। बजारबाट मासिक पाँचदेखि छ लाख रुपैयाँ नियमित कमाइ रहेका छन् उनले। 
 
‘भोलि के हुन्छ त थाहा छैन तर अहिलेसम्म भगवानको कृपाले राम्रै कमाएकै छु, चलचित्र र शेयर बजार दुबैको तुलना गर्दै प्रधान भन्छन्- नाफा दुबैमा छ।’ लगानी अनुसार प्रतिफल आउन भाग्यले समेत साथ दिनुपर्ने उनको विश्वास छ।

कसैलाई चाकडी गर्दै जानुनपर्ने र आफैं निर्णय गर्न सकिने हुँदा चलचित्र पछिको साइट बिजनेश शेयर बजारलाई छानेको उनी बताउँछन्। ‘शेयर बजार त अब नशा भइसक्यो, सायद जीवनभर छुट्दैन होला’ उनी भन्छन्।
 

निर्देशक उज्वल घिमिरे चलचित्र क्षेत्रका अर्का शेयर लगानीकर्ता हुन्। गोठालेदेखि पछिल्लो समयको ‘सुपर हिट’ वडा नम्बर छ सम्म निर्देशन गरेका घिमिरे सुरुमा साथी भाईको लहै लहैले शेयर बजार प्रवेश गरेको बताउँछन्। सुरुमा प्राथिमक शेयरमा आवेदन गर्न थालेका घिमिरे बिस्तारै दोस्रो बजारमा आकर्षित भए। 
 
तीन बर्ष अघि ५० लाख रुपैयाँ लगानी गरेका उनले अहिलेसम्म एक करोड हाराहारी कमाइ सकेका छन्। निर्णय गर्ने स्वतन्त्रताकै कारण शेयर बजारले आफुलाई तानेको उनी बताउँछन्। समयका हिसाबले पनि शेयर बजार उपयुक्त रहेको उनको अनुभव छ। ‘फुर्सद हुँदा बिहान खाना खाएर ११ बजे आयो, ३ बजे बजार बन्द भइहाल्छ, उनले भने- समयका दृष्टिले पनि शेयर लगानी सहज छ। ’
 
सुरु सुरुमा डराएर ११ सय प्रतिकित्ताको दरमा किनेको शेयर हतार हतार नौ सयमा बेचेको अनुभव समेत उनीसँग छन्। अहिले परिपक्व भएर बैंकबाट कर्जा लिएर समेत लगानी गरेका छन्।नेपाली फिल्मका पुराना दर्शकका आँखामा बेहुली, फेरि भेटौँला, अन्याय, आँधी जस्ता चलचित्रको झजल्को ताजै छ। यी फिल्ममा हिरो थिए- प्रकाश अधिकारी। पछिल्लो समय शम्भु प्रधानले निर्देशन गरेको रंग बैजनीमा समेत मूख्य भूमिका निभाएका छन् उनले। 
 
उमेर उकालो लाग्दै जाँदा फिल्मबाट केहि फुर्सद पाएका अधिकारीको अहिले समय बिताउने ठाउँ बनेको छ- शेयर बजार। ‘हिजोआज दौड धुप गर्न सकिन्न, उनी भन्छन्-  त्यसैले खान खाएर घरबाट निस्कने र बेलुकी चाँडै फर्कन सकिने भएको कारण शेयर बजार मेरोलागि सजिलो बिजनेश भएको छ।‘ 
 
दुई बर्षअघि एसबीआइ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एक/एक हजार कित्ता शेयर किनेर बजार छिरेका हुन् उनी। लगानी बिस्तार गर्दै लैजाने क्रमममा अहिले उनको पोर्टफोलियो दुई करोड रुपैयाँ हाराहारी पुगिसकेको छ। अहिलेसम्म खासै घाटा खाएको अनुभव छैन उनीसँग। ‘पछिल्लो पाँच महिना यता हरेक दिन ब्रोकरकहाँ पुगेर सकृय रुपले लगानी गरिरहेको छु’ उनी सुनाउँछन्।
 
झन्डै एक दशक अमेरिका बसेर स्वदेश फर्किएका नायक रमेश उप्रेती साथीहरुसँग ख्याल ठट्टामा शेयर बजार छिर्ने अर्का चलचित्रकर्मीमा पर्छन्। ‘साथीहरुले बैंकमा पैसा राख्नुभन्दा शेयरमा लगानी गर्दा राम्रो हुन्छ भन्ने सुझाए, उनले भने- उनीहरुको लहै लहैमा लगानी गर्न थालियो।’ पछिल्लो समय फिल्ममा व्यस्तता बढेपछि शेयर बजारले समय दिन नभ्याएको उनी बताउँछन्।

डेढ बर्ष अघि बजार प्रवेश गरेका उप्रेतीको शेयर लगानी अहिले ८० लाख रुपैयाँ हाराहारी पुगिसकेको छ। उनले किनेको सबै शेयर अहिलेसम्म ‘होल्ड’ गरेर राखेका छन्।
 

बुद्ध दृष्टि फिल्म कम्पनी मार्फत टेली चलचित्र निर्माण गर्ने कलाकार एवं निर्देशक हुन्- उद्धव भट्टराई। झट्का, कलह, तैँ चुप मैँ चुप जस्ता टेलिचित्र निर्देशन गरेका भट्टराई पछिल्लो समय युट्युबमा सुलसुले नामको छोटो भिडियो बनाएर चर्चामा छन्। तर, अहिले उनको परिचय चलचित्रमा सिमित छैन। 
 
दुई बर्षयता शेयर बजारको सकृय लगानीकर्ताको चिनारी समेत बनाइ सकेका छन् उनले। सुरुमा साधारण शेयर भर्ने गरेका भट्टराई दोस्रो बजारमा प्रवेश गरेयता घाटा खाएका छैनन्। ‘मेरो पहिलो पेशा कलाकारिता र टेलिचलचित्र निर्माण नै हो, उनी भन्छन्- पछिल्लो समय शेयर लगानी साइड बिजनेश हाे  त्यसको कमाइ सन्तोषजनक छ।’
 
उनको लगानी ३०/४० लाख रुपैँया पुगिसकेको छ। अहिलेसम्मको अनुभवले बजारप्रतिको विश्वास बढ्दै गएको र लगानी बढाउनेबारे सोचिरहेको उनले बताए।पर्दामा प्रकाश दाहालको परिचय सहायक खलपात्रको रुपमा स्थापित छ।

बादल, अपराध, ज्वाला, भिस्म प्रतिज्ञा लगायत चलचित्रमा खलपात्रको भूमिका निभाएका दाहाल शेयर लगानीमा भने विस्तारै नायक बन्ने बाटोमा उद्दत छन्। चलचित्रमै पनि उनले कलाकारमा समिति नभइ आफ्नो ‘बिजनेश माइन्ड एक्स्प्लोर’ गरिसकेका छन्। उनको चलचित्रकालागि चाहिने प्राविधिक उपकरण भाडामा दिने बिजनेश छ। 
 

प्राथमिक निस्कासनमा आवेदनबाट शेयर बजारप्रति झुकाव बढाएका दाहाल २०६७ सालमा दोस्रो बजार प्रवेश गरे। बजार लगातार घटिरहेको अवस्थामा लगानी थालेका उनले पछिल्लो ‘बुम’को राम्रै स्वाद लिए। सुरुमा पाँच लाख रुपैयाँ लगानीबाट दोस्रो बजार छिरेका दाहालको पोर्टफोलियो अहिले दुई करोड रुपैयाँ हाराहारी पुगिसकेको छ। 
 
बजारमा रस भिज्दै गएपछि बैंक ऋण समेत लिए उनले। अहिले लगानीको ५० प्रतिशत जति कर्जा रहेको उनले सुनाए। पछिल्लो समय बजारको गिर्दो क्रममा भने आफुलाई घाटा रहेको उनी बताउँछन्। बैंक ब्याज तिर्दै बस्ने र नाफा भएपछि मात्र शेयर बेच्ने उनको रणनीति छ।