काठमाडौँ । तिब्र उतार पछि न्युन बृद्धि सहित आइतबार शेयर बजार बन्द भएको छ। नेप्से परिसूचक ३.२८ अंकले बृद्धि भइ १४६५.८४ अंकमा पुगेको हो।
१४६२ अंकमा खुलेको बजार सवा १२ बजेसम्ममा १४६८ अंकमा पुगेको थियो। बजार त्यसमाथि जान सकेन। तिब्र उतार चढाव भने जारी रह्यो।
शेयर बजार हरियो रंगमा बन्द भए पनि कारोबार रकमले ३० करोड रुपैयाँ समेत छुन सकेन। १३२ कम्पनीको २९ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
कारोबार रकममा आएको कमीले लगानीकर्तामा बजारप्रति उत्साह भने नरहेको देखाएको छ।
आइतबार बैंक, होटल, बीमा, उत्पादनमूलक र अन्य कम्पनी उपसूचक केहि मात्रामा बढेका हुन्। सबै भन्दा धेरै अन्य कम्पनी उपसूचक १.६१ प्रतिशतले बृद्धि भएको छ।
सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९.९९ प्रतिशत आर्जन गरेका छन्। सर्वाधिक शेयरमूल्य घटेको ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात प्रतिशत भन्दा धेरै गुमाए।