जंगबहादुरका छोरीज्वाइँको दरबार भएको कोठीडाँडालाई पर्यटकीयस्थल बनाइने

रासस
२०७३ माघ ५ गते ११:१३ | Jan 18, 2017
इलाम। इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन्।
 

जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन्। समुद्र सतहदेखि एक हजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन्।
 
माइपोखरी गाविसले दिएको रु ५० हजारमा स्थानीयले आफ्नै गोजीबाट रु एक लाख ५० हजार सङ्कलन गरी डाँडामा बाटो पुर्‍याएका छन्। डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका छन्, जसको माध्यमबाट डाँडा वरिपरि घुमेर इलाम जिल्लाको आधाभन्दा बढी रमणीय भू–भाग दृश्यावलोकन गर्न सकिन्छ।
 
चियाले ढाकिएको यो डाँडामा पार्क, चिल्ड्रेन पार्क निर्माण गर्दै घुम्न र वनभोज खान आउने पर्यटकका लागि आकर्षक थलो बनाउन लागिएको सरोकार समितिका अध्यक्ष गृष्म सुब्बाले बताए। यसका लागि गुरुयोजना बनाउने काम भइरहेको छ।
 
वातावरणलाई समेत ध्यानमा राखेर प्राकृतिक रूपमा रमाउन चाहनेको रोजाइ कोठीडाँडा बन्न सकोस् भन्ने उद्देश्यले काम सुरू गरिएको स्थानीय कमल मुखिया बताउँछन्।
 
स्थानीय जनजीवन र संस्कृति झल्कने प्रतिमा स्थापना गर्ने र लोप भएर गएको रोटेपिङ बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष सुब्बाले बताए। 'स्थानीय स्रोत साधन उपयोग गरेर यसलाई हामी सुन्दर बनाउने योजनामा छौँ”, अध्यक्ष सुब्बाले भने, 'दातृ निकाय र सरकारलाई हारगुहार गरेर हामी कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन लागिपरेका छौँ।'
 
पर्यटन विकासका लागि कोठीडाँडाका जग्गाधनीले समेत मञ्जुरी दिइसकेकाले यसलाई आवश्यकता अनुसार सुन्दर बनाउन कुनै समस्या नहुने पनि समितिले जनाएको छ।
 
१९२० सालमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यो ठाउँ मन पराएर कोठी बनाएर केही समय बसेकाले यसलाई कोठीडाँडा समेत भन्ने गरिएको छ। जङ्गबहादुर राणाका छोरी–ज्वाइँको दरबार भएकाले पनि कोठीडाँडाको ऐतिहासिक महत्व रहेको जस्विरेका पूर्व शिक्षक सूर्य सुब्बा बताउँछन्। यसको ऐतिहासिकतासँगै जोडेर आकर्षक थलोको रूपमा विकास गर्न स्थानीय जुटेको पनि उनले बताए।
 
कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटिरहेका बेला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले स्थलगत निरीक्षण गरेर यो डाँडालाई पर्यटकीयस्थल बनाउन आफू पनि सकारात्मक रहेको बताए। डाँडाको अवलोकनपछि उहाँले यहाँबाट देखिने मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने भएकाले यसको पर्यटकीय सम्भावना रहेको उनको बुझाइ छ।
 
स्थानीय पर्यटन सरोकार समितिले निर्देशक द्यौरालीलाई डाँडाको पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका छन्। कोठीडाँडा जिल्लाको सबैभन्दा बढी भू–भाग दृष्यावलोकनका लागि सबैभन्दा सहज र उत्तम थलो भएको बरबोटे गाविसका पूर्वउपाध्यक्ष गङ्गा भूर्तेलले बताए।

Tata
GBIME
Nepal Life