दुर्इ वर्ष लगाएर संचय कोषले काठमाडौं मलमा नयाँ भाडावालसँग सम्झौंता, पूरानोसँग ८ करोड बाँकी

बिजमाण्डू
२०७३ माघ ६ गते १८:०२ | Jan 19, 2017
दुर्इ वर्ष लगाएर  संचय कोषले काठमाडौं मलमा नयाँ भाडावालसँग सम्झौंता, पूरानोसँग ८ करोड बाँकी
काठमाडौं । दुर्इ वर्षको प्रयासपछि कर्मचारी संचय कोषले सुन्धारास्थित काठमाडौं मल नयाँ व्यक्तिलार्इ भाडामा दिन सफल भएको छ।
 

कोषले निर्माण गरेको यो मल लिजमा लिएका ललितपुर सानेपाका प्रवीरशम्सेर जबराले समयमै भाडा चुक्ता नगरेपछि विवादका कारण संचय कोषले नोक्सानी ब्योर्होनुपरेको थियो। कोषले नयाँ टेण्डरपछि मलको पूरै संरचना भाडामा दिएको हो।
 
पूरानो भाडावाल प्रवीर राणाले भाडा नतिरेपछि कर्मचारी संचय कोषले यसरी सूचना जारी गरेको थियो।

Tata
GBIME
Nepal Life

भक्तपुर तौलाछेँका शिवलक्ष्मी कोजूले १५ वर्षका लागि मल भाडामा लिएका छन्। उनले मासिक २ करोड ७१ लाख रुपैयाँ कोषलार्इ भाडा बुझाउन सहमत भएका छन्। कोष र कोजूबीच मल भाडामा लिने बारेमा सम्झौंता भएको छ। सम्झौंतामा कोषका प्रशासक कृष्णप्रसाद आचार्य र भाडावाल कोजूले हस्ताक्षर गरेका छन्।

सम्झौंतामा प्रत्येक दुर्इ वर्षमा भाडा दश प्रतिशतले वृद्धि हुने उल्लेख छ। कोषले पहिला सम्झौंता भएको राणासँगको भाडा सम्झौंता तोड्दै गत वर्षको फागुनमा टेण्डर आब्हान गरेको थियो। नयाँ टेण्डर गरेपछि पहिलाका भाडावाल राणा अदालत समेत गएका थिए। तर अदालतमा आर्विटेरसमक्षसँग कागजात पेश गर्न नसकेपछि कोषको पक्षमा फैसला भएको थियो।

प्रमुख प्रशासक आचार्यका अनुसार राणाले भाडा तिरेपनि जरीवाना लगायतको आठ करोड रुपैयाँ भने तिर्न बाँकी छ। उनले तिर्न बाँकी भएको रकम असुल्न कोषले जिल्ला अदालत पाटनमा मुद्धा दायर गरेको जानकारी दिए।

राणाले समेत आफुले लिफ्ट लगायतको पूर्वाधार थपेको भन्दै १२ करोड रुपैयाँ पाउनुपर्ने भन्दै मुद्धामा गएका छन्। कोष र राणाबीच रकम असुल्ने बारेको विवाद नसल्टिएपनि मल भाडामा लगाउन भने कोष सफल भएको छ।

 
राणाले संचय कोषलाई तिर्नुपर्ने बक्यौता रकम समयमै भुक्तानी नगरेको भन्दै संचय कोषले उनीसँग २०६२ भदौ १ गते गरेको करारनामा भंग गर्दै कारबाही प्रकृया अघि बढाएको थियो।
 
राणाले धरौटी बापत राखेको बैंक ग्यारेन्टीबाट बक्यौता असुल गर्दासमेत बाँकी भाडा नउठेको र पटक पटक ताकेता गर्दा पनि बाँकी बक्यौता तिरेका थिएनन्। सम्झौता बमोजिम एक वर्षको अग्रिम भाडा वा बैंक ग्यारेन्टी पेश नगरेकाले करार भंग गरी सपिङ मल खाली गराउने प्रकृया अघि बढाइएको थियो। कोषले राणाले बैंक ग्यारेन्टी बापतको १९ करोड ५६ लाख ९९ हजार नौसय ९९ रुपैयाँ आफ्नो बनाइसकेको थियो। 
 
राणाले कसरी लिएका थिए मल भाडामा ?
राणाले संचय कोषका तत्कालीन प्रशासक शशी विक्रम राणाको कार्यकालमा २०६२ साल भदौ १ गते १५ वर्षका लागि काठमाडौं मल भवन लिजमा लिएका थिए।

उनले त्यतिबेला लिलाम बडाबडमा मासिक ६४ लाख ४४ हजार चारसय ४४ रुपैयाँ भाडा एकमुष्ट बुझाउने सर्तमा मल लिएका थिए। त्यो बढेर मासिक भाडा ७४ लाख पुगिसकेको थियो।

 
संचय कोषको मल भाडामा लिएपछि उनले लिफ्ट जडान तथा पानीलगायतका सामग्रीको व्यवस्था गरेको भन्दै आफ्नो १२ करोड रुपैयाँ खर्च भएकाले कोषले उक्त रकम दिनुपर्ने दावी गर्दै आएका थिए।

तर संचय कोषले भने उक्त रकम दिने विषय करार सम्झौतामा उल्लेख नभएकाले आफूले दिनु नपर्ने दावी गर्दै आएको थियो। काठमाडौं मलमा तीनसय पसल तथा अरु व्यवसाय संचालनमा छन्।