गभर्नरले आक्रोशित हुँदै भने- पूँजी वृद्धि समस्या होइन, हौवा फैलाउनुभन्दा डेटा हेरेर बोलौं

बिजमाण्डू
२०७३ फागुन १० गते १५:०२ | Feb 21, 2017
गभर्नरले आक्रोशित हुँदै भने- पूँजी वृद्धि समस्या होइन, हौवा फैलाउनुभन्दा डेटा हेरेर बोलौं
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तिय संस्थाको पूँजी वृद्धि योजनाले बैंकिङ प्रणालीमा समस्या नआएको दाबी गरेका छन्। मौद्रिक नीतिको मध्यावधि समिक्षा कार्यक्रममा बौल्दै उनले यो दाबी गरेका हुन्।

Tata
GBIME
Nepal Life


'मनमा आएको कुरा गैरजिम्मेवार तरीकाले भन्ने आफ्नो ठाउँमा छ। तर तपार्इलार्इ यो पनि बताइदिउँ कि एक वर्षभित्र नौ अर्बको राइट शेयर जारी भयो' उनले भने, पाँच अर्बको फर्दर पब्लिक अफरिङ(एफपिओ) जारी भयो। त्यसमा पनि सबैभन्दा धेरै जेठमा तीन अर्ब ३४ करोडको भएको छ। बेकारको हौवा फैलाउनुभन्दा नेपाल धितोपत्रमा बोर्डमा गएर डेटा हेरेर बोल्दा राम्रो हुन्छ।'

उनले जेठमा अत्याधिक तरलता भएर बैंक र व्यापारीहरुको डेलिगेशन आएको बताउँदै तरलता समाधानकालागि पुर्नउद्धार कोष खोल्नुपर्ने अवस्था आएको बताए। उनले पूँजी वृद्धिले कुनै असर नगरेको बताउँदै व्यवसायिक योजनासहित लगानी नगर्दा हौसिदा समस्या भएको बताए।
 

'व्यवसायिक योजना नहेरी हौसिएर लगानी गर्दा समस्या आएको हो' उनले भने, हामीले अनुत्पादक क्षेत्रमा गइरहेको लगानीलार्इ लगाम लगाएका हौं। पूर्व गभर्नर डा. युवराज खतिवडाले राष्ट्र बैंकको पूँजी वृद्धिका कारण अर्थतन्त्रमा मन्दी आउने बताएका थिए। उनले पूँजी वृद्धिसँगै शेयरको भाउ आकासिएको बताउँदै हकप्रद शेयर लगायतका कारण अस्वाभाविक रुपमा बढेको केही महिनाअघि बिजमाण्डूसँगको कुराकानीमा भनेका थिए।
 
'राष्ट्र बैंकको पूँजी बृद्धिकै कारणले अर्थतन्त्रमा मन्दी छाउने देख्दै छु म। शेयर मूल्य किन माथि गयो? एउटै कारण छ हकप्रद शेयर आउँछ भनेर। अर्थतन्त्र नाकाबन्दीबाट भर्खर बाहिर आएको छ। आर्थिक बृद्धि छैन। शेयर बजार उचालिन्छ भने त केही गढबढ भयो भनेर बुझ्नु पर्यो नि!, उनले भनेका थिए, समस्याको जरा राष्ट्र बैंकले पूँजी बृद्धिको निर्णयबाट रोपिदियो। नत्र शेयर बजारमा उछाल आउनुपर्ने कुनै कारण त छैन।'