सिन्धुलीमा पहिलोपटक सामुदायिक ‘होमस्टे’ सुरू हुँदै, पहिलो चरणमा ३० घरधुरीमा ‘होमस्टे’

बिजमाण्डू
२०७३ पुष २६ गते १७:२७ | Jan 10, 2017

सिन्धुली। सिन्धुली जिल्लामा पहिलोपटक होमस्टे सञ्चालनमा आउने भएको छ। होमस्टेको पूर्वाधार तयार गर्न समृद्ध सिन्धुली अभियानले सिन्धुली उद्योग वाणिज्य संघ र पर्यटन बोर्डसँग मिलेर स्थानीय बासिन्दालाई तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

सिन्धुलीगढी घुम्न जाने  पर्यटकलाई लक्षित गरि सामुदायिक होमस्टे सञ्चालनगर्न लागिएको हो। समृद्ध सिन्धुली अभियान र सिन्धुली उद्योग वाणिज्य संघको सहकार्यमा पहिलोचरणमा ३० घरधुरीमा होमस्टे सञ्चालन हुनेछन्।
होमस्टे सञ्चालन पूर्वाधार स्थापना लगायतका काम गर्न गोविन्द लुंगेलीको अध्यक्षतामा सिन्धुली गढी होमस्टे ब्यवस्थापन समिति गठन गरिएको छ।
सिन्धुलीगढी वरपरका चिसापानी, रतनचुरा, कालिका, भद्रकाली र तीनकन्या क्लस्टर बनाएर पूर्वाधार तयार गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले बताए।
सिन्धुलीगढी नेपाल अंग्रेज युद्धका बेला गोर्खालीले ब्रिटिस कम्पनीलाई पराजित गरेको ऐतिहाँसिक ठाउँ हो। त्यहाँ हरेक वर्ष कार्तिक २४ गते गोर्खालीकाे जितकाे सम्झनामा बिजयउत्सव मनाउने गरिएको छ।
सिन्धुली जुनार उत्पादनको लागि समेत प्रख्यात रहेकोले होमस्टेकालागि थप आकर्षण हुने सञ्चालकको विश्वास छ।
आउँदो वर्ष गोर्खालीले अंग्रेजलाई हराएको २ सय ५० वर्ष पुग्न लागेको अवसरमा एक वर्षे योजना सहित काम गर्न लागेको समृद्ध सिन्धुली अभियानका अभियन्ता सौरभ ढकालले जानकारी दिए।