एडिबीसँगको नेपाल साझेदारीका पचास वर्ष पूरा, पचास वर्षमा एडिबी साझेदारीको प्रभाव तस्विरमा

रासस
२०७३ माघ ६ गते २०:४८ | Jan 19, 2017
काठमाडौँ। नेपालको विकास प्रयासमा एसियाली विकास बैंक (एडिबी)सँगको ५० वर्षको साझेदारी र त्यसको प्रभावबारेका विषय सय वटा तस्बिरमा उतारिएको छ । 
 
नेपालको भौतिक पूर्वाधार विकासका साथै सामाजिक–आर्थिक उन्नयनका क्षेत्रमा प्राप्त उपलब्धिलाई ‘समृद्ध नेपालतिर: एडिबी नेपाल साझेदारीका पचास वर्ष’ शीर्षकमा अर्थ मन्त्रालय र एडिबीले तयार पारेका तस्बिरको प्रदर्शनी सुरु भएको छ ।  नेपाल कलापरिषद् बबरमहलमा यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र एडिबीका यहाँस्थित देशीय निर्देशक केनिची योकोयामाले आज संयुक्त रुपमा शुभारम्भ गरे।
 
त्यस अवसरमा सचिव सुवेदीले प्रदर्शनीमा नेपालको विकासको साझेदार एडिबीले गरेका सामाजिक–आर्थिक योगदान चित्रित भएको बताउँदै त्यसले नेपाल सरकार र एडिबीबीचको सुदृढ सम्बन्ध उजागर गरेको बताए।
 
देशीय निर्देशक योकोयामाले नेपालको विकासका आवश्यकतालाई प्रदर्शनीमा प्रस्तुत तस्बिरले देखाएको बताउँदै भौतिक पूर्वाधार निर्माण, यातायात, ऊर्जा, कृषिको रुपान्तरण र मानव पूँजीको विकासजस्ता नेपालका विकासका आवश्यकतामा सघाउन सरकारसँग निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे । 
 

Tata
GBIME
Nepal Life