काठमाडौं। पहुँच र प्रभावका भरमा निश्चित कम्पनीको शेयर मूल्य ओराल्न वा उठाउन सकिन्छ।
कम्पनीका शेयर मूल्य उचाल्न र पछार्न सहयोग गरिरहेको छ- सन् २००७ अगस्टबाट प्रयोगमा आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सफ्टवेयरले।
नेप्सेको सफ्टवेयरले शून्यले भाग नजाने कित्ताको कारोबारपछि लगानीकर्तालाई आउट गरिदिन्छ।
गुल्मीका सुशील भट्टराईले केही दिनअघि मेगा बैंकको ५०० कित्ता शेयर किन्न ब्रोकरलाई आदेश दिए। साँझ उनको मोवाइलमा एसएमएस आयो- १७ कित्ता मात्र खरिद भयो।
उनले चाहे जति शेयर पाउन सकेनन्। कारण यहि थियो अड्लट कारोबार। भट्टराईलाई मात्रै यो समस्या भएको होइन। प्रत्येक दिन बजार आउने लगानीकर्ताले यस्तो समस्या भोग्नुपर्छ।
कसरी हुन्छ यस्तो?
हरेक दिन कमाउने र गुमाउने कम्पनीलाई क्रमबद्ध रुपमा राखिन्छ। शेयर बजारको भाषामा 'टप गेनर्स' र 'टप लुजर्स'
कहिलेकाँही एकै दिन यस्तो पनि देखिन्छ- कुनैकुनै कम्पनीको शेयर एकै दिन १० प्रतिशतले बढ्छ र १० प्रतिशतले नै झर्छ। यस्तो कारोबारमा अड्लटको भूमिका हुन्छ।
छिटो छिटो कारोबार गरेर थोरै कित्ताले पनि कुनै निश्चित कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म घटाउन वा बढाउन यसको प्रयोग गरिन्छ।
सिनेमा घरमा टिकट लिन जानुभयो भने त्यहाँ लाइन बस्नुपर्छ। त्यहाँ क्रमबद्ध हिसावले पालो आउँछ। पालो अनुसार उपलब्ध भएसम्म टिकट पाइन्छ।
तर शेयरको दोस्रो बजारमा आफ्नो पालोमा आफूले मागेजति नै शेयर भए पनि नपाउन सकिन्छ।
तपाईले कुनै कम्पनीको ५०० कित्ता शेयर ५०० कै दरले किन्न लाइनमा बस्नु भएको छ। अर्को लगानीकर्ता त्यही कम्पनीको १०० कित्ता त्यति नै दरमा किन्न तपाईभन्दा पछाडि बसेको छ।
तपाईलाई चाहेजति शेयर किनाउनु छैन भने ब्रोकरले ५०० को मागमा तपाईलाई ११ कित्ता किनाइदिन्छ। ११ कित्ता अडलट हो अर्थात शून्यले भाग जाँदैन। तपाई अब फेरि लास्टमा गएर लाइनमा बस्नुपर्छ। तर अघि तपाईको ठिक पछाडि १०० कित्ता माग राखेर बसेकोले पूरै शेयर पाउँछ।
दीपशिखा धितोपत्र कारोबार कम्पनीका निर्देशक विष्णु ओझाले धेरैजसो किनबेच संयोगवस हुने गरेकाले त्यसमा नियत देख्न नहुने बताउँछन्। उनले नेपाल इन्भेष्टमेन्ट बैंकको उदाहरण दिँदै भने- कम्पनीको शेयर २६ कित्ताका दरले वितरण भएको थियो। अब त्यो बजारमा आउँदा अडलट हुन्छ। अब त्यसलाई के गर्ने?
अहिले शेयर बजारमा बजार घटाउन र बढाउन अड्लट अस्त्रको रुपमा प्रयोग भैरहेको आरोप लगाउँछन् इन्भेस्टर फोरमका महासचिब बच्चुराम रिमाल। 'विश्वको कुनै पनि देशमा अड्लट पनि कारोबार हुन्छ तर हाम्रोमा आउट गरिन्छ,' उनले भने, 'मैले बुझेको छैन। यसमा केही न केही स्वार्थ छ।'