६ महिनामा गत वर्षभन्दा बढी साना सवारी भित्रिए, अर्थ र राष्ट्र बैंकले थाले निगरानी!

बिजमाण्डू
२०७३ माघ ७ गते १६:३२ | Jan 20, 2017
काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा साना सवारी साधनको आयात अस्वभाविक रुपमा बढेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखिनै साना सवारी साधनको आयात निरन्तर रुपमा बढिरहेको छ। 

Tata
GBIME
Nepal Life


यो अवधिमा १० अर्ब ४० करोड रुपैयाँ बराबरको साना सवारी साधन भित्रिएको छ। भन्सार विभागका अनुसार यो अवधिमा १३ हजार पाँचसय ४७ वटा कार, जिप र भ्यानहरु आयात भएका छन्। यो गत वर्षभरीको भन्दा बढी हो।

गत वर्षभरी १२ हजार ३ सय ३२ वटा साना सवारी आयात भएको थियो।  कार,जीप र भ्यान साना सवारी साधनमा पर्छ। साना सवारी साधनको आयात अस्वभाविक रुपमा बढेपछि अर्थमन्त्रालय र राष्ट्र बैंकले 'सुक्ष्म' निगरानीमा राखेको छ।

अर्थमन्त्रालय तत्कालै केही कदम चाल्ने भन्दा 'पर्ख र हेर'को रणनीतिमा छ। राजस्व सचिव राजन खनालले तरलता अभाव र बैंकको लगानीलार्इ सुक्ष्म रुपमा हेरिरहेको बताउँदै ऋण प्रवाह भएको क्षेत्रमा समेत निगरानी सुरु गर्ने चेतावनी दिएका थिए।
 

राष्ट्र बैंकले पाँच महिनाको मुलुकको आर्थिक अवस्था बारेको प्रतिवेदनमा समेत सवारी साधन लगायत क्षेत्रमा लगानी बढिरहेको भन्दै शोधानान्तर घाटामा जानसक्ने जोखिम औंल्याएको थियो।अर्थमन्त्रालय,राष्ट्र बैंक र वाणिज्य मन्त्रालयबीच साना सवारी साधनको बढ्दो आयात नियन्त्रणको उपाय बारेमा प्रारम्भिक चरणको छलफल भएको छ।
 
तर सवारी साधन आयातमा नियन्त्रण गर्ने उपायका बारेमा भने कुनै टुंगोमा पुग्न नसकेको अर्थमन्त्रालय स्रोतले बतायो। अर्थसचिव शान्तराज सुवेदीले साना सवारी साधनको आयात बढेपनि परिमाणात्मक बन्देज र राजस्व वृद्धिको दुबै विकल्प तत्कालै लगाउन नसकिने बताए।

सवारी साधनमा लाग्दै आएको राजस्व धेरै छ। निजी प्रयोजनका सवारी साधनमा २ सय ४० प्रतिशतसम्म राजस्व लाग्छ। बैंक तथा वित्तिय संस्थाको सस्तो ब्याज, शेयर र जग्गाको मुनाफासँगै साना सवारी साधनको बिक्री बढेको हो।
 

६ महिनाको अवधीमा १० अर्ब ४० करोड रुपैयाँ मूल्य बरावरको १३ हजार पाँचसय ४७ वटा कार, जिप र भ्यानहरु आयात भएका छन् ।गत साउनदेखि पुस मसान्तसम्म विदेशवाट कुल ४६ अर्ब ६० करोड रुपैयाँ बराबरका सवारी साधन र सवारीका पाटपुर्जा आयात भएका छन्। गत बर्ष भूकम्प र नाकावन्दीले केहिमात्रामा असर गरेको यो क्षेत्रमा अहिले सवारीसाधन आयातमा बाढी आएको हो। 

 

चालु आवको ६ महिनामा ६ अर्ब ५० करोड बरावरका २८ हजार तीनसय २९ वटा ट्याक्टर आयात भएका छन्। यो अवधिमा १२ अर्ब ६५ करोड रुपैयाँ मूल्य बरावरको सातसय ४५ वटा  बस, मिनिवस र माइक्रोवसको समेत आयात भएको छ ।

विभागका अनुसार सामान बोक्ने सवारी ट्रक, मिनी ट्रक र पिकअप ६ अर्ब ५१ करोड रुपैयाँ मूल्य बरावरको सात हजार दुईसय ८७ वटा आयात भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा एकलाख ४२ हजार एक सय ६६ वटा मोटरसाइकलको आयात भएको भन्सार विभागले जनाएको छ। १० अर्ब ७ करोड रुपैयाँ मूल्य बरावरको मोटरसाइकल आयात भएको थियो।