राष्ट्र बैंकले गर्यो बैंक वित्तीय संस्थाको खराव ऋण वढ्ने संकेत, शोधनान्तर पनि घाटामा जानसक्ने

बिजमाण्डू
२०७३ माघ ३ गते १६:५२ | Jan 16, 2017

काठमाडौं। नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढ्दै गएको बैंक ऋणले खराव कर्जा बृद्धि भएर वित्तीय क्षेत्र अप्ठेरोमा पर्न सक्ने संकेत गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै विवेकशील तथा सावधानीपूर्ण तरिकाले ऋण लगानी नगरे ठूलो समस्या आउने संकेत गरेको हो।

अहिले बैंकहरुले अप्राकृतिक तरिकाले खराव कर्जा न्यून देखाएको संकेत गर्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा वढेको जनाएको छ। बैंकहरुले २ प्रतिशत मात्र खराव कर्जा देखाएर ढाँट्न खोजेको संकेत गर्दै वास्तविक खराव कर्जा 'बुक' मा देखिएका दिन ठूलो समस्या आउने चेतावनीसमेत दिएको छ।

बैंकहरुले खराव कर्जा कम देखाएर नोक्शानी व्यवस्थापनबाट जोगिन खोजेको र उच्च नाफा गरेर वाँड्नतिर केन्द्रित भएको जनाउन राष्ट्र बैंकले मंसिरसम्मको विवरणमा दिएको छ। राष्ट्र बैंकले अहिले कायम रहेको स्थायित्व भविस्यमा कायम रहन नसक्ने संसय प्रकट गर्दै यसलाई 'चुनौती पूर्ण' भनेको छ।

बैंकहरुले निजी क्षेत्रमा दिने कर्जा ३०.४ प्रतिशतले बढेको र त्यो अनुत्पादक क्षेत्रतर्फ वढि गएको पनि संकेत गरेको छ। 'ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा र सेयर धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा वढ्नु चासोको बिषय हो' प्रतिवेदनमा उल्लेख छ, 'यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानु पर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्छ।'

यसअघि राष्ट्र बैंकले सर्वसाधारणसम्म पुग्ने आफ्ना प्रतिवेदनहरुमा बैंक तथा वित्तीय संस्थाको बारेमा खुलेर टिप्पणी गर्दैन थियो। उसले पहिलो पटक मासिक प्रतिवेदनमा बैक लगानीमा टिप्पणी गरेको हो।
राष्ट्र  बैंकले उच्च दरमा बृद्धि भइरहेको आयातले देश शोधानन्तर घाटामा जान सक्नेसमेत संकेत गरेको छ। राष्ट्र बैंकले उच्च आयातमा चिन्ता जनाएको छ।

'आयातमा भइरहेको उच्च बृद्धिले शोधनान्तर बचतमा चाप पर्ने देखिएको छ' राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

गत बर्ष मंसिरमा १४९ अर्ब १३ करोड रुपैयाँ उच्च बचतमा रहेको चालु खाता अहिले जम्मा तीन अर्ब ४९ करोड रुपैयाँ मात्र बचतमा छ। १२८ अर्ब ११ करोड रुपैयाँको शोधनान्तर बचत २८ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ।

आयात ७८.९ प्रतिशतले बढेर पाँच महिनामै ३८२ अर्ब ६४ करोड रुफैयाँ पुगेको छ। अघिल्लो बर्ष आयात ३२ प्रतिशतले झरेको थियो। विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिटेन्स र वैदेशिक सहायता परिचालनबाट शोधनान्तर बचत हुनसक्ने अनुमान राष्ट्र बैंकको छ।

मंसिरसम्म रेमिटेन्स ६ प्रतिशतले बढेर २८७ अर्ब ६६ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो बर्षको बृद्धि दर १९.४ प्रतिशत थियो।