बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्ने बेघर हुँदै, पत्रिका देखि फेसबुकसम्म बेच्ने लर्को

बिजमाण्डू
२०७३ फागुन ११ गते १५:२८ | Feb 22, 2017
बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्ने बेघर हुँदै, पत्रिका देखि फेसबुकसम्म बेच्ने लर्को


काठमाडौं । पोखराकी अन्जु लामगाडेले दुई महिना अघि बैंकसँग ऋणको कुरा गरेर ८० लाख रुपैयाँ पर्ने घर किन्न २४ लाख रुपैयाँ वैना दिइन्।
 
पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छेउको घर किन्न लाग्नुको कारण थियो- केहि समय पछि बेचेर राम्रो नाफा कमाउने। तर, उनले सोचेजस्तो भइ दिएन। बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च’ चर्किएपछि कबुले बमोजिम कर्जा दिन नसक्ने भन्दै बैंक टक्टकिए।

Tata
GBIME
Nepal Life


 

'बैंकले ऋण दिन्छु भनेकैले ४५ दिनको भाका राखेर घरको वैना दिएँ, लामगाडेले बिजमाण्डू सँग भनिन्- पछि बैंकले ऋण दिन नसक्ने जवाफ दिए पछि घर नकिन्ने मनसाय बनाएकी थिएँ।’ उनले वैना दिएको २४ लाख रुपैयाँ फिर्ता गरिदिन घरधनी सँग आग्रह गरिन्। तर, घरधनिले ‘बरु केही समय पर्खिने तर पैसा फिर्ता दिन नसक्ने’ जवाफ दिए। ‘घरधनीले जहिले हुन्छ बेचेर बाँकी पैसा देउ तर वैना फिर्ता गर्न सक्दिन भनेपछि घर बेच्ने निर्णयमा पुगेकी हुँ’ उनले भनिन्।
 
घर बिक्रीका लागि लामगाडेले मंगलबार फेसबुकमा सूचना नै पोष्ट गरिन्। अहिले तत्काल ५० लाख रुपैयाँ दिनेलाई घर पास गरिदने र बाँकी पैसा बिस्तारै दिँदा हुने उनको भनाइ छ।
 
‘अव मलाई दुई/चार लाख घाटा त हुने नै भयो’ उनले सुनाइन्- ७०/७५ लाख आए पनि बेचिदिन्छु।’ बैना दिएको २४ लाख रुपैयाँ पनि ऋण सापटी खोजेको हुँदा जसरी पनि घर बेच्ने बाध्यता आएको उनले बताइन्।
 
पर्वतका रामचन्द्र पौडेलले पनि केहि समय अघि थानकोटमा प्लटिङ गरेका तीन वटा घडेरी किने। उनको उद्येश्य पनि दुई तीन महिनामा राम्रो नाफा खाएर बेच्ने नै थियो। तर, बैंकले ऋण लगानी नगरे पछि घरजग्गाको कारोबार सुस्त भयो। अहिले उनी घरजग्गा हैन शेयर बजारमा लगानी गर्ने भन्दै जग्गा बिक्रिको प्रयासमा छन्।
 
बानियाटार काठमाडौंकी लक्ष्मी उपाध्यायले ८ कोठाको दुई तले घर बिक्रीका लागि सूचना नै प्रकाशित गरेकी छिन्। चार आनामा बनेको घर एक करोड १५ लाख रुपैयाँमा बेच्न तयार भएको उनले उल्लेख गरेकी छिन्। बैंकबाट लिएको ४० लाख रुपैयाँ ऋण चुक्ता गर्न समस्या भएपछि घर बेच्ने निर्णयमा पुगेको उनले बताईन्। उनी किन्न आउने ग्राहकलाई ‘मिलाएर’ घर दिन तयार छिन्।
 
सिन्धुपाल्चोकका लक्ष्मण श्रेष्ठले पनि डेढ महिना अघि काठमाडौं थलीमा १५ कोठाको घर किने। तर, ‘फाइनान्सिङ’कै समस्या आएपछि मासिक ४०/५० हजार रुपैयाँ भाडा आउँदा आउँदै पनि घर बेच्ने निर्णयमा पुगेको उनको भनाइ छ। जति सक्दो चाँडो बैंकको लफडा सल्ट्याउन श्रेष्ठ दौडधुपमा लागेका छन्। एक करोड २० लाख मूल्य तोकेको घर मिलाएर दिन उनी पनि तयार छन्। 'नाफाको त कुरै भएन सावाँ आउने बित्तीकै बेचिदिने हो' उनले भने।
 
ईमाडोलका विवेश श्रेष्ठ भने जग्गा बेच्न आतुर छन्। उनीसँगै सिमा जोडिएको जग्गा दुई महिना अघि आनाको ४५ लाख रुपैयाँ दरले बिक्री भयो। अहिले उनले आनाको २९ लाखमा बेच्ने भनेर सूचना निकालेका छन्। 
 
'आनाको २७ लाख रुपैयाँ आए पनि बेच्ने हो, ल आउनुस, ग्राहकको रुपमा बिजमाण्डूले कुरा गर्दा उनले भने- मेरो धेरै ठाउँमा जग्गा छ दाई विदेश जान लागेकोले बेच्नु पर्ने बाध्यता छ, आउनुस अझै मिलाउनु पर्छ भने पनि मिलाउँला'।
 
बैंक तथा वित्तिय संस्थाले लगानी रोकेसँगै घर/घडेरी मूल्य घटाएर बेच्ने सूचना दिनहुँ प्रकाशित हुन थालेका छन्। जसले आफ्नै प्रयोजनका लागि घर जग्गा किनेका थिए उनीहरुलाई समस्या नभए पनि कमाउने उध्येश्यले लगानी गर्नेहरु भने समस्या पर्न थालेको व्यवसायीले बताएका छन्। 


 

'जसले आफ्नै गोजीको रुपैयाँ हालेर घरै बनाउने उद्येश्यले किनेका थिए उनिहरुलाई समस्या छैन, अनलाईन विज्ञापन गरिदिने घरजग्गा नेपालका अर्जुन छत्कुली भन्छन्- तर जसले बैंकबाट ओभरड्राफ्ट ऋण निकालेर नाफाका लागि जग्गा कारोबार गरिरहेका थिए उनिहरुलाई समस्या भैसकेको छ।' अचेल विगत भन्दा दोब्बर संख्यामा घरजग्गा बेच्नेहरुले सम्पर्क गरि रहेको उनी सुनाउँछन्। पत्रिका देखि डीजिटल मिडिया घरजग्गा बिक्रिका विज्ञापनले भरिन थालेका उनको अनुभव छ। 
 
बैंकमा क्रेडिट क्रन्चसँगै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाइले घरजग्गा कारोवार ८ वर्ष अघिकै दृश्य देखिन थालेका छन्। त्यसबेला पनि बित्तिय क्षेत्र तरलता संकटमा परेपछि धेरै घरजग्गा ब्यवसायी डुबेका थिए। सर्वसाधारणको पैसा डुबाएपछि सुधिर बस्नेत लगायत ‘ठूला’ रियलस्टेट ब्यवसायी अझै पनि जेलमा छन्।