बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अब अनिवार्य तालिम, बर्षमा तीन प्रतिशत खर्च

बिजमाण्डू
२०७३ पुष २६ गते १३:२७ | Jan 10, 2017

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तीन प्रतिशत रकम खर्च गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कुल कर्मचारी खर्चको तीन प्रतिशत तालिम तथा बृत्ति विकासमा खर्च गर्नु पर्ने व्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचरीको वृत्ति विकासमा खर्च गर्नुअघि सात बर्षको कुल खर्चलाई आधारका रुपमा लिनु पर्छ। तालिममा सबै कर्मचारीहरुलाई समेट्नु पर्छ।

राष्ट्र बैंकले सञ्चालक समिति अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धि कुनै पनि खर्च र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै सभा सम्मेलनमा सहभागी हुँदाको प्रतिनिधि मण्डलको खर्चलाई यसमा राख्न नपाउने स्पष्ट रुपमा भनेको छ।

प्राथमिक बैंकिङ कार्यसँग सम्बन्धित बढिमा तीन महिनासम्मको स्वदेशी वा विदेशी तालिमको खर्च भने यसमा समावेश गर्न पाइने छुट राष्ट्र बैंकले दिएको छ।

तालिम ऐरेगैरे संस्थामा दिन पाइने छैन। तालिम प्रदायक संस्थाको छनौट ख्याती, प्रतिष्ठा र विश्वासनीयताको आधारमा गर्न निर्देशनमा भनिएको छ।

राष्ट्र बैंकले स्वदेशी तालिम तथा गोष्ठीको हकमा राष्ट्रिय स्तरका बैंकिङ तालिम प्रदायक संस्थाहरुले आयोजना गरेका तालिम तथा सेमिनारमा सहभागी हुँदा लाग्ने खर्चलाई पनि समावेश गर्न नपाइने व्यवस्था गरेको छ। बैंक आफैले दिने तालिमको खर्च पनि यसमा समावेश हुँदैन।

राष्ट्र बैंकले नेशनल बैंकिङ इन्ष्टिच्युट, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, राष्ट्र बैंक, नेपाल सरकारले आयोजना गरेको तालिम तथा गोष्ठीमा लाग्ने खर्चलाई कर्मचारी वृत्तिविकास खर्चमा जोड्न पाउने व्यवस्था गरेको छ।

कुनै कारणले तोकिएको रकम खर्च नभएमा अर्को बर्षमा त्यो रकम थप गरेर खर्च गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले सञ्चालकहरुलाई पनि तालिमको व्यवस्था गर्न निर्देशन दिएको छ। सञ्चालक नियुक्त भएपछि एक महिनाभित्र उसलाई संस्थागत सुशासन, ऐन नियमका बारेमा तालिम दिन निर्देशन दिएको हो।