नेपालका स्टिभ जब्स जसले राजधानीको आलिसान महल छाडेर मनाङको चिसो माटो समाए

बिजमाण्डू
२०७३ पुष २९ गते १२:१३ | Jan 13, 2017

Tata
GBIME
Nepal Life

स्टिभ जब्सले आफ्नो कम्पनीको नाम एप्पल राखे। सूचना प्रविधिसँग सम्वन्धित कम्पनीले विभिन्न ग्याजेट्स निर्माण गरेर अनुपम सौगात दिए।

एप्पल र उनले निर्माण गरेको वस्तुबीच कुनै तादात्मय छैन। एप्पल स्याउ प्रकृतिमा फल्छ तर उनले निर्माण गर्ने प्रविधि मानवको मस्तिष्क हुँदै अत्याधुनिक प्रयोगशालामा विकास हुन्छ।

यहाँ चर्चा गर्न लागिएको स्याउ स्टिभ जब्स वाला नभर्इ मनाङको भार्तडमा गरिएको वृहत र व्यवसायिक स्याउ खेतीको हो। यो खेतीको प्रणेता हुन पाल्टेन छोपाङ गुरुङ।

पाल्टेन राजधानीका सम्पन्न व्यक्ति हुन्। राजधानी काठमाडौंमा उनले व्यवसायिक सफलता समेत पाएका छन्। पचास वर्षअघि मनाङबाटै काठमाडौं झरेका पाल्टेनको मन रमेन। उनलार्इ मनाङका हिमशिखर चढ्न सजिला लागे तर काठमाडौंका सडक अफ्ठ्यारा।

पाँच दशकमा उनले काठमाडौंमा चार वटा घर जोडे, जग्गा जमिनदेखि धेरै नै व्यवसायिक धागो जोडे तर मन जोड्न सकेनन्। मन नरमाएपछि उनी फर्किए आफ्नै जन्मथलो मनाङ।

मनाङ पुग्नुअघि उनले मनमा कोरे योजना र त्यही योजना कार्यान्वयन गर्न अहिले जुटेका छन्। राजधानीको सुखसुविधा छाडेर अहिले मनाङमा पाल्टेन माटो खेलाउँदैछन्। त्यही माटोबाट स्याउमा आत्मनिर्भर बनाउने योजनामा तल्लिन छन्।

उनले करिब ८ सय रोपनी जग्गामा दुर्इ वर्षअघि इटाली र सर्वियाबाट ६५ हजार स्याउका बोटहरु ल्याए रोपे। उनले रोपेको स्याउ ६ महिनामै फले। उनले यही सिजनमा डेढ लाख  किलो स्याउ बिक्री गर्ने लक्ष्य राखेका छन्। पाल्टेनले अर्को सिजनमा साढे चार लाख हुँदै सन् २०२२ भित्र २२ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छन्।

पाल्टेनले आफुले मात्रै स्याउ खेती गरिररहेका छैनन् स्थानीयलार्इ पनि स्याउ खेती गर्न उत्प्रेरित गरिरहेका छन्। स्याउ खेती गर्दा ज्ञान स्थानीयलार्इ बाँड्दैछन्। राजधानी छाड्दा धेरैले उनलार्इ गाली गरेका थिए।
 
धैरैले मलार्इ एक्लो वृहस्पति बन्ने काम नगर भनेर सम्झाए। केही साथीले दुस्साहसपूर्ण काम गरेर के पाउँछससमेत भन्न भ्याए। तर अहिले उनै साथीहरुले स्याउ खेती देखेर स्याबासी दिइरहेको उनले बताए।

पाँच वर्षको गहन अध्ययन र परिश्रमपछि पदयात्रामा आएका सबैलार्इ पाल्टेनले आफ्नो स्याउ खेती भ्रमण गर्न निम्तो दिन्छन्। उनको खेतीले मनाङलार्इ थप मनमोहक बनाएको छ।

पाल्टेनको दुस्साहसी निर्णयले मनाङको विशेषता थपिएको छ र विदेशीको समेत प्रशंशाले उनी दङ छन्। उनको खेती देखेर स्थानीयले समेत स्याउ खेती गर्न थालेका छन्। तर पाल्टेन यसमा मात्रै रोकिएका छैनन, अहिले उन शीतभण्डार निर्माणमा लागेका छन्।

गला, फजी र गोल्डेन जातको स्याउ उत्पादन गरिरहेका उनले केही दशकभित्रै मनाङले नेपालको आधा माग धान्ने महत्वाकांक्षी योजना समेत सुनाउँछन्।

उनले काठमाडौं र लमजुङमा मझौंला शीतभण्डार निर्माणसँगै एप्पल ब्राण्ड राखेर स्याउ बिक्री थालिसकेका छन्। पाल्टेन कृषि पेशा दुखी होइन यान्त्रिकरणमार्फत सुखी पेशामा बदल्न सकिने बताउँछन्। त्यसैले उनले यान्त्रिकरणमा धेरै ध्यान दिएका छन्।

स्याउ फार्मका दुबैपट्टी अजंग पहाड र छेबैमा बगिरहेको मर्स्याङदीसँगै पाल्टेनको सपना साकार हुँदैछ। पाल्टेनको सपनाले देश स्याउमा आत्मनिर्भर बन्ने सपना पनि पूरा हुँदैछ।

एक हजार रुपैयाँ तिरेर विदेशबाट ल्याएको विरुवा जसले २५ वर्षसम्म फल दिन्छ त्यही स्याउ सपनामा उनी मनाङको चिसो माटो खेलाइरहेका छन् र रमाइरहेका छन्।

राजधानीको पचास वर्षे यात्राभन्दा रमार्इलो यात्रामा पाल्टेन सपना अघि बढेको छ। पाल्टेनजस्तै हरेकले यस्तै सपना राखे देशको कायाकल्प बन्न समय लाग्दैन र खाडीको मरुभूमीमा श्रम गर्नुपर्दैन्।

(शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्)