तरलता अभावले बैंकिङ आजकल: ‘कौन सुनेगा किसको सुनाए इसिलिए चुप रेहेते हेँ

बिजमाण्डू
२०७३ माघ ११ गते १०:०३ | Jan 24, 2017

लगानी योग्य पूँजी (तरलता) अभाव चर्किएसँगै ब्याज दर बढ्न थालेपछि जति ऋणीलाई तनाव भएको छ त्यति नै बैंकरलाई पनि समस्या पर्न थालेको छ। एकछिन अगाडि मुद्दति निक्षेपभन्दा बढि ब्याज तिरेर ल्याएको कल डिपोजिट भोलिपल्ट त्योभन्दा बढि ब्याजमा अर्कैले लगिसकेको हुन्छ।

Tata
GBIME
Nepal Life

बैंकिङ आजकल यसरी नै चलिरहेको छ। नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरेका मनोज ज्ञवाली अहिले ज्योती विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत छन्। उनले अहिले भोगिरहेको बैंकिङलाई १३ बुँदामा उतारेका छन्।

१.नयाँ कर्जाको कुनै फाईल नउठाउ। पुरानो बल्लतल्ल बनाउँदै गरेको फाईल पनि ढिला गर!! सकेसम्म ग्राहक अन्तै जाअोस्।
२. हप्ता हप्तामा कर्जाको ब्याजदर बढेको सूचना ग्राहकलाई देउ अनी दिनभरी ग्राहकको किचकिच धानेर बस।

३.  कुनबेला कसले कल डिपोजिट एकाउन्ट (संस्थाहरुले खोल्छन् जो माग्ने वित्तिकै फिर्ता गर्नुपर्छ) को पैसा स्वाट्टै बढि ब्याजमा तानिदिन्छ, कर्जा-निक्षेप अनुपात नै हान्ने (१०० रुपैयाँ निक्षेप लिँदा ८० रुपैयाँ मात्र लगानी गर्न पाइन्छ) गरी, फेरि रोईकराई गरेर मुद्दति निक्षेप (जुन निश्चित अवधि पूरा भएपछि मात्र फिर्ता हुन्छ) को भन्दा बढि ब्याजमा  त्यहि कल डिपोजिटको पैसा फिर्ता देउ।

४. अनुनयविनय गरेर ग्राहक ल्याएर अस्ति मात्र ६.९९% मा दिएको गाडी तथा घर कर्जाको ब्याज ११/१२ प्रतिशत पुर्याइदिँदा ग्राहक कराउँदै आउँछ, टाउको निहुर्याउँनै पर्यो।

५. १२/१३ प्रतिशत ब्याज कवोलेर ल्याएको मुद्धति निक्षेपको समायोजित लागत (एफेक्टिभ कस्ट) १४/१५ प्रतिशत हुन्छ अनि नयाँ कर्जाको ब्याजदर कति तोक्नु? र कसले तिर्छ त्यत्रो? कर्जाको रेट यति पुग्यो भनेर भन्ने कसरी?
६. दुई महिना पहिले मात्रै ६ देखि ८ प्रतिशतमा राखेको मुद्दति निक्षेपको रसिद बोकेर ग्राहक आउँछ, दुई प्रतिशत वढि तिरेर मुद्दति निक्षेप धितोमा ८ देखि १० प्रतिशत ब्याज तिरेर पैसा लैजान्छ। अनि ११/१२ प्रतिशतमा त्यहीँ अर्को खाता खोल्ने कि अन्तै लैजाउँ भनेर तर्साउँछ। ठाउँका ठाउँ निक्षेप पनि बढ्यो कर्जा पनि वढ्यो अर्थतन्त्रको कसलाई के मतलव?

७. बैंकले ब्याज बढाए भन्दै 'टाई लाउने गुण्ड' को उपमा पाइन्छ। तरलता अभावले त्यही टाइ पासो हुन लागिसक्यो। अर्को टाइ लाउने साथीवाहेक यो मर्म कसैले बुझ्ने होइन।

८. एक महिनाअघि मात्रै आफ्नो भए भरको सम्बन्धको कसम दिएर ८/९ प्रतिशतमै ऋण दिन्छु भनेर अर्को बैंकबाट तानेको ग्राहकको ऋण फाइल कर्पोरेट अफिसबाट बल्तल्स पास गरायो ब्याज १२ देखि १४ प्र।तिशत पुगिसकेको हुन्छ। अब बोलीचाली बन्द। पछि कुन मुखले फेरि ब्यापार माग्न जाने?

९. १५/२० दिन लगाएर चाकडी गरिगरी सहकारीको खाता खोलाएर मुद्धतिभन्दा बढि ब्याजमा कल डिपोजिट खोलेको दुई दिनपछि अझै बढि ब्याजमा अर्कैले ग्राहक उछिट्याइसक्यो। आफू जिल्लै। सपना पनि बजेट र टार्गेज नपुगेको आउन थाल्यो।

१०. ट्रेजरी विभागका कर्मचारीहरु कर्जा-निक्षेप अनुपात र अनिवार्य तरलता अनुपात व्यवस्थापन गर्न दिनभरी अर्कोसँग हारगुहार माग्दै हैरान।

११.  समग्र निक्षेपको लागत व्यवस्थापन गर्न बचत खाताको ब्याज नबढाएको हरेक दिन बचत खाताको रकम झरेको झरै छ। बचत खाताको रकम जोगाउने कसरी?

१२. बैंकहरु रणनीतिक रुपमा फेल भए, उपभोक्ता कर्जामा मात्र फोकस भएर खुब कर्जा बाँडे अब रोइकराइ गर्दैछन्। तरलता अभाव भयो भन्ने तर राष्ट्र बैकले दिएको रिपो नलिने। यो ब्याज बढाउने बहाना मात्र हो, हेर्यो, पढ्यो, सुन्यो बस्यो। 'कौन सुनेगा…किसको सुनाए…इसिलिए चुप रहेते हैं' गाना बज्दैछ।

१३. सरकारी खर्च बढ्ला, पुनर्निर्माण प्राधिकरणले डेढ सयदेखि दुई सय अर्ब खर्च गर्ला, हल्ला भएअनुसार कर्जा-निक्षेप अनुपात व्यवस्थापन होला अनि राहत हुन्थ्यो कि सोच्दै गर्दा चिसो मौसममा पनि चिटचिट पसिना आउँछ।

पशुपतिनाथले सबैको रक्षा गरुन!