वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा शतप्रतिशत बढ्यो, ६ महिनाको नाफा साढे पाँच करोड, तीन शाखा थपिँदै

बिजमाण्डू
२०७३ माघ ७ गते १३:३३ | Jan 20, 2017

काठमाडाैं। दाङमा केन्द्रिय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंकले ६ महिनामा पाँच करोडभन्दा बढी नाफा गरेको जनाएको छ । बैंकले यस आर्थिक वर्षको ६ महिनामा ५ करोड ४२ लाख ४७ हजार रुपैँया नाफा गरेको हो ।

Tata
GBIME
Nepal Life

यो रकम गत आर्थिक वर्षको यहि समयको नाफा रकमभन्दा एकसय नौ प्रतिशत बढी भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै बैंकले खुद मुनाफा  २ करोड ६४ लाख ५८ हजार रुपैँया कमाएको छ । यो खुद मुनाफा गत वर्षको भन्दा ९३.४३ प्रतिशतले बढी हो ।

बैंकको निक्षेप पनि गत वर्षको भन्दा बढेको छ । निक्षेप २३.८८ प्रतिशत बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैँया पुगेको छ । यस्तै बैंकले कर्जा लगानी पनि गत वर्षको भन्दा ४८.७६ प्रतिशत बढाएको छ ।  बिज्ञप्ति अनुसार बैंकले यस आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७३ करोड ८१ लाख रुपैँया कर्जा प्रवाह गरेको छ।

बैंकको दाङ, बाँके र कपिलबस्तुमा १३ शाखाहरु संचालनमा छन् । साथै बैंकले बाँकेकै समशेरगंज, सम्झनाबजार र खजुराबजारमा थप ३ वटा नयाँ शाखाहरु संचालन गर्ने तयारी गरेको समेत जानकारी दिएको छ ।