चीनमा फेरि अर्को ‘फुड-स्क्यान्डल’, ४० बर्ष पुरानो मासु बेचेको घटना नसेलाउँदै नक्कली मसला आयो

बिजमाण्डू
२०७३ माघ ४ गते १५:३० | Jan 17, 2017
चीनमा फेरि अर्को ‘फुड-स्क्यान्डल’, ४० बर्ष पुरानो मासु बेचेको घटना नसेलाउँदै नक्कली मसला आयो


चीन। चीनमा पटक पटक  नक्कली खाद्यपदार्थको उत्पादनले स्क्यान्डल मच्चाउने गरेको छ। कहिले नक्कली पाउडर त कहिले  दूध अनि कहिले चालीस वर्ष पुरानो मासुको रिप्याकेजिङले स्क्यान्डल मच्चाइरहेको हुन्छ।
 
पटक पटकका यस्ता घटनाहरु भइरहँदा सरकारको टाउको दुखाइको विषय बनेको छ।
 
फेरि एकपटक यस्तै तथ्य फेला परेपछि सरकारी अधिकारीहरू अनुसन्धानमा लागेका छन्।

Tata
GBIME
Nepal Life

टप मल्टिनेशनल ब्राण्डहरूको नाममा लेबलिङ गर्दै नक्कली मसला तथा ससहरू उत्पादन गरेको आशंकामा  चीनको तियान्जिन शहरका ५० वटा साना उद्योगहरूमाथि अनुसन्धान सुरू भएको छ।

'बेइजिङ न्यूज' ले  तियान्जिनमा रहेका नक्कली खाद्यान्न उत्पादक कम्पनीहरू बारे समाचार सार्वजनिक गरेलगत्तै सरकारी अधिकारीहरू अनुसन्धानमा सक्रिय भएका हुन्।  चीनको खाद्यान्न तथा औषधि सम्बन्धि उच्च निकायले विज्ञप्ति निकाली अनुसन्धानका लागि तियान्जिनतर्फ अधिकारीहरू पठाएको पुष्टि गरेको छ।

म्यागी, नोर र नेस्ले ब्राण्डमा ती उद्योगहरूले अखाद्य वस्तुहरू प्रयोग गरि  मसला तथा ससहरू बनाइरहेको पाइएको विविसीको अनलाइन संस्करणमा उल्लेख छ।
 
यी उद्योगहरूले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने नुन प्रयोग गरिरहेको र नक्कली चिनी पनि प्रयोग गरेको पाइएको छ। सस र भिनेगरहरूमा पनि अखाद्य वस्तुहरूको प्रयोग भैरहेको र ती वस्तुहरू मानव स्वास्थ्यका लागि धेरै नै हानिकारक रहेको बताइएको छ।

सस, भिनेगर, चिकेन स्टक  तथा मसलाहरू चिनियाँ र एसियाली खानामा सिजनिङका लागि लोकप्रिय छन् । यसको प्रयोग पनि निकै हुने गरेकाले नक्कली मसलाहरूको उत्पादन भैरहेको समाचारले चिन्ता बढाएको हो।

मानिसहरूका बस्तीबीच रहेका  झण्डै ५० उद्योगहरूले वार्षिक १४ करोड ५० लाख अमेरिकी डलर बराबको कारोबार गरिरहेका छन्।

बेइजिङ न्यूजले सावर्जनिक गरेको समाचारमा दश वर्ष अघिदेखि नै सञ्चालनमा रहेका यी उद्योगहरूबाट अखाद्य वस्तुहरुको प्रयोग गरी मसला उत्पादन भइरहेको उल्लेख छ।
 
फोहोर ठाँउमा प्लास्टिकका ड्रम र पाइपहरूको प्रयोग गरी यस्ता खानेकुराको उत्पादन हुने गरेको छ। यस्ता मसलाहरू बनाउन प्रयोग भैरहेको नुन मानव स्वास्थयका लागि हानिकारक मानिएका छन्। यी उद्योगहरुले अन्य उत्पादनलाई समेत ल्याएर रिसाइकल गरी खाद्यान्नमा प्रयोग गरेको पाइएको छ।

नेस्ले चाइनाले पनि आफ्नो ब्राण्डको प्रयोग गरि नक्कली उत्पादन भइरहेको घटना संवेदनशील भएको भन्दै अनुसन्धान अघि वढाउने जनाएको छ। यस्तै चिनियाँ ब्राण्ड टोटोले र डोङ्गुका पनि नक्कली उत्पादन बाहिर आएकोमा ती कम्पनीहरूले पनि अनुसनधान अघि बढाउने जनाएका छन्।

मानिसहरू विषाक्त र अखाद्य वस्तुको प्रयोगका लागि बाध्य भैरहेका यस्ता घटनाको नतिजा चाँडै सार्वजनिक गरिने सरकारी उच्च निकायले जनाएको छ।

यसअघि सन् २००८ मा नक्कली पाउडर दुधको उत्पादन भएको थियो। यसको प्रयोगले ६ बालबालिकाको ज्यान गएको थियो भने ३ लाख बालबालिका विरामी परेका थिए।

सन् २०१४ मा सांघाइ हुसी फुड कम्पनीले पुराने मासुको रिप्याकेजिङ गरेर बेचेको पाइएको थियो। यो कम्पनीले म्याकडोनाल्ड र केएफसीलाई मासु सप्लाइ गर्ने गरेको थियो। लगत्तै अर्को वर्ष अधिकारीहरूले एक लाख टन पुरानो मासु फेला पारेका थिए जुन मासुहरू ४० वर्षसम्म पुरानो पाइएको थियो।

गएको महिना मात्रै चीनका संचारमाध्यमहरूले उत्तरपश्चिमी शहर सान्झीमा च्याउलार्इ  ताजा र सेतो देखाउन हानीकारक केमिकलको प्रयोग भएको समाचार वाहिर ल्याएका थिए। चीनमा यस्ता नक्कली उत्पादन गरेको पुष्टि भएमा  हदैसम्म कारवाही गर्ने  गरिएको छ।