अमेरिकी बजारमा नोकिया लुमियाको मूल्य आधा घट्यो, छिट्टै अरु देशमा पनि घट्ने

बिजमाण्डू
२०६९ साउन ३ गते ००:०० | Jul 18, 2012
अमेरिकी बजारमा नोकिया लुमियाको मूल्य आधा घट्यो, छिट्टै अरु देशमा पनि घट्ने


न्युयोर्क । नोकियाले अमेरिकामा सबैभन्दा बढी महत्व दिएको स्मार्टफोन लुमिया ९०० को मूल्य आधा घटाएको छ ।  अप्रिलबाट बिक्री सुरु गरिएको यो स्मार्टफोनको व्यापार राम्रो नभएपछि बजार पुर्नस्थापित गर्न  नोकियाले यो फोनको मूल्य घटाएको हो । अमेरिकामा लुमियाको मूल्य ९९ अमेरिकी डलरबाट घटाएर ४९ डलर ९९ सेन्टमा कम्पनीले झारेको छ । कम्पनीले अमेरिकापछि अन्य देशमा पनि मूल्य घटाउँदै लैजाने जानकारी दिएको छ ।
सामसङ र एप्पलले स्मार्टफोनमा लिएको बजार हिस्सा खोस्नका लागि नोकियाले यो रणनीति लिएको विश्लेषकले बताएका छन् । लुमिया नोकियाको सबैभन्दा महत्वाकांक्षी उत्पादन थियो । तर जब यो फोन बजारमा आयो यसको सफ्टवेयरमा समस्या देखियो ।
यही सफ्टवेयरमा आएको समस्याले अमेरिकामा फोनको डाटा कनेक्सन धेरैजसो विच्छेद हुने गर्छ । यो फोनमा माइक्रोसफ्ट विन्डो अपरेटिङ सिस्टम चलाउन नपाइएपछि अमेरिकामा यसको आर्कषण घटेको थियो भने व्यापार चौपट भएको थियो । नोकियाले अब आउने लुमियाको नयाँ भर्सनमा यो सिस्टम राख्ने जानकारी दिएको छ ।
नोकिया सन् १९९८ देखि २०११ सम्म सबैभन्दा बढी मोबाइल फोन बिक्री गर्ने कम्पनीमा थियो । तर सन् २०१२ मा पहिलो पटक सामसङले नोकियालाई व्यापारमा उछिनेको छ । नोकिया अहिले कारोबारमा दोस्रो कम्पनीमा बन्न पुगेको छ । सन् २०१२को पहिलो त्रैमासमा सामसङको बजार हिस्सा २५ प्रतिशत पुगेको छ जबकी नोकियाको बजार हिस्सा खुम्चिएर २२ दशमलब ५ प्रतिशतमा कायम भएको छ ।
सन् २००१ देखि २०१२ को बीचमा नोकियाको मोबाइल फोनमा बिक्री २४ प्रतिशतले घटेको छ । स्मार्टफोनमा नोकियाको दबदबालाई २०११ मा एप्पलले पहिलो धक्का दिएको थियो । नोकियाले आफ्नो घाटा कम गर्न गत महिना १० हजार कर्मचारी हटाउने निर्णय गरेको थियो । यो सँगै नोकियाबाट जागिर गुमाउनको संख्या ४० हजार पुगिसकेको छ ।

Tata
GBIME
Nepal Life