कुलमानले राजधानीमा लोडसेडिङ हटाएपछि वर्षोदेखि जाडोयाममा हुने ग्यास अभावको अन्त्य

बिजमाण्डू
२०७३ माघ ५ गते ११:०२ | Jan 18, 2017
कुलमानले राजधानीमा लोडसेडिङ हटाएपछि वर्षोदेखि जाडोयाममा हुने ग्यास अभावको अन्त्य
काठमाडौं। पछिल्लो केही वर्षदेखि उपभोक्ताले जाडोमा सहज रुपमा ग्यास पाएनन्। जाडो लाग्नेवित्तिकै ग्यासको माग बढ्ने तर आपूर्ति नबढ्दा अभावको सास्ती खेप्नुपरिरह्यो।

Tata
GBIME
Nepal Life

तर यो वर्ष उपभोक्ताले जाडोमा ग्यास अभाव खेप्नुपरेन। सहज रुपमा ग्यास पाए। यो वर्ष ग्यास अभाव किन भएन?उपभोक्ता भन्छन्, यो वर्ष राजधानीमा लोडसेडिङ भएन। जाडोमा पानी तताउनेदेखि खाना पकाउनेसम्म विजुलीबाटै गर्न सकियो। कीर्तिपुरकी शान्ति गुरुङ भन्छिन्,विजुली आएपछि ग्यासको प्रयोगनै कम भएको छ।

जाडोमा ग्यास किन्नेतिर ध्यानै दिनुपरेको छैन। नेपाल आयल निगमको तथ्यांक हेर्ने हो भने यो जाडोमा ग्यासको खपत अत्यन्तै कम छ। गर्मी बेलामा जस्तै खपत हुनुको एउटै कारण हो विजुली। जाडोयाममा ग्यासको माग ४० हजार टनको हाराहारी हो तर यो वर्ष जाडोयाममा ग्यासको माग ३० हजार टन मात्रै छ।

निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार डिसेम्बर महिनामा ३० हजार टन ग्यास आयात भयो। जनवरी महिनामा पनि त्यतिकै हाराहारीमा ग्यास आउँदैछ। ग्यास बिक्रेता महासंघ नेपालका अनुसार जाडोयाममा ग्यासको माग यो वर्ष सामान्य समयको जस्तै छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार यो वर्षको जाडोमा विजुली निरन्तर आएकोले ग्यासको माग बढेन्।
 

जाडो सुरु भएपछि पानी तताउन र हिटरमा प्रयोग गर्न मासिक करिब १० हजार टन ग्यास बढी खपत हुन्थ्यो। 'जाडोयाममा मासिक ४० हजार टन ग्यासको माग हुने गरेकोमा अहिले ३० हजार ल्याउँदा पनि छेलोखेलो भएको छ, उनले भने।

महासंघका अध्यक्ष अर्यालले कुलमान घिसिङ आएर विजुली दिएपछि ग्यासको खपत घटेको बताए। उनका अनुसार देशभरी लोडसेडिङ हटेमा ग्यासको माग अझै घट्नेछ।