पुर्वाधार सम्मेलन सुरु, आफ्नो श्रमनीति ‘मार्केट फ्रेन्ड्ली’ रहेको प्रधानमन्त्रीको आश्वासन

बिजमाण्डू
२०७३ फागुन ८ गते १९:३४ | Feb 19, 2017
पुर्वाधार सम्मेलन सुरु, आफ्नो श्रमनीति ‘मार्केट फ्रेन्ड्ली’ रहेको प्रधानमन्त्रीको आश्वासन
काठमाडौँ । राजधानीमा सुरु पुर्वाधार सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार उद्घाटन गरेका छन्।
 
नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री दाहालले पुर्वाधारमा स्वदेशी र विदेशी लगानी भित्र्याउन सरकारले उच्चतम वातावरण बनाइ रहेको बताए। 

Tata
GBIME
Nepal Life


 

‘बजार केन्द्रित (मार्केट फ्रेन्ड्ली) श्रम नीति र सस्तो श्रमका कारण नेपाल विदेशी लगानीकर्ताका लागि उपयुक्त स्थान हो, उनले भने- लगानीकर्तालाई न्युनतम आवश्यकता परिपूर्ती र सुरक्षाको प्रत्याभूतीका लागि सरकार प्रतिबद्ध छ।’ 
 
नेपालले सन् २०२२ भित्र मध्यम आय भएका देशको सूचीमा प्रवेश गर्ने लक्ष लिएको हुँदा त्यही अनुरुप लगानी प्रवर्धन र पुर्वाधार विकासमा जोड दिने उनले बताए। ‘हाम्रा लागि खड्गो भनेकै लगानीको हो, उनले भने- त्यसैले निजी क्षेत्रको लगानीलाई हामीले उच्च महत्व दिएका छौँ।’ स्वदेशी लगानीले मात्र लक्ष हासिल गर्न कठीन रहेको हुँदा प्रत्यक्ष विदेशी लगानीमा आफुहरुले जोड दिएको उनले बताए।
 
नेपाल चीन र भारत जस्ता ठूला अर्थतन्त्रको बीचमा रहेको हुँदा त्रिदेशीय साझेदारीमा आफुले जोड दिएको उनको भनाइ थियो। ‘मैले चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई एकै ठाउँमा यसबारे प्रस्ताव राख्दा उहाँहरुले सकारात्मक रुपमा लिनु भएको छ, उनले भने- यो अवधारण अघि बढाउन सके नेपालको पुर्वाधार विकासलाई झनै बल पुग्नेछ।’
 
कार्यक्रममा प्रमुख वक्ता भारतीय रेल मन्त्री सुरेश प्रभूले नेपालसँग पूर्वाधार लगानीमा सहकार्य गर्न भारत तयार रहेको बताए। नेपालले चाहे बमोजिम सडक, रेल र जलविद्युतमा भारतले लगानीमा सघाउने उनले जानकारी दिए। काठमाडौँ देखि नयाँ दिल्ली र कलकत्ता जोड्ने दुईवटा रेल्वे लाइन निर्माणका लागि आफुहरु तयार रहेको उनले बताए। 


 

नेपाल र भारत जुम्लाहा दाजु भाइ जस्तो रहेका कारण एकसाथ हातेमालो गरेर अघि बढ्नु पर्ने उनको भनाइ थियो। ‘नेपालले भुटानबाट पनि उदाहरण लिन सक्छ, उनले भने- भुटानको जलविद्युतमा सुरुमा भारतले लगानी गर्यो र पछि बिजुली खरिद गर्यो।’ यसकै परिणाम स्वरुप आज भुटान प्रति व्यक्ति आय यो क्षेत्रकै राम्रो भएको उनको भनाइ थियो। 

भौतीक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जल, जंगल र जनशक्ति (३ ज) नेपालको पूँजीको रुपमा रहेको यही क्षेत्रबाट सम्बृद्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरे। पूर्वाधार विकासको मेरुदण्डको रुपमा रहने र त्यसका लागि चाहिने सार्वजनिक निजी साझेदारी (मोडल)मा लगानी गर्ने आफुहरुको चाहना रहेको उनले बताए। 

 
नयाँ संविधान कार्यान्वयमा गएपछि कानुनी शासनको प्रत्याभुती प्रभावकारी भएको, विद्युत आपूर्ति बढेको परिप्रेक्षमा लगानी ल्याउनेलाई सरकारले अधिकतम सलर प्रकृयाबाट काम गर्ने वातावरण मिलाउने उनले बताए। 


 

पर्यटनमन्त्री जीवनबहादुर शाहीले पर्यटन पुर्वाधारमा लगानी भित्र्याउन सरकारले वातावरण बनाएको जानकारी दिए। ‘काठमाडौं, पोखरा, लुम्बिनी लगायत स्थानमा पर्यटकस्तरको बसपार्क निर्माण, ट्रेकिङ ट्रेल निर्माण लगायत पर्यटन पुर्वाधार विकास गर्ने योजना सरकारले बनाएको छ, उनले भने- र, यसका लागि सार्वजनिक निजी साझेदारी सर्वोत्तम विकल्प हो भन्ने हाम्रो विश्वास रहेको छ।’
 
एसियाली विकास बैंकका उपाध्यक्ष वेनकाइ झाङले नेपाललाई मध्यम आय भएका देशको सूचीमा उक्लिन बार्षिक ७-८ प्रतिशतको आर्थिक बृद्धिदर आवश्यक रहेको बताए। त्यसका लागि सर्त पुर्वाधार विकास नै हुने उनको भनाइ थियो।


 

परिसंघ अध्यक्ष हरिभक्त शर्माले नेपाल जस्तो सुन्दर हावापानी भएको मुलुकमा विदेशी लगानीकर्तालाई स्वागत गर्न आफुहरु सदैव तयार रहेको बताए। पुर्वाधारमा लगानी भए पछि मात्र पर्यटन र औद्योगिक क्षेत्रको विकास प्रचुर विकास सम्भव रहेको हुँदा सरकार र निजी क्षेत्रले आ-आफ्ना प्रतिबद्धता जतिसक्दो चाँडो कार्यान्वयनमा लैजानु पर्ने उनको भनाइ थियो।
 
सम्मेलन सोमबारसम्म चल्नेछ। आइतबार साँझ औपचारिक उद्घाटन अघि लगानीको अवस्था र वातावरण बारे बिभिन्न चरणमा छलफल भएको थियो। सम्मेलनमा बिभिन्न देशका लगानीकर्ता र सरकारी अधिकारीहरुले भाग लिएका छन्।