क्यान इन्फोटेक माघ १३ देखि, टेलिकमको फोरजी मुख्य आकर्षण रहने, प्रवेश शुल्क १०० रुपैयाँ

बिजमाण्डू
२०७३ पुष २९ गते १३:५४ | Jan 13, 2017
क्यान इन्फोटेक माघ १३ देखि, टेलिकमको फोरजी मुख्य आकर्षण रहने, प्रवेश शुल्क १०० रुपैयाँ


काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ। विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २३औं संस्करण हो।
 
मेलाको प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने तथा ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टलहरु रहने क्यानले जनाएको छ।

Tata
GBIME
Nepal Life

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई .टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शतप्रतिशत स्टल बुकिङ्ग भईसकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको क्यान महासंघले जनाएको छ।

गत वर्षको क्यान ईन्फोटेकमा तीन लाख ६३ हजार चार सय ५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक चार लाखभन्दा बढी अवलोकन कर्ताहरु आउने क्यानले जनाएको छ। मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क एकसय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।

माघ १६ गते आईतबारको दिनलाई विजनेस डे को रुपमा घोषणा गरिएको छ । मेलामा नेपाल टेलिकमले नयाँ प्रविधिको फोरजी मुख्य आकर्षणका रुपमा प्रदर्शनीमा राख्ने जनाइएको छ।