चित्तबुझ्दो योजना तयार पार्नुस्, पाँच प्रतिशत ब्याजमै पाउनु हुनेछ पाँच बर्षलाई ऋण

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७३ माघ १९ गते १६:४२ | Feb 1, 2017
चित्तबुझ्दो योजना तयार पार्नुस्, पाँच प्रतिशत ब्याजमै पाउनु हुनेछ पाँच बर्षलाई ऋण

काठमाडौं। तरलता अभाव भएर बैंकहरुले ब्याज त बढाइरहेका छन् नै कतिपयले ऋण दिनै बन्द गरेका छन्। तर तपाईले भने पाँच प्रतिशत ब्याजमै सजिलोसँग पैसा पाउने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ।

Tata
GBIME
Nepal Life

सरकारले ल्याएको 'युवालाई कृषि कर्जा' स्किम अन्तर्गत राष्ट्र बैंकले कृषि कर्जाको सीमा बढाउँदै ब्याज घटाउन लागेको हो।

यसअघि ६ प्रतिशत ब्याजमा एक करोड रुपैयाँसम्म कृषि ऋण पाइन्थ्यो। राष्ट्र बैंकले अर्थमन्त्रालयसँग स्वीकृति लिएर यसको ब्याज घटाउँदै सीमा बढाइदिएको हो।

'एक दुई दिनमै परिपत्र गर्छौं' डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, 'अब एक करोड भन्ने सीमा हुँदैन। ब्याज पनि ६ प्रतिशतबाट ५ प्रतिशतमा झारेका छौं।'

सरकारले यो स्किममा पाँच प्रतिशत ब्याज अनुदान दिने छ। यसको कुल ब्याजदर १० प्रतिशत हो। पाँच प्रतिशतमा बैंकले सर्वसाधारणलाई ऋण दिने छन्। बाँकी पाँच प्रतिशत ब्याज सरकारले नै तिरिदिन्छ।

‘युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदान सम्बन्धी कार्यविधि, २०७१’ अनुसार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित र प्रोत्साहन गर्न कर्जा दिने व्यवस्था छ। यो व्यवस्था अनुसार मंसिरसम्म तीन हजार ९९६ किसानले पैसा लगेका छन्। यसका लागि चार अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कार्यक्रममा अनुदानका रुपमा सरकारको ९ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ।

कर्जाको सीमा र अनुदान रकम बढेका कारण सरकारी खर्च थप बढ्न सक्छ। ठूलो कृषि फार्म सञ्चालन गर्नेहरुले यो अनुदानबाट पर्याप्त लाभ लिन सकेका  थिएनन्। अब ऋणलाई खाम्न सक्ने धितो राखेर जति पनि पैसा प्रयोग गर्न पाइने भएकाले ऋण लिनेको संख्या बढ्न सक्छ।
 
झन्झटिलो प्रकृयाका कारण आकर्षक योजना भएपनि ऋण लगानी अपेक्षाअनुसार भने हुन सकेको छैन। व्याज अनुदान सहितको कर्जाको लिनका लागि महानगरपालिका र उप–महानगरपालिका कार्यक्षेत्र बाहिरका २१ देखि ४५ वर्ष उमेर समुहका कृषि व्यवसायीहरुले कुनै पनि वाणिज्य बैंकको शाखामा निवेदन दिनुपर्ने हुन्छ।
 
वाणिज्य बैंकका शाखाले प्राप्त निवेदन उपर कर्जा विश्लेषण तथा सम्भाव्यता अध्ययन गरी निवेदन तथा अन्य आवश्यक विवरणका साथै कर्जाको सदुपयोग हुने र सावाँ व्याज रकमको किस्ता नियमित रुपमा बुझाउन सक्ने भन्ने लगायतका सम्बन्धमा यकीन गरी बैंकलाई मान्य हुने सुरक्षण तथा शर्तका आधारमा कर्जा प्रवाह गर्ने ब्यवस्था छ।
 
कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको मात्रै छ। ऋणीले लिएको कर्जाको साँवा ब्याज रकम समयमै भुक्तानी गर्नुपर्ने, कर्जा सुरक्षित गर्नका लागि वाणिज्य बैंकले मागेका विवरण उपलब्ध गराउने र तोकेका शर्तहरुको पालना गरेको हुनुपर्छ। जुन उद्देश्यको लागि कर्जा लिइएको हो त्यही उद्देश्यको लागि मात्र कर्जा लगानी गर्नुपर्ने हुन्छ ।
 
कर्जा सदुपयोग भएको नपाईएमा व्याज अनुदान नपाइने साथै कर्जाको सावाँ व्याज सहित संम्पूर्ण रकम तुरुन्त भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।