फागुन २० देखि राजधानीमा तीन दिने पाँचौँ फर्मा एक्स्पो, ‘बिदेशी उद्योग र प्रविधिबारे सिक्ने मौका’

बिजमाण्डू
२०७३ फागुन १ गते १२:२८ | Feb 12, 2017
काठमाडौँ । नेपाल औषधी उत्पादक संघ (एपोन)ले फागुन २० देखि तीन दिने पाचौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको छ। उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई औषधी उद्योगको विकास तथा अनुसन्धानबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ। 
 
संघका अध्यक्ष शंकर घिमिरेका अनुसार  'गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ' नारा साथ सुरु हुने एक्स्पोमा नेपाली र भारतीय औषधी तथा औषधीसँग सम्बन्धित कम्पनीको स्टल रहनेछन्। १०० स्टल मध्ये ६० प्रतिशत भारतीय कम्पनीको रहने जनाइएको छ।
 
संघले गत वर्ष भूकम्प र नाकाबन्दीका कारण एक्स्पो आयोजना गर्न सकेको थिएन। यो वर्ष एक्स्पोको दोस्रो दिन चिकित्सक दिवस समेत परेको हुँदा चिकित्सा विशेष कार्यक्रम आयोजना गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए।
 
संघका महासचिव तथा एक्स्पोका संयोजक दिपक प्रधानले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापन बुझ्ने अवसर प्राप्त हुने बताए। 
 
‘गुणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर अन्तक्र्रिया गराउने तथा वैज्ञानिक उपलब्धिबारे जानकारी गराउने प्रदर्शनीको उद्देश्य रहेको छ, उनले भने- विगतका प्रदर्शनी भन्दा यो फरक हुनेछ।’ 
 
प्रदर्शनीमा रक्तदान तथा निःशुल्क दन्त शिविर पनि हुने संघका कोषाध्यक्ष तथा एक्स्पो प्रवक्ता प्रज्वलजंग पाण्डेले जानकारी दिए। ५० हजार बढीले एक्स्पो अवलोकन गर्ने संघको अनुमान छ।
 

Tata
GBIME
Nepal Life