चिनी उद्योगीको कार्टेलिङ रोक्न सरकार अघि बढ्यो, साल्ट ट्रेडिङले ५० हजार टन आयात गर्ने

बिजमाण्डू
२०७३ फागुन ७ गते १०:५२ | Feb 18, 2017
काठमाडौं। चिनी उद्योगीको कार्टेलिङ रोक्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलार्इ चिनी आयात गर्न दिने अन्तिम तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

कर्पोरेशनसँग चिनीको मौंज्दात कम भएको मौका छोप्दै चिनी उत्पादक संघले दुर्इ साताको अवधिमा किलोमै दश रुपैयाँ मूल्य बढाएपछि आयात गर्न दिने अन्तिम तयारी भएको हो।कर्पोरेशनले एक प्रतिशत भन्सार तिरेर भारतबाट चिनी आयात गर्नेछ।नेपाल र भारतमा चिनीको उत्पादन कम भएको निष्कर्ष निकाल्दै मूल्य चिनी मिलले मूल्य बढाएका हुन्।
 

कर्पोरेसनले तीन हजार टन मात्र चिनी सञ्चिती रहेको भन्दै गत हप्तानै ५० हजार टन चिनी आयातको लागि आपूर्ति मन्त्रालयलाई पत्र मार्फत आग्रह गरेको थियो। एक प्रतिशत कर निर्धारण गरेर आयातका लागि पठाएको पत्र आपूर्ति मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको छ। कर्पोरेसनका प्रवक्ता कुमार राज भण्डारीले कृषि मन्त्रालयले चिनी उत्पादनको तथ्यांक दिएपछि अब आउने साता कर छुटको निर्णय हुने जानकारी दिए।
 
करछुटको निर्णय भए पछि कर्पोरेसनले १५ दिनको ग्लोबल टेण्डर खोलेर फागुन भित्र चिनी आयात गर्ने लक्ष्य राखेको भण्डारीले बताए।'व्यवसायीहरुले एक लाख ३० हजार टन सम्म मात्रै चिनी उत्पादन गर्न सक्ने बताएका छन्' भण्डारीले भने, एक लाख टन चिनी सरदर अपूग भए पनि तराईका स्थानीयहरु धेरै जसो भारतबाटै चिनी आयात गर्ने भएकाले ५० हजार टन चिनी आयात गर्दा बजारलाई नियन्त्रण गर्न प्रयाप्त हुन्छ।
 
कर्पोरेसनले गत वर्ष ३० हजार टन चिनी आयात गरी बजार नियन्त्रण गरेको थियो। यो वर्ष भने ५० हजार टन आयात नगरे बजार नियन्त्रण गर्न नसकिने कर्पोरेसनको ठहर छ।'बजारमा अहिले पनि कर्पोरेसनको चिनी ८० रुपैयाँ थोक मूल्यमै बिक्री भइरहेको छ' भण्डारीले भने, तर चिनीको बजार पूर्णतया निजी क्षेत्रको हातमा गएकाले उपभोक्ताले अहिले ९० रुपैयाँ प्रतिकिलोमा चिनी किन्नुपरेको छ।